मालपोत कार्यालय काभ्रेका दुई जना कर्मचारी पक्राउ



काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जग्गा ठगी गर्ने गिरोहको बयानका आधारमा मालपोत कार्यालय काभ्रेका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । ठगी अपराधमा मुद्दा दर्ता गरेको प्रहरीले कर्मचारीको समेत संलग्नता पुष्टी भए पछि नियन्त्रणमा लिएको बताएको छ ।

भु–माफियालाई सहयोग पु¥याउने कार्यमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरुको संलग्नता देखिएको छ’– प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘प्रारम्भिक अनुसन्धानका क्रममा कर्मचारीद्धय शशित भण्डारी र रामविनय यादवलाई आईतबार नियन्त्रणमा लिएका छौं ।’ नियन्त्रणमा लिएका कर्मचारीद्धयको बयान लिई सकिएको छ ।

शशित भण्डारीले अफलाईन फोटो खिचेका थिए भने रामविनय यादवले जग्गा पासका लागि दुबै पक्षसँग कुरा गरेर पठाएका थिए । यस अघि हँुदै नभएको जग्गा विक्री गर्ने धादिङ्गका रवि रेग्मिलाई पक्राउ गरेको थियो । लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा फरार छन् ।

धादिङ्गका रेग्मिको २०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत्र १० गते जिल्ला प्रहरी परिसर काठमाडौमा ठगी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भए लगत्तै उनि फरार हुँदै आएका थिए । कास्की र काठमाडौमा ठगेर भागेका रेग्मिले काभ्रेमा ठगी धन्दा शुरु गरेका थिए ।

रेग्मिले काभ्रे बसेर सिन्धुपाल्चोक, रामेछाप र दोलखा सम्म जग्गा देखाएर नक्कली कागजातका आधारमा सर्वसाधारणलाई ठग्दै खाएको खुलेको छ । धादिङ्ग घर भई बनेपामा १० वर्ष देखि बसोबास गर्दै आएका रवि रेग्मिले काभ्रेपलाञ्चोक जिल्ला साविक कलाँती भुम्लु ७ घर भएकी निर्मला उप्रेतिलाई बनेपा नगरपालिका साविक वडा नम्वर १ को ८ आना जग्गा ४५ लाखमा विक्री गरेका थिए । रेग्मिले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्वर १५०४ मा ८ आना जग्गा निर्मलालाई देखाएका थिए ।

उक्त जग्गा असार ३० गते मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा निर्मलाले पास गरेकी थिईन् । रेग्मिले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए । २०७९ साउन २ गते पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत मालपोत कार्यालय काभ्रेमा जग्गाको कित्ता नम्वर भिडाउँदा जग्गा नै नभएको फेला परेको थियो ।

भु–माफिया रवि लगायत लेखापढी गर्ने सीताकुमारी थापा र उनका श्रीमान राजन थापा, मालपोत कार्यालय काभ्रेका कम्प्युटर अपरेटर शशित भण्डारी र रजिस्ट्रेसन ‘क’ मा कार्यरत कर्मचारी रामविनय यादव समेतको मिलेमत्तो रहेको प्रारम्भिक अनुसन्धान गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

रेग्मिको घर खानतलासी गर्दा नक्कली लालपुर्जाका साथै ८ लाख ५० हजार नगद बरामद गरेको प्रहरीले बताएको छ । निर्मला लगायत उनका आफन्त गणेश मैनाली, रुकमणी हुमागाई, रिता तिमल्सिना लगायतले जग्गा खरिद गर्दा आफु ठगिएको पछि मात्रै थाहा पाएको बताएका छन् ।

प्रहरी कार्यालयमा जाहेरी दिदै पीडितहरुले गिरोहका नाईके रवि रेग्मीले बनेपा ५ घोकेचौरको खोला करिडोर नजिकैको प्लटिङ्गको जग्गा देखाएका थिए । नक्सा देखि पुर्जा समेत सबै सक्कली बनाएर देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङ्गको कागजमा कित्ता देखाएर मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हाल साविक गरिदिएको ७६ कित्ता बनाएका थिए ।

यस अघि रेग्मिले ७ वटा यस्तै प्रकृतिको जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा साउन ८ गते पास गरिसक्ने गरी धेरै ब्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गा मध्ये केहि कित्ता ब्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली हो ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सरकारी छाप दस्तखत किर्ते गरी सर्वसाधारण ठगि गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउनु भयो । पीडितहरुको जाहेरीका आधारमा गिरोहमा संलग्न अन्यको खोजी कार्य भईरहेको एसपी जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्