इजरायली हवाई हमलामा वरिष्ठ कमाण्डरको मृत्यु



गाजा ।

दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।

नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका छन् ।

गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन् ।

प्यालेस्टिनी सो अतिवादी सङ्गठनका विरुद्धमा इजरायलपक्षबाट बमबारी भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ती प्यालेस्टाइनहरुको ज्यान गएको बताइएको छ । यस पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन् ।

यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ ।

इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्