भूकम्पको क्षति आँकलन सर्वेक्षण सुरु



खोटाङ । 

गत साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ६ म्याग्नेच्युडको भूकम्प तथा त्यसको पराकम्पनहरुबाट भएको क्षतिको आँकलन सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत रूपमा क्षति आँकलन सर्वेक्षण सुरु गरेको हो ।

भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुट्याउने, बढी क्षति भएका र कम क्षति भएका घरको संरचना बारे अध्ययन गर्ने लगायतको सर्वेक्षण गरिने राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्चका इन्जिनियर प्रकाश बस्नेतले बताउनुभयो । क्षति पुगेका घरको ‘रि–कन्ट्रक्सन र रिकभरी’ लगायतका बारेमा अध्ययन गर्दै सोमबार क्षति आँकलन सर्वेक्षण सुरु गरिएको इन्जिनियर प्रकाश बस्नेतले जनाउनुभयो ।

केन्द्रबाट आएका प्राधिकरणको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्षति आँकलन सर्वेक्षण सुरु गरेको हो । भूकम्पको इपिसेन्टर साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पनि भूकम्पको क्षति आँकलन सर्वेक्षण गर्नेछन् । टोलीले तयार पारेको प्रतिवेदनका आधारमा सरकारले भूकम्पीय पुःननिर्माणको सन्दर्भमा निर्णय गर्ने इन्जिनियर बस्नेतको भनाई छ । करिब १० दिनमा भूकम्पको क्षति आँकलन सर्वेक्षणको काम सकिने प्राधिकरणले जनाएको छ ।

टोलीले भूकम्पको क्षतिका विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि तथा दलका नेतासँग छलफल गरेको छ । छलफल कार्यक्रममा नगरका १५ वडामध्ये उपलब्ध वडाध्यक्षले भूकम्पका कारण भएका क्षतिको विवरण प्रस्तुत गरेका छन् । भूकम्पबाट सयौँ घरपरिवार विस्थापित हुनुपर्ने अवस्थामा भएको साथै दर्जनौँ विद्यालय लगायतका संरचनामा क्षति भए पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । विवरण संकलन कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्