संस्कृत शिक्षाको अपरिहार्यता



हाम्रो पहिचान भनेकै वैदिक सनातन हिन्दूधर्म र संस्कृति हो । यसअनुसार गरिने देवकार्य तथा पितृकार्यका सम्बन्धमा एउटा शास्त्रीय मत छ– पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता ।

अर्थात् पितृहरूले वाक्य क्रिया शुद्ध गरेमात्र स्वीकार गर्दछन् (उनीहरू वचनको शुद्धता चाहन्छन् जब कि देवताहरू भावलाई प्रधानता दिन्छन् ।) हाम्रो समाजमा ‘देवता दिने र पितृ हर्ने’ भन्ने भनाइ पनि यही मान्यताका आधारमा चलेको हुनुपर्छ । यसअनुसार, देवकार्यभन्दा पितृकार्यमा बढी सावधान रहनुपर्ने देखियो । त्यसका लागि ती कार्य गर्दा शुद्धसँग पढ्न सक्ने ‘पण्डित-ब्राह्मण’ चाहियो ।

अन्यथा हित वा शुभका लागि कर्ताले गरेको कार्यको फल अहित वा अशुभ हुने रहेछ ।शास्त्रीय वचन र लौकिक विश्वास जस्तो भए पनि व्यवहारमा चाहिँ संस्कृत पढेका-जानेका कर्मकाण्डी पुरोहित-पण्डितको अभाव छ । देवकार्य तथा पितृकार्य र न्वारान, पास्नी, व्रतबन्ध, विवाहजस्ता संस्कारकर्म गराउन सक्ने दक्षता र योग्यता भएका पण्डित तथा पुरोहितहरू आजकल खासगरी काठमाडौं उपत्यका तथा अन्य शहरतिर थुप्रिएका हुँदा गाउँघरमा तिनको निकै अभाव छ ।

कतिपय भएका पनि प्रायः शिक्षक भएका हुँदा उनीहरूले ती काममा समय दिन सक्ने कुरै भएन । तर जजमानको काम पनि चल्ने र आफूलाई मनग्गे आर्थिक फाइदा पनि हुने भएको हुँदा कतिपय पहाडी विद्यालयमा हाजिर भएर एउटा न एउटा बहाना गरी श्राद्ध, पूजा, एकाहातिर कुद्ने शिक्षकहरू पनि देखिएका छन् । हाम्रो नेपाली समाज नै सहनशील भएकोले व्यवहार यसरी नै पनि चलेकै छ ।

अर्थशास्त्रको नियमअनुसार, कुनै पनि वस्तुको पूर्ति कम र माग बढी भएपछि मूल्य बढ्छ नै । यही नियमअनुसार, पण्डित–पुरोहितको सङ्ख्या थोरै भएको हुँदा तिनको भाउ चुलिएको छ । भारतका अधिकांश हिन्दू मन्दिर तथा तीर्थस्थलमा पुरोहित पण्डाहरूले हप्काइ–हप्काइ ठग्ने-लुट्ने गरेको त धेरैले सुने-भोगेकै छौं । यहाँ हाम्रो समाजमा पनि ‘ब्राह्मणवचनं’ परिपूर्ण र अकाट्य मान्ने गरिएको हुँदा कतिपय अवस्थामा कुनै पनि देवकार्य तथा पितृकार्य सम्पन्न गर्ने क्रममा लोभी र धूर्त पुरोहितको सिकार भएका जजमानहरू थुप्रै पाइन्छन् । तर ती कुराहरू बाहिर आउँदैनन् ।

किनभने ती सामाजिक प्रतिष्ठासँग जोडिएका व्यक्तिगत कुरा हुन् । अझ, दान गरेको कुरालाई लिएर पछुतो मानेमा वा कसैसँग असन्तुष्टि पोखेमा त्यो निष्फल पनि हुँदो हो !संसारका सबै मानिस पापी छन् । त्यसबाट मुक्ति पाउन वा प्रायश्चित्त गर्न धर्म गर्नै प-यो । धर्मलाई संस्कारसँग जोडिएको छ । अनि संस्कार सम्पन्न गर्न असल पण्डित चाहियो ।

तर एकजना असल पण्डित नै नपाइने ठाउँमा कसैले धर्मका लागि एकै दिन सातजना पण्डित पढाएर एकाहा लगाउने विचार ग-यो भने मुस्किलले सावाँ–अक्षरमात्र छिचोलेको भए पनि ब्राह्मणको बच्चो भए तिनलाई समेत बोलाएर सङ्ख्या पु¥याउनुपर्ने अवस्था छ यहाँ । तर अवस्था यस्तो हुँदा पनि संस्कृत पढेर साँच्चै पण्डित भएका कोही ब्राह्मणइतर जातकालाई ‘पण्डित’ स्वीकार्न भने यो समाज तयार छैन, किन ? भन्नचाहिँ ‘ब्राह्मण भनेको ब्रह्मज्ञान भएको मानिस हो । त्यस्तो मानिस ब्राह्मणमात्र होइन, जो पनि हुनसक्छ’ भनिन्छ ।

बजारमा, संस्कृत–नेपालीमा कर्मकाण्डका एक से एक अनेक किताब पाइन्छन् । तीसँगै आजकल त ब्राह्मणको अभाव भएको कुरालाई मध्यनजर गरेरै होला, संस्कृत भाषा भईकन पनि गर्ने विधि राम्ररी बुझाइएको ‘पण्डित नभएमा’ भन्ने किताब पनि पाइँदो रहेछ ! तर ब्राह्मण नपाएको बेलामा कोही सात्विक स्वभावको अरू नै कोही शिक्षितलाई बोलाएर त्यही किताबका आधारमा पूजाआजा गराई दानदक्षिणा दिइएको कुराचाहिँ कतै पनि सुन्न-पढ्न पाइएको छैन । गर्नेले, लुकिचोरी जात लुकाएर गरेको र गराउनेले पनि थाहा नपाएर गराएको कुरा बेग्लै हो ।

देवकार्य होस् कि पितृकार्य होस्, जाँडभाङ खाने र अनपढ नै भए पनि ब्राह्मणलाई बोलाएर नगराएसम्म हाम्रो समाजले नै स्वीकार्दैन । परिणामतः संस्कृत भाषामा लेखिएका गाह्रा पदावली-वाक्यका त के कुरा, नेपालीमा लेखिएका सजिला शब्दहरू पनि फुटाउन नसक्ने टपर्टुइयाँ ब्राह्मणहरू पनि पहेँला कपडा र चन्दन लगाएको भरमा ‘पण्डित’ र ‘गुरु’का रूपमा अति व्यस्त रहने गरेको अवस्था छ । यस्तो भएपछि हाम्रा धेरै पितृहरू पार तर्नुको साटो प्रेत भएर रहेका होलान् ! स्वर्ग जानुको साटो नर्कमा अलपत्र परेर हामीलाई सरापिरहेका होलान् । यस्तो भएपछि यो देशमा अनिष्ट नभएर के होस् !

यद्यपि हिन्दूशास्त्रमै फेरि, ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’, अर्थात् मान्छे जन्मदा शूद्र नै हुन्छ र कर्म वा संस्कारपछि मात्र त्यो ब्राह्मण हुन्छ पनि भनिएको छ । हुन पनि सबैलाई थाहा भएकै हो, सबै बालकहरू जन्मदा उस्तै हुन्छन् । कुनै ब्राह्मणीको कोखबाट जन्मदैमा कुनै पनि बालक वेदको सानो किताब बोकेर जन्मदैन ।

क्षत्री बालक पनि चिटिक्क परेको कर्द लिएर जन्मदैन । वैश्य बालक पनि व्यापारिक सामानको स–सानो पोको लिएर आमाको कोखबाट बाहिर आउने होइन, न त कोही शूद्र बालकमात्रै नाङ्गै र फोहोरी देखिने गरी जन्मिने हुन्छ । जन्मदा सबै उस्तै जन्मिन्छन्– नाङ्गै, फोहोरी र रुँदै नै । संसारका सबै बुझ्झकी र ज्ञानीहरूले मान्छेको जात मान्छे नै हो भनेका छन् । विश्वमानवकै सबभन्दा पुरानो ग्रन्थ वेदमा जातभातको कुनै कुरै छैन ।

तर यो कुरा भुसुक्कै बिर्सेर फेरि, कर्मकाण्ड गराउने र दानादि दिने सम्बन्धमा चाहिँ ‘ब्राह्मणद्वारा नै गराइनुपर्ने-ब्राह्मणलाई दिनुपर्ने’ भनेर एकाधिकारी ढंगले तोकिएको देखिन्छ । यो अवस्थामा, ‘जन्मना जायते शूद्रः ….’ को मान्यतालाई शास्त्रसम्मत लागू गराउन पनि हिन्दु धर्मावलम्बीजति सबैलाई संस्कृत शिक्षा पढाउने र सबैद्वारा कर्मकाण्ड गराउनेतिर विशेष ध्यान पु¥याउने नीति किन ल्याइँदैन ? दैनिक जीवनमा आवश्यक पर्ने संस्कृत भाषा र कर्मकाण्ड गर्न सिक्ने सहज वातावरण किन उपलब्ध गराइँदैन ? वैश्य वा शूद्रका बच्चाको व्रतबन्ध संस्कार गरिदिएर उनीहरूलाई पनि वेद वा कर्मकाण्डको अध्ययन गराउने अभियान किन चलाइँदैन ? सनातन हिन्दू धर्मअन्तर्गत गरिने नामकरण, उपनयन, विवाह आदि संस्कार सम्पन्न गर्नका लागि किन ब्राह्मण नै खोजिन्छ ? जब कि हाम्रो समाजमा तप, ध्यान, आचरण र स्वाध्यायबाट होइन, खाली जन्मका आधारमा मात्र ब्राह्मण भएकाहरू धेरै छन् ।

कलियुगको विशेषता नै पो यही हो कि !त्यसो त जातका आधारमा कसैले कसैलाई पनि भेदभाव गर्न नपाइने संवैधानिक व्यवस्था भएको पनि धेरै भैसक्यो । तर पनि हाम्रो सामाजिक मान्यता र दृष्टिकोणमा परिवर्तन हुन नसकेपछि कानुनले मात्र केही गर्न सक्दो रहेनछ । पछि परेका जातलाई सक्षम बनाउने चौतर्फी प्रभावकारी कार्यक्रम ल्याएर त्यसलाई अभियानका रूपमा लागू गर्नको साटो तिनलाई राजनीति र जागिरमा मात्र आरक्षणको व्यवस्था गरिएको छ ।

यसले योग्यता र क्षमताका ठाउँमा खाली सहभागिता र सङ्ख्यामात्र बढाउने भयो । त्यसैले आज पनि जातीय भेदभावका कुराहरू यत्रतत्र सुन्न-पढ्न पाइन्छन् । अलिखित भोगाइहरू त अझ धेरै होलान् । त्यसैले, जातभातको कुरालाई तलैदेखि निमिट्यान्न पार्न पनि हरेक परिवारमा कम से कम एकजना कर्मकाण्ड गराउन सक्ने ‘पण्डित’ तयार गर्नै पर्ने देखिन्छ । यसका लागि सानै कक्षादेखि अङ्ग्रेजीजसरी नै संस्कृत पनि पढाउने व्यवस्था किन गर्न सकिँदैन, जब कि संसारका धेरै विश्वविद्यालयमा सशुल्क संस्कृत भाषा पढाउने गरिएको छ ?

धर्मो रक्षति रक्षितः’ अर्थात् धर्म, संस्कार र संस्कृतिको रक्षा गर्नेवाला स्वयं धर्मबाट रक्षित हुन्छ भन्ने शास्त्रीय वचन पनि छ । यो कुरालाई मनन गर्दा, हामीले आफ्नो धार्मिक र जातीय पहिचानका लागि पनि सनातन धर्म, संस्कार र संस्कृतिको अनुशरण गर्नै परेको छ । हामी जतिसुकै आधुनिक, शिक्षित र नास्तिक होऊँ, हामीलाई यहाँ धर्मका नाममा गरिने कुनै पनि कार्य मन नपरोस् तर पनि हामी यो सनातनी अन्धविश्वासी समाजबाट टाढा रहनै सक्दैनौं ।

नयाँ विचारका साथ अरूलाई प्रभाव पार्न नसकिने अवस्थामा हामीले यो समाजका अगाडि ‘निहुरमुन्टी न’ हुनै पर्छ । लोकाचारका लागि भए पनि जन्मदेखि मृत्युसम्मका संस्कार गर्नै पर्छ । त्यसैले पनि यस्तो अनिवार्य र अकाट्य अवस्थामा कर्मकाण्ड गराउन जान्ने जनशक्ति घरघरै उत्पादन गर्नुपर्ने भएको छ । यस्तो भएमा मात्र माग र पूर्तिको सन्तुलनका साथ समाजमा ब्राह्मण वर्गमा मात्र सीमित ‘कर्मकाण्डी एकाधिकार’ बिस्तारै समाप्त भई समानताको स्थिति आउन सक्छ ।

संस्कृत वाङ्मय आयुर्वेद, ज्योतिष, गणित, नीति, दर्शन सबै कुराको भण्डार पनि हो । यसबाट जसले जे चाहन्छन् त्यो रोजी–रोजी लिन सक्छन् । तर त्यसका लागि संस्कृत भाषा जान्नै पर्ने हुन्छ । कोही पण्डित भई पुराण भनेर पैसा कमाऊलान्, कोही फलित ज्योतिषी भएर व्यवहार धान्लान् ।

तर हामीले चाहिँ दैनिक जीवनलाई सहज र मितव्ययी बनाउनुपरेको छ । भनिन्छ, शिक्षा भनेको जान्नु, बुझ्नु र सिक्नुमात्र होइन । यो भनेको त व्यवहार चलाउन जान्ने हुनु, व्यवहारोपयोगी बन्नु र सामाजिकीकरण हुनु पनि हो । त्यसैले यी कुरामा सबै नागरिकलाई सक्षम बनाउन पनि हाम्रो देशमा सानै कक्षादेखि संस्कृत शिक्षा अनिवार्य गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्