सङ्गठित हुन थाले स्थानीय तहका स्वतन्त्र उम्मेदवार



काठमाडौं । सरकारले सङ्घीय र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका स्वतन्त्र उम्मेद्वार सङ्गठित हुन थालेका छन् । सङ्गठितरूपमा आगामी संसदीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ ।

गत वैशाख महिनामा गोकर्णेश्वर नगरपालिकाको जनप्रतिनिधिमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूले स्वतन्त्र अभियान नै घोषणा गरेर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका हुन् । अभियान घोषणा गर्न आयोजित कार्यक्रममा केहीले भने उम्मेदवारी पनि घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारले आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ३ मा उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं ३ मा पर्ने गोकर्णेश्वर नगरपालिकामा विभिन्न दल परित्याग गरी स्वतन्त्र उम्मेवारी घोषणा गरिएको हो । नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिको सभापति भई नेतृत्व गरिरहक्नुभएका श्रीकृष्ण ज्योतिले आगामी निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभयो । गत स्थानीय निर्वाचनअघिदेखि पार्टी छाडेको घोषणा गर्नुभएका ज्योति यो निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने तयारीमा लागेको सुनाउनुहुन्छ ।

यसैगरी स्वतन्त्र भएरै निरञ्जन पुडासैनी र कुमार श्रेष्ठलगायतले पनि यसै निर्वाचनमा भाग लिने बताउनुभयो । कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका विनय सिम्खडा, वडा नं २ का अध्यक्ष प्रेम श्रेष्ठ, वडा नं ८ को अध्यक्ष पदका उम्मेदवार आकाश क्षेत्रीलगायतको सहभागिता थियो । सिम्खडा नेकपा ९एमाले० छोडी स्वतन्त्र अभियानमा सहभागी हुनुभएको हो । उहाँहरूले विधिअनुसार शासन चलाउनका लागि पनि स्वतन्त्र अभियानको आवश्यकता रहेकामा जोड दिनुभयो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको वडा नं ४ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जयराम महत वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसबाट हौसिएका स्वतन्त्र अभियानकर्मीले स्वतन्त्रबाट एकमात्र उम्मेदवार चयन गरी निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्