पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउने गृहकार्य



काभ्रे । 

जिल्लाको पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ । त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ बटुकलाई शिक्षा  प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरी  अघि बढाउन स्थानीय वासीहरु लागिपरेका छन् ।

पनौतीमा स्थापना गर्न लागिएको गुरुकुलको नेतृत्व युवा पण्डित अच्युत भट्टराइले गर्नुभएको छ । शनिबार  गुरुकुलप्रति जनचासो राख्ने स्थानीय व्यत्तिहरुको भेलाले पनौतीको गुरुकुललाई संस्थागत ढंगले अघि बढाउन सबै पक्षको सहयोग लिने र कानुनी प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । ‘पनौतीमा गुरुकुल स्थापना गर्ने कुरामा हामी सबै एकमत छौ’ स्थानीय समाजसेवी विश्वेश्वर वञ्जारा भन्नुहुन्छ– सनातन वैदिक धर्म र हिन्दु संस्कारलाई जगेर्ना गरी  अघि बढ्ने  तथा पनौती नगरलाई पुण्य भूमि र धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्न पनि गुरुकुल स्थापना गर्नुपर्छ ।

गुरुकुलमा  अध्ययनरत बटुकहरूलाई कर्मकाण्ड र धर्म संस्कृतिको मात्र हैन आधुनिक शिक्षाको पनि ज्ञान प्रदान गरिने भन्दै गुरुकुल बाट निस्कने विद्यार्थी विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमताको हुनुपर्ने स्थानीय शरद भण्डारी बताउनु हुन्छ । भण्डारी भन्नुहुन्छ– अब हामि पहिले दर्ता प्रक्रियाबाट अघि बढ्छौ । अबको गुरुकुल बहुउद्देश्यीय हुने भन्दै उहाँले सार्वजनिक गुठी अन्तर्गत दर्तामा रहने गरी विधान लेखन कार्य भइरहेको बताउनु भएको छ ।

पनौतीको गुरुकुललाई संस्थागत रुपमा अघि बढाउन सबैको सहमति हुने भन्दै पनौतीका काँग्रेस नेता तीर्थ पसखलले भन्नुभएको छ– गुरुकुल स्थापना गरी परम्परा, संस्कृति बचाउन र धार्मिक जागरण ल्याउन कसैको पनि विमति हुँदैन । भेलामा स्थानीय समाजसेवी रामकुमार बस्नेतले गुरुकुल शिक्षालाई टिकाउन र निरन्तरता दिन स्थानीय सरकारले पनि विशेष चासो राख्नु पर्ने बताउनु भएको थियो ।

‘शिक्षा र संस्कार दुवै दिने गुरुकुल नै हो’ स्थानीय शिक्षक केदार आचार्य भन्नुहुन्छ– गुरुकुललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैले साथ दिन्छन् । वृहत् योजना तर्जुमा गरेर अघि बढेमा सबैको साथ सहयोग रहने भन्दै स्थानीय उत्तम श्रेष्ठले गुरुकुल स्थापनाको लागि अग्रमोर्चामा जनप्रतिनिधिहरुलाई पनि सहभागी गराउनु पर्ने धारणा राख्नु भएको थियो ।

पनौतीमा बागमती प्रदेश स्तरीय गुरुकुल स्थापनाको लागि अग्रमोर्चामा लागिरहनु भएका व्यवसायी प्रदीप बोगटीले गुरुकुलको लागि आवश्यक सबै प्रकारको सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ । पछिल्लो समय पनौतीमा धार्मिक गतिविधि बढ्दै गएको भन्दै गुरुकुलको नेतृत्व गरिरहनु भएका गुरु अच्युत भट्टराईले सबैको साथ र सहयोग भएमा पनौतीलाई धार्मिक नगर बनाउन धेरै समय नलाग्ने बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्