क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान भर्ने



काठमाडौं ।

हङकङको ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङकङ उडान भर्ने भएको छ ।

एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ ।

एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौं, एयरवेजले सहमति जनाइसकेको छैन ।’
क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौं–हङकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङकङको ड्रयागन एयरलाइन्स अन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हङकङ–काठमाडौं गन्तव्यमा नियमित उडान भर्दै आएको थियो ।

हङकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङकङको ध्वजावाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडौं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ ।

हाल क्याथेले हङकङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक गत असार १७ गते थाइल्यान्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्