फिफा विश्वकप आयोजक बन्न चार राष्ट्रको दाबी



लन्डन, (एजेन्सी) । 

सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार राष्ट्रले संयुक्त रूपमा दाबी पेस गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ । उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन । उरुग्वे एक शताब्दीपछि विश्वकप आयोजना गर्न चाहन्छ ।

त्यस्तै, चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो । सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेस गरिसकेको छ । सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुुँदैछ । यस्तै, २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्ने तय भइसकेको छ । अर्कोतिर विश्वकप आयोजक बन्ने होड़मा रहेका बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजनाको दाबीबाट पछि हटेको छ ।

यी दुई राष्ट्रले २०३० को विश्वकपबाट हट्दै सन् २०२८ को युरोकप आयोजना गर्न योजनामा रहेको बताइएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । पहिलो संस्करणको विश्वकपमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्