पुस्तक चर्चा : एउटै पुस्तकबाट ७३ चाडपर्वको विस्तृत जानकारी



रोहिणी घिमिरे

हाम्रो पहिचान नै हामीले मान्ने गरेका सनातन धर्म–संस्कृति हुन् । हरेक चाडपर्वमा मनाइने धर्म–संस्कृति ती चाडपर्वका विशेषता पनि हुन् । यिनै सनातन धर्म–संस्कृतिलाई चिनाउने र प्रायः सबै चाडपर्वका ऐतिहासिक, पौराणिक एवं परम्परागत चिन्तनलाई उजागर गर्ने उद्देश्यले पं. हरिहर पोखरेलले ‘वार्षिक पर्वमाला’ नामको पुस्तक तयार गर्नुभएको छ । सो पुस्तक अहिले बजारमा समेत आइसकेको छ ।

रेडियो नेपालको धार्मिक कार्यक्रम सञ्चालकका रुपमा प्रवेश गरी आध्यात्मिक यात्रा शुरु गर्नुभएका पं. हरिहर पोखरेलको यस कृतिले हाम्रा पर्वहरुको उपादेयता, पर्व मान्ने तरिका अनि पूजा परम्परालाई स्पष्ट पारेको छ । लामो समयदेखि शिक्षण एवं सामाजिक सेवामा समेत सक्रिय रहनुभएका पं. पोखरेलको ‘विशद चिन्तन’ र ‘भजन सुधा’ पछिको यो तेस्रो कृति हो ।
लेखक पोखरेलले यस ‘वार्षिक पर्वमाला’मा वर्षभरि मनाइने गरेका ७३ वटा चाडपर्वका बारेमा विस्तृत विवरण प्रस्तुत गर्नुभएको छ । ज्ञान र भक्ति मार्गका विविध सामग्रीको प्रकाशन गरी मानिसलाई सत्मार्गमा डो¥याउने प्रयास गर्दै आउनुभएका पोखरेलले यस पछिल्लो कृतिमा वर्षभरिका महत्वपूर्ण चाडपर्वलाई उनेर आफ्नो अनुभव र शास्त्रीय दृष्टिकोणले सजावट गरी एउटा मालाको रुप दिनुभएको छ ।

धर्म–परम्परा, रीतिरिवाज, चाडपर्व देशवासीको पहिचान हो । त्यसैले यस्ता वैदिक एवं परम्परागत पर्वहरुको जगेर्ना गराउने उद्देश्यले नै यो पर्वमाला तयार हुन पुगेको लेखक पोखरेलकी धर्मपत्नी निर्मला पोखरेलले समेत आफ्नो मन्तव्यमा दर्शाउनुभएको छ ।वर्षभरिका हरेक चाडपर्वको वर्णन गर्दा प्रमाणका लागि प्रसंग अनुसार अर्थसहित संस्कृतका श्लोकहरु पनि राखिएका छन् । यस्ता श्लोकले पुस्तकको ओज बढाएको महसुस गर्न सकिन्छ । उदाहरणका लागि जनै पूर्णिमाका बारेमा लेखिएको विवरणलाई लिन सकिन्छ । यसमा लेखकले प्रसंग अनुसार अर्थसहितका १० वटाजति संस्कृतका श्लोक प्रस्तुत गर्नुभएको छ । यसरी श्लोकसहितको व्याख्याले त्यस चाडपर्वसँग सम्बन्धित थप कुरा जान्न मद्दत पुग्नेछ ।

कुन–कुन चाडपर्व कहिले पर्छन्, ती पर्वमा के–के कुरा कसरी गरिन्छ भन्ने यस पुस्तकबाट जानकारी पाउन सकिन्छ । साथै ती पर्वको प्रादुर्भाव कसरी भयो र के–केसँग जोडिएर आएका छन् भन्ने पनि यसबाट ज्ञात हुन्छ । धर्म–संस्कृतिबारे लामो समयको अनुभव र शास्त्रीय ज्ञानको भण्डार भएकाले नै लेखक पोखरेलबाट यो कृति जन्मन सकेको हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन ।

सनातन संस्कृतिको जगेर्ना गर्न यो पुस्तक सहायक सिद्ध हुनेछ । साथै जनमानसमा आध्यात्मिक र नैतिक आस्थाको दियो जगाउनसमेत यस पुस्तकबाट भरपूर मद्दत मिल्नेछ । जस–जसले यो पुस्तकरुपी माला ग्रहण गर्छन्, उनीहरुले यसको सुगन्ध अवश्य पाउनेछन् । ७३ वटा सुन्दर पर्वरुपी पुष्प उनेर तयार पारिएकोले यो पर्वमाला हिन्दू धर्म–संस्कृतिका अनुयायीलाई मात्रै नभएर सांस्कृतिक चाडपर्वका अनुसन्धानकर्ता, कर्मकाण्डी ब्राह्मण, धर्म–संस्कृतिका प्रवचनकर्ता सबैलाई उपयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्