हिउँदको हिउँ दामनका स्याउलाई वरदान



हेटौंडा ।

उत्तरी मकवानपुरको चिसो क्षेत्र थाहा नगरपालिकास्थित दामनमा रहेको क्षेत्रफलका हिसाबले नेपालको सबभन्दा ठूलो शीतोष्ण बागवानी केन्द्रले यस वर्ष स्याउको राम्रो उत्पादन गर्ने सम्भावना देखिएको छ ।

उक्त क्षेत्रमा यस वर्ष हिउँ राम्रो परेको र असिना कम परेका कारण स्याउ उत्पादन राम्रो हुने सम्भावना देखिएको हो । भदौमा स्याउको उत्पादन लिएर बिक्री गर्ने केन्द्रको योजना छ ।मौसममा निर्भर रहने फलफुलको उत्पादन उक्त केन्द्रमा गत वर्ष करिब शून्य थियो । गत वर्ष हिउँ कममात्र परेको तर असिना बढी परेका कारण फलफुलको उत्पादन सोचेजस्तो हुन सकेको थिएन ।

बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउका नयाँ र पुराना गरेर करिब ५ हेक्टर जमिनमा ५ सय ७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीका अनुसार हिउँदमा हिमपात राम्रो भए उत्पादन राम्रो हुनसक्ने र हिमपात नभएमा उत्पादनमा ह्रास आउँछ । स्याउ राम्रो फलाउनका लागि थोरै जमिनमा धेरै बिरुवा लगाउने प्रविधि अपनाएर स्याउको बिरुवा रोपिएको प्रमुख केसीले बताउनुभयो ।

स्याउका बिरुवामा फूल खेल्ने मौसममा असिना पर्ने भएकाले असिनाबाट जोगाउन जाली लगाइएको प्रमुख केसीले बताउनुभयो । स्याउ फूल खेलेपछि फल पाक्न ५ महिना लाग्ने र फूल खेल्ने समयमा हिमपात धेरै भए फल राम्रो हुने उहाँले जनाउनुभयो ।२०५० देखि परीक्षणका लागि स्याउका बिरुवा लगाइएको बताउँदै उनले इटली, साइप्रस र बेल्जियमबाट आयात गरिएका उच्चतम् जातका स्याउ २०७३ मा बागबानीले आफ्नो बगानमा परीक्षणका निम्ति ल्याएको प्रमुख केसीले बताउनुभयो ।

बिरुवा लगाइएको पहिलो वर्षमा यी जातका स्याउका बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । एउटा बोटमा करिब १० केजीसम्म फल फल्ने र यी जातका स्याउको बिरुवाको औसत आयु २० देखि २५ वर्षसम्म हुने उहाँको भनाइ छ । राम्रो उत्पादनका लागि हिमाली जिल्लामा मात्र रोप्न सकिने अथवा समुद्री सतहदेखि २ हजारदेखि ४ हजार मिटर उचाइमा हिमपात हुने स्थानमा राम्रोसँग उत्पादन दिनसक्ने उहाँले जनाउनुभयो ।

ती बोटबाट स्याउ उत्पादनभन्दा पनि बिरुवा उत्पादन गरेर किसानबाट स्याउको उत्पादन गराउनु लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बागवानीले हालसम्म वार्षिक ५ हजार स्याउको बिरुवा किसानलाई वितरणका लागि उत्पादन गर्दै आएको उनको भनाइ छ । स्याउलगायत अन्य फलफुलका बिरुवा उत्पादनका लागि वार्षिक १० लाख लागत लाग्ने प्रमुख केसीले बताउनुभयो ।

केन्द्रमा धेरै ब्लक बनाइ अनेकौं जातका जापानी नासपाती, आरु, हलुवाबेद, कटुस, दाँते ओखर, आरुबखडा, आरु, फूलमात्र फूल्ने आरु र किबीका बिरुवा पनि रहेको बागवानीले जनाएको छ । हाल बागवानीमा अधिक बिरुवाको माग भइरहेको केन्द्रले जानकारी दिएको छ । किसानलाई वितरणका लागि बागवानीले करिब २० हजार फलफुलका बेर्ना बनाएको बताइएको छ ।

मौसमअनुसार विषादीरहित तरकारी उत्पादन अनि सुपथ दरमा बिक्री हुने गरेको बागवानीले जनाएको छ । आलुको बीउ, फलफुल, तरकारी, बेर्ना बिक्रीबाट फार्मले प्रत्येक वर्ष २० लाख राजस्व संकलन गर्ने गरेको तथ्यांक छ । समुद्री सतहदेखि करिब ७ हजार ६ सय २० फिट उचाइमा थाहा–४ स्थित दामनस्थित ७६ हेक्टर वर्गकिमीमा फैलिएको बागवानी फार्म तथा नर्सरी केन्द्र २०२२ मा स्थापना भएको हो ।

थाहा नगरपालिकास्थित दामन र सीमभञ्ज्याङलगायत क्षेत्रमा हिउँदमा हिमपात भएको थियो । उक्त क्षेत्रको तापक्रम माइनसमा पुगेको थियो । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरको दामन, सीमभञ्ज्याङ, कोटथुम्की, देउरालीलगायत स्थानहरूमा हिमपात भएको हो । थाहा नगरको शिखरकोट, थानाबजार, ओखरबजारलगायत मुख्य बजारसहित तल्लो भेगमा समेत हिउँ परेको थियो ।

थाहा नगरमा अघिल्लो पटक परेको हिउँ सकिन नपाउँदै अर्काे हिमपात भएको थियो । हिमपात भएसँगै दामनमा स्याउको उत्पादनसँगै आन्तरिक पर्यटकहरूको आवागमन बढ्ने गर्दछ । छिमेकी जिल्ला चितवन, बारा, पर्सा, रौतहटलगायतबाट पर्यटकहरू दामनतर्फ जाने गर्ने क्रम बढ्छ ।

प्रतिक्रिया दिनुहोस्