आँधीखोला गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु



स्याङ्जा ।

जिल्लाको आँधीखोला गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको छ । पालिकाको वडा नं. ५ कृषिमा सुविधा सम्पन्न प्रशासकीय भवन बनेको हो । यस गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । ५ करोड ६४ लाखको लागतमा ३२ कोठा र २ वटा सभाहलसहितको भवन निर्माण गरिएको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको आफ्नै भवन नभएकाले २०७६ मा गाउँसभाबाट भवन निर्माण गर्ने निर्णयअनुसार भवन निर्माण गरिएको हो ।’

गाउँपालिकाको आफ्नै भवन निर्माण भएपछि सेवा दिन सजिलो भएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको भवन नहुँदा हामीलाई धेरै समस्या भएको थियो । हामीले कृषि सेवा केन्द्रको पुरानो भवनमा कार्यालय सञ्चालन गरेका थियौं । भवन बनेपछि अब सेवाग्राहीलाई पनि सजिलो भयो, हामीलाई पनि सजिलो भयो ।’ पौडेलले भन्नुभयो, ‘भवन आँफैमा साध्य होइन, साधन हो । कार्यालय व्यवस्थापन गर्न र पालिकाबासीलाई सहज, जनमैत्री र गुणस्तरीय सेवा प्रदान गर्न पूर्वाधारको सही सदुपयोग गर्न हामी प्रतिबद्ध छौं ।’

गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपछि सेवाग्राही पनि खुसी भएका छन् । ‘कार्यालय भवनको अभावमा सेवा दिन साह्रै गाह्रो थियो ।’ हामीले नयाँ भवनबाट सेवा शुरु गरेपछि सेवाग्राही पनि खुसी भएका छन्, गाउँपालिकाका प्राविधिक प्रमुख विशाल जिसीले भन्नुभयो । देव एण्ड सायर ÷ क्याराभान जे.भी सँग २०७६ जेठ १० मा भवन निर्माण सम्झौता भएको पालिकाका इन्जिनियर जि.सी. ले जानकारी दिनुभयो ।

निवर्तमान पालिका अध्यक्ष सुधिर कुमार पौडेलले भन्नुभयो, ‘पुरानो, छाना चुहिने, साँघुरो र जिर्ण भवनबाट सेवा प्रवाह गर्न एकदमै गाह्रो भएको थियो । कति काम गर्न सकियो कति सकिएन त्यो छ जनताले मूल्यांकन गर्नुभएको होला । कार्यालय एवं कागजपत्र व्यवस्थापनमा पनि चुनौती थियो तर हामीले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन सक्दो प्रयास गरेका थियौं । आफ्नो कार्यकालमा सुरु भएको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भै सेवा प्रवाह गर्ने कार्य प्रारम्भ भएकोमा एकदमै हर्षित छु ।’

पालिकाबासीले अब सम्पूर्ण प्रशासकीय सेवा एउटै छानामुनी प्राप्त गर्न सक्ने गाउँपालिकाका उपाध्यक्ष देवी थापाले बताउनुभयो । कोरोना महामारी र चुनावका कारणले तोकीएको सम्झौता अवधिभन्दा ६ महिना ढिलो म्याद थप गरी भवन निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ । जिल्लामा आफ्नै भवन नभएका स्थानीय तहमध्ये केहीले पुराना सरकारी भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेका छन् भने केहीले भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिरहेका छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्