स्थानीयको आन्दोलनपछि नख्खु–भैंसेपाटी सडक निर्माण आजबाट



ललितपुर  ।

ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्का, वडा नं. २५ का वडा अध्यक्ष दौलतकुमार खत्री र स्थानीयवासीसहितको बसेको बैठकले आजबाट काम गर्ने लिखित सहमति भएको हो ।

स्थानीयले शनिबारदेखि दैनिक तीन घण्टा बाटो बन्द गर्ने पूर्वघोषित कार्यक्रमअनुसार आइतबार बाटो बन्द गरी विरोध जनाएलगत्तै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सरोकारवाला निकायलाई बैठकमा बोलाउनुभएको थियो ।प्रजिअ उपाध्यायले नेपाल प्रहरी, सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझा, वडाअध्यक्षद्वय र स्थानीयवासीलगायतको बैठकमा आज सोमबारबाट काम शुरू गर्ने गरी लिखित सहमति भएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

सो बाटोको विषयमा अघिल्लो आर्थिक वर्षमा पनि ५ पटक वार्ता भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘निर्माण कम्पनीबीचको आन्तरिक समस्याका कारण त्यसबेला बाटो निर्माण हुन सकेको थिएन । अब दशैंअघि कालोपत्रे हुनेगरी सबै काम सम्पन्न गर्ने सहमति भएको छ ।’ सबै सरोकारवालाको बीचमा भएको लिखित सहमति कार्यान्वयन नभए कानुनअनुसार कारबाही हुने चेतावनी दिँदै प्रजिअ उपाध्यापले भन्नुभयो– ‘आजबाट शुरू गरी दशैंअघि काम सम्पन्न गर्नेगरी भएको सहमति कार्यान्वयन गर्नेपर्छ । कम्पनीले खाल्डाखुल्डी पुर्ने र पेटी निर्माण शुरू गर्ने जनाएको छ ।’

 

स्थानीय अमृत खड्काका अनुसार सर्वपक्षीय सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा जानुको विकल्प नभएको जिकिर गर्दै भन्नुभयो– ‘हामीले बाटो बन्दै गर्ने भनेका थियौं । प्रजिअले बैठकमा बोलाएर समस्या समाधान गर्ने जनाएपछि कार्यक्रम स्थगित गरेका हौं ।’
वडानम्बर २५ का अध्यक्ष खत्रीले सर्वपक्षीय सहमति भएपछि काम अघि बढ्ने निश्चित भएको र दशैंअघि बाटो पिच भइसक्नेमा आफूहरू ढुक्क भएको बताउनुभयो ।

नख्खुदेखि आवासगेटसम्म बाटो बनाउने जिम्मा लिएको सीएम कन्ट्रक्सनका निर्देशक शान्त श्रेष्ठले दशैं र तिहार बीचमा बाटो कालोपत्रे भइसक्ने जानकारी दिँदै भन्नुभयो– ‘सोमबारबाट काम शुरू गर्नेछांै, वर्षा रोकिएको १५ दिनपछि कालोपत्रे गर्न शुरू गर्नेछांंै । अब ढिलो हँुदैन, लिखित सहमतिको आधारमै काम सम्पन्न गर्नेछाैं ।’

यसअघि विरुवा कम्पनीले सो बाटो निर्माण ठेक्का पाएको थियो । समयमा काम सम्पन्न गर्न नसकेपछि सरकारले सो कम्पनीलाई कालोसूचीमा राखेको थियो ।मन्त्रीका लागि भैंसेपाटीमा मन्त्री क्वाटर समयमै सम्पन्न भयो तर त्यही क्षेत्रको जनताले दैनिक आवतजावत गर्ने नख्खु–भैंसेपाटी सडकखण्ड ६ वर्षदेखि अलपत्र रहेको स्थानीयको भनाइ छ । स्थानीय शालिकराम कुँवरका अनुसार बाटो निर्माण नहुँदा वर्षातमा हिलो र गर्मी हुँदा धुलोले सताउने गरेको छ ।

यसअघि ठेकेदारले स्थानीय जनप्रतिनिधिहरूसँगको कुराकानीमा असार मसान्तसम्म काम सम्पन्न गरिदिने बताएका थिए । तर, साउन महिना नै सकिन लाग्दा पनि बाटोको काम अघि नबढेपछि आन्दोलनस्वरूप बाटो बन्द गर्न बाध्य भएको स्थानीय विनोद कुँवरको भनाइ छ । भैंसेपाटीमा बनाइएको मन्त्री क्वाटर सडक निर्माणभन्दा पछि शुरू गरिएको थियो । मन्त्रीक्वाटरको काम अन्तिम तीन चरणमा पुगिसकेको छ । तर, विभिन्न मुलुकका राजदूतसहित विशिष्ट व्यक्तिहरू बसोवास गर्ने सो क्षेत्रको सडक कालोपत्रे गर्ने भाका असोजमा सरेको छ ।

प्रतिक्रिया दिनुहोस्