सरकार, नेपालको शिक्षा नै कमजोर हो त ?



नेपालबाट बर्सैपिच्छे लाखौं नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न बाहिरी मुलुक जान्छन् । नेपालबाट एक वर्षमा नेपाली विद्यार्थी अध्ययन गर्न जाँदा ६५ अर्ब नेपाली मुद्रा बाहिरी मुलुकमा जाने गर्छ ।

त्यस्तै गरी नेपालमा रहेका दक्ष तथा सक्षम नागरिकहरु पनि बाहिरी मुलुकहरुले लैजाँदै आइरहेको छ । यसरी नेपालबाट विद्यार्थीहरु पढ्न भनेर अस्ट्रेलिया वा अमेरिका जाँदा १५ देखि २० लाख नेपाली मुद्रा लैजाने गर्छन् । जुन पैसा प्लेन, कन्सल्टेन्सी र त्यहाँ पढ्नका लागि पहिला नै बुझाउनुपर्ने हुन्छ ।

विद्यार्थीहरु पहिला उच्च शिक्षा हासिल गर्ने भनेर जान्छन् तर त्यहाँ गएपछि उनीहरु नेपाल फर्किंदैनन् । उनीहरु त्यहाँ आफ्नो घरपरिवारलाई नै सँगै लग्छन् र नेपालमा भएको आफ्नो पुख्र्यौली सम्पत्ति पनि सबै बेच्छन् । नेपाली विद्यार्थी पढ्न भनेर जाँदा नेपाली जनताको रुपमा जान्छन् तर फर्किंदा विदेशी पाहुनाका रुपमा आउने गर्छन् । नेपालका लाखौँ दक्ष जनशक्तिहरु बाहिरी मुलुक यसरी जाने गर्दा यसले देशको अर्थतन्त्रमा क्षति पुग्नेछ ।
नेपाल सरकारले यसरी आफ्नो देशको दक्ष जनशक्तिलाई विकसित मुलुकहरुमा पठाउँदा यसले देशको विकासमा प्रभाव परिरहेको छ । सरकारले अब नेपाली विद्यार्थीलाई बाहिरी मुलुकमा शिक्षाका लागि भनेर पठाउन रोक्नुपर्छ ।

शिक्षा मन्त्रालय र शिक्षा विभागले अब अस्ट्रेलिया र अमेरिका पढ्न जाने विद्यार्थीलाई रोक्नुपर्छ । पहिला पढ्न भनेर गएका विद्यार्थीहरु अस्ट्रेलिया र अमेरिकामा ग्रिन कार्ड पाएर त्यहाँ नै आफ्नो सम्पूर्ण घरपरिवार लगेर बस्ने गर्छन् । उनीहरु आफ्नो आमाबुबाको साथसाथै पुख्र्यौली सम्पत्ति पनि बेचेर जाने गर्छन् ।यसरी नेपाली सम्पत्ति बेचेर ९० अर्बभन्दा बढी नेपाली पैसा विदेशमा बर्सैपिच्छे गइरहेको छ । अमेरिका र अस्ट्रेलियाले नेपालको दक्ष जनशक्ति र नेपाली मुद्रा लगेर नेपालको अर्थतन्त्रलाई धराशायीमा पु-याउने काम गरिरहेको छ । अब नेपाल सरकारले यी देशले नेपालमाथि गरेको राजनीति बुझ्न निकै जरुरी रहेको छ, होइन भने नेपालको अर्थतन्त्र नाजुक हुनेछ ।

सरकारले उच्च शिक्षा हासिल गर्न भनेर जाने विद्यार्थीलाई रोक लगाउनुपर्छ र खाडी मुलुकमा गएका नेपाली नागरिकलाई प्रोत्साहन दिनुपर्छ । जति पनि खाडी मुलुकमा गएका नेपाली नागरिकहरु छन् उनीहरु पैसा पनि कमाउँछन् र स्वदेश पनि फर्किन्छन् तर अमेरिका, अस्ट्रेलिया जाने मानिसहरु पैसा पनि पठाउँदैनन् र आफ्नो जन्मभूमि पनि फर्किंदैनन् । बरु उनीहरु अमाबुबा र पुल्र्यौली सम्पत्ति नै बेचेर जाने गर्छन् । अहिले नेपालमा एउटा चलन चलेको छ ।

अहिले प्रायजसो नेपाली विद्यार्थी कक्षा १२ पास गरेपछि उच्च शिक्षा हासिल गर्ने भनेर अमेरिका तथा अस्ट्रेलिया जाने गर्छन् । यसले गर्दा नेपालले आफ्नो दक्ष जनशक्ति गुमाइरहेको छ । के अमेरिका र अस्ट्रेलियाको शिक्षाभन्दा नेपालको शिक्षा कमजोर हो ? नेपालमा पनि निजी तथा सरकार कलेजहरु रहेका छन् । अमेरिका र अस्ट्रेलियामा २० लाख रुपियाँ खर्च गरेर जानुभन्दा बरु नेपालमा नै त्यही पैसाले सानो व्यवसाय गर्ने हो भने राज्यले राजस्व पाउँछ, नेपाली मुद्रा बाहिरी मुलुकमा जाँदैन र देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । एउटा व्यवसाय सञ्चालन गरेपछि नेपालमा रहेका धेरै बेरोजगारहरुले रोजगार पाउँछन् र आफ्नै देश र परिवारसँग पनि बस्न पाइन्छ ।

यदि सरकारले नेपाली विद्यार्थी अमेरिका र अस्ट्रेलिया जानबाट रोक्ने हो भने यसले गर्दा जनता र राज्य दुवैलाई फाइदा हुनेछ । अहिले अस्ट्रेलिया तथा अमेरिका गएका नागरिकहरु नेपाल नफर्किंदा नेपालमा भएका उनीहरुका आमाबुबालाई सरकारले हेनुपर्ने अवस्था छ, उनीहरुको बिचल्ली भइरहेको छ । विदेशमा छोराछोरी भएका आमाबुबाहरु बुढेसकालमा छोराछोरीहरुसँगै नहुँदा बेकारमै अमेरिका र अस्ट्रेलिया पठाएको भन्ने गर्छन् ।
अहिले जति पनि अमेरिका, अस्ट्रेलिया गएका नेपाली नागरिकहरु रहेका छन्, उनीहरुको देश विकासमा केही पनि योगदान रहेको छैन । नेपालबाट खाडी मुलुकहरुमा काम गर्न गएका मानिसहरुको मात्र देश विकासमा योगदान रहेको छ । उच्च शिक्षा हासिल गर्ने भन्दै पहिला अमेरिका, अस्ट्रेलिया जाने अनि त्यहाँ पुगेपछि आफ्नो स्वदेशलाई नै बिर्सने गर्छन् । नेपालमा अहिले रेमिट्यान्स पठाउनेमा सबै खाडी मुलुकमा काम गर्न गएका नेपाली नागरिकहरु रहेका छन् ।

धनीले आफ्ना छोराछोरी महँगो तथा निजी विद्यालयमा पढाउँछन्, जसले गर्दा राम्रो पढाइ हुनेबित्तिकै उनीहरु अस्ट्रेलिया तथा अमेरिका जाने गर्दछन् । निजी विद्यालयहरु विद्यार्थीका लागि अमेरिका, अस्ट्रेलिया जाने कारखाना बनिरहेका छन् । जो आर्थिक कमजोरीका कारण आफ्ना बालबच्चालाई सरकारी विद्यालयमा पढाउँछन् ती विद्यार्थीको पढाइ कमजोर हुन्छ । त्यसैले गर्दा सरकारी विद्यालयमा पढेका विद्यार्थीहरु कि निजी कार्यालयमा काम गर्छन् कि आर्मी तथा प्रहरीमा भर्ती हुन्छन् ।

कैयौँ मानिस १६ वर्ष पुग्नेबित्तिकै नागरिकता बनाएर कामका लागि खाडी मुलुक जाने गर्छन् । तर निजी विद्यालयमा पढेका विद्यार्थीहरु अस्ट्रेलिया, अमेरिका जाने गर्छन् । सरकारी विद्यालयमा पढेर नेपालमा नै काम गर्नेले राज्यलाई कर तिर्छ, आफ्नो परिवार बिरामी भएको समयमा हेरचाह गर्छ । तर अस्ट्रेलिया, अमेरिका गएका मानिसले न राज्यलाई नै कर तिर्छ, न आफ्नो आमाबुबा नै हेर्छ, बरु नेपालमा भएको आफ्नो पुख्र्यौली सम्पत्ति पनि बेचेर लैजान्छ ।

तर निजी विद्यालय तथा कलेजमा पढेका विद्यार्थी नेपाल बस्न नरुचाउने र सेवासुविधाको खोजीमा विकसित मुलुकतिर लाग्ने गर्छन् ।
नेपालमा पछिल्लो समय अस्ट्रेलिया, अमेरिका गएका छोराछोरीहरुका अभिभावकहरु आफन्तजन तथा छिमेकीसामु निकै शान देखाउने गर्छन् । उनीहरु आफ्ना छोराछोरी अस्ट्रेलिया, अमेरिका गएर नेपालको लागि धेरै योगदान गरेको जस्तै गर्छन् । आज ती अभिभावकले आफ्ना छोराछोरीलाई बाहिरी मुलुकमा पढ्नका लागि नपठाएको भए नेपालको अर्थतन्त्र यति नाजुक हुने थिएन होला । पछिल्लो समय अमेरिका, अस्ट्रेलियामा आफ्ना छोराछोरी भएका आमाबुबाहरु नेपालमा छिमेकी तथा आफन्तसँग मेरा छोराछोरीले अमेरिका, अस्ट्रेलियामा घर–गाडी किने आदि भनेर सुनाउने प्रवृत्ति बढिरहेको छ ।

अमेरिका र अस्ट्रेलियाको सरकारले नेपालीहरुले त्यहाँ कमाएको पैसा नेपाल ल्याउन नदिई त्यहीँ खर्च गर्न लगाउने गरिरहेको छ । तर खाडी मुलुकमा गएका मानिसले नेपालमा नै पैसा पठाउँछन्, जसले गर्दा नेपालमा खाडी मुलुकमा गएका मानिसहरुको योगदान देखिइरहेको छ ।
अब सरकारले उच्च शिक्षाका लागि जाने भनेर गएका विद्यार्थीलाई रोक्नुपर्छ । यसमा सरकारको ध्यान छिटोभन्दा छिटो जान जरुरी छ । सरकारले अब पनि यसरी नेपालको दक्ष जनशक्तिलाई अस्ट्रेलिया, अमेरिका पठाउने हो भने नेपालमा एउटा पनि दक्ष जनशक्ति रहने छैन । शिक्षा हासिल गर्न भनेर गएका विद्यार्थी त्यहाँ नै परिवारसहित बस्ने गर्छन् ।

नेपालको पढाइ राम्रो छैन भनेर वर्षैपिच्छे लाखौं विद्यार्थी बाहिरी मुलुकमा उच्च शिक्षा हासिल गर्न जानु भनेको त नेपालको शिक्षामाथि नै प्रश्न उठ्ने कुरा होइन र ? सरकारले अब अमेरिका, अस्ट्रेलियामा हुने छोराछोरीहरुले आफ्नो अभिभावकको सम्पत्ति लिन नपाइने भनेर कानुन बनाउनुपर्छ ।

यदि आमाबुबाको सम्पत्ति चाहिन्छ भने नेपालमा नै आएर बस्नुपर्छ भनी कानुन बनाउनुपर्छ ।जतिका छोराछोरीहरु अस्ट्रेलिया र अमेरिकामा नै बस्छन् उनीहरुका आमाबुबा बितेपछि सरकारले ती चल र अचल सम्पत्तिहरु राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अब कानुन नबनाउने र नेपाली विद्यार्थीलाई उच्च शिक्षाको नाममा बाहिरी मुलुक पठाउने हो भने नेपाल अबको केही वर्षमा सिद्धिनेछ । यसमा सरकार र राजनीतिक दलहरुको छिटोभन्दा छिटो ध्यान जान जरुरी छ ।
– रुसा थापा ।

प्रतिक्रिया दिनुहोस्