जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …



नेस्कोपेक, पेन्सिलभेनिया ।

नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।

अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए ।

आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुईसन्तान(एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै रह्यो ।

बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो । ज्यान गुमाउनेहरू पाँच, छ र सात वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्ध छन् । घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन । आगोले ज्यान लिएकाहरूको शवको परीक्षण आगामी साता गरिने अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन । त्यसको अनुसन्धान भइरहेको छ ।

बेकरले पाएको आगालागीको सूचनाअनुसार उनको परिवारका सदस्यहरूको बासस्थान नजिकको कुनै घरमा आगो लागेको थियो तर उनले घटनास्थलमा आइसकेपछिमात्र आफ्नै घर जलेको थाहा पाए । चालीस वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए । अधिकारीहरूका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्नसक्ने अवस्था नै थिएन ।

प्रतिक्रिया दिनुहोस्