अदृश्य, धुर्त स्यालहरु र मुलुकको अधुरो विकास



रमेशकेशरी वैद्य

कुनै एउटा पुरानो घरलाई जब दुईतिर बलियो घरले च्यापिराखेको हुन्छ तब त्यो पुरानो घरको आयु लामो हुन्छ । अहिले हाम्रो मुलुक पनि यसरी नै चलिराखेको छ । अन्यथा हाम्रो मुलुकको हालत पनि श्रीलंकाजस्तो हुन बेर थिएन । त्यसकारण हामीले सधैँ छिमेकी देशलाई मात्र दोषारोपण गरेर बस्नु उचित नहोला, बरु कमी–कमोजरीहरुलाई केलाएर आपूm नै सच्चिनु राम्रो कुरा हो । वास्तवमा भन्ने हो भने हाम्रो देश नै सानो छ, गरिब छ, जसको कारण छिमेकी देशहरुको अगाडि आँखा चिम्लनै पर्छ र अलिकति सहने क्षमता राख्नै पर्दछ । यसबाहेक हामीसँग अहिलेको लागि अरु विकल्प नै छैन ।

लोकतन्त्रपश्चात् मुलुकमा सुधारहरु भएकै पनि छन् । खाली यति हो कि पोख्त नेताहरु नहुनु, राष्ट्रधनको राम्ररी सदुपयोग गर्न नसक्नु र सुविधायुक्त चिजहरुको औसतमा जनताले सदुपयोग गर्न नपाउनु मात्र हो । आशा गरौं, समयले सब ठीक गर्दै लैजानेछ । हाम्रो मुलुकमा चित्त नबुझेका कुराहरु अझै छन्, जसलाई सुधार्नु एकदम नै जरुरी छ । सर्वप्रथम देशमा कानुन नै दह्रो हुनु जरुरी छ । राम्रो कडा कानुनले नै देशको कायापलट हुनसक्छ ।

यो मुलुकमा सरकारले राष्ट्रधनको तहबह नै मिलाउन सकेन । सरकारी गाडीहरुका लागि हाम्रो जस्तो गरिब मुलुकले अर्बाैं रुपियाँ खर्च गर्ने होइन । गाडीको बदलामा सरकारी ओहदामा रहनेहरुलाई यातायात भत्ता दिने हो । यो रकमचाहिँ कृषि प्रविधि, अधुरा राजमार्ग, पुल, बाँध आदिमा खर्च गर्ने हो । यसो गर्नाले कृषि व्यवसाय फस्टाउनेछ ।

हाम्रो मुलुकमा खट्किएको एउटा कुरा के छ भने, राजनीतिक वातावरणले गर्दा पनि समाजलाई नरमाइलो लागिराखेको हुन्छ । कारण ठोस कामभन्दा अनावश्यक काम कुराहरुमा नै यिनीहरुको समय बितिराखेको हुन्छ । अर्को कुरा, नेताहरुको पछि–पछि सधैं आसेपासेहरु भुनुनु झिँगा भन्केसरह झुम्मिराखेका हुन्छन्, जसले गर्दा यिनीहरुले राम्ररी काम गर्न सक्दैनन् । प्रायः सरकारी कार्यालयहरुमा पनि यही प्रक्रिया चलिराखेको हुन्छ । हामी भन्छौं, केही राम्रा व्यक्तिहरुको क्रियाकलापले नै मुलुक राम्रो हुन्छ भने धेरै आसेपासे मानिसहरुको के जरुरत ? यो कुरा बुझ्न गाह्रो छ ।

सरकारमा संसद् भवनको कुरा गर्ने हो भने प्रायः संंसद् भवनमा कुर्सीहरु खालि हुने गर्दछ । जनताबाट प्राप्त अनेक करबाट उठेको रकमबाट यिनीहरुले भत्ता खाइराखेका हुन्छन् । त्यसमाथि कहिले के पुगेन, कहिले के पुगेन भनेर आवाज उठाई पनि राखेका हुन्छन् । तर मुलुकको लागि यिनीहरुबाट खासै उपलब्धि भने देखिएको पाइँदैन ।हाम्रो देशको एउटा विडम्बना के छ भने, प्रायः सरकारी निकायहरुमा कडा र इमानदार व्यक्तिहरु देखिएनन् । यसको खास कारण सरकारी कुर्सीहरुमा नेताहरुको इच्छा अनुसारका हाकिम हुने गर्दछन् । ती हाकिम चाहे राम्रा व्यक्ति हुन्, चाहे नराम्रा हुन्, तीमाथि नेताहरुको राज केही न केही मात्रामा चलेकै हुन्छ ।

यदि खुल्ला प्रतियोगिता अनुसार राम्रा हाकिम छान्ने र पारदर्शितालाई अपनाउने हो भने सरकारी कार्यालयहरुमा सुधार आउने थियो । यो हुनु भनेकै देश राम्ररी विकास हुनु हो । सरकारलाई पनि कति घचघच्याउनु ? कुर्सी, कलह अनावश्यक भाषणमा नै यिनीहरुको दिन बितिराखेको हुन्छ ।

हाम्रो मुलुकमा सधैँ करोडौं, अर्बाैंको कुरा भइराखेको हुन्छ । तर युवा शिक्षित बेरोजगारहरुलाई सरकारले वास्ता गरेको हुँदैन । वृद्धवृद्धाहरुलाई जस्तै यिनीहरुको शैक्षिक प्रमाणपत्र चेक गरेर यिनीहरुको कामको व्यवस्था नहुन्जेलसम्म केही बेरोजगार भत्ता सरकारले दिनुपर्दछ । आखिरमा सरकारमा रहनेहरु जनताका समस्याहरु किन बुझ्दैनन् र सधैँ यो मामलामा सोच सानो किन गर्ने गर्दछन् ?

अहिले देशको एउटा ठूलो समस्या सुकुम्बासी समस्या पनि हो । यस्तो अवस्थामा सुकुम्बासी समस्याको हल कसरी हुन्छ, त्यसको राम्ररी बुझेर कडा रुपले छिनोफानो गर्नु राज्यको दायित्व हो । सधैँ अनेकौं प्रकारको करले जनतालाई ढाड सेक्ने तर जनताको समस्याप्रति कहिल्यै आँखा नजाने, यो कस्तो सरकार हो हाम्रो मुलुकमा ?अहिलेको परिप्रेक्ष्यमा सरकारले राष्ट्रधनका कुराहरुलाई विचार पु-याउनु जरुरी छ ।

जस्तै– राष्ट्रधनको चुहावटमा मितव्ययिता, बेरुजु रकम, सरकारी कार्यालयहरुमा बजेट कन्ट्रोल तथा खाद्यान्न र अन्य सामानहरुमा आयातभन्दा निर्यातमा प्रयास गर्ने आदि कुरामा सरकार गम्भीर हुनु जरुरी छ । यसबाहेक दलहरुले पार्टीको लागि रकम कमाउने मात्र होइन, बरु भएको रकम अनेक असहायहरुका लागि खर्च गर्ने हो ।

यसो गर्दा नेता, समाज, देश सबैको भविष्य राम्रो हुन्छ । अहिलेको ठूलो समस्या भनेकै फोहोरको समस्या हो । यसबाहेक तराईमा सर्पदंश समस्या पनि हो । यस्तो बेला तराईका नेताहरु सुतेर बस्नुहुँदैन । यो समस्याको लागि जोड गर्नु नेताहरुको कर्तव्य हो ।

हाम्रो देशमा प्रशासनिक झमेलाका साथै सेवा–सुविधा र सहुलियतबाट अझै पनि यहाँका मानिसहरु वञ्चित छन् । यसका खास कारण पनि एक हिसाबले समाज स्वार्थी, धुर्त, अल्लड भएका कारण नै हो । यदि समाजमा स्वार्थी र शिक्षाको अभाव नभएको भए यस्तो हुँदैनथ्यो होला, जसको फाइदा नेता र कर्मचारीतन्त्रलाई भएको छ । त्यसैले यस्तो अवस्थामा मुलुक राम्रो हुनका लागि राम्रा व्यक्तिहरु अग्रसर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्