मरिण गाउँपालिकाद्वारा विद्यालयलाई बस प्रदान



सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले एक विद्यालयलाई स्कुल बस दिएको छ । गाउँपालिकाले वडा नं. ४ स्थित माध्यमिक विद्यालय खयरसाललाई स्कुल बस दिएको हो ।

आज (बुधवार) एक कार्यक्रमको आयोजना गरी मरिण गाउपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले वडा नं. ४ का वडाअध्यक्ष जित बहादुर काल्तान र विद्यालयका प्रधानाध्यापक रामबाबु थापालाई स्कुल बसको चाबि हस्तान्तरण गरेका हुन् ।

माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा संचालन गर्नका लागि गाउँपालिकाले कुल २६ लाख ४२ हजार बराबरको स्कुल बस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।

मावि खयरसालमा यसै आर्थिक बर्षदेखि गाउँपालिकाकै पहिलो आवासीय विद्यालय संचालन गर्नका लागि आर्थिक बर्ष २०७९।८० को बजेटमा ५ लाख बजेट विनियोजन गरिएको अधयक्ष मोक्तानले बताए ।

‘मावि खयरसाललाई गाउँपालिकाले यस अघिदेखि नै आवासीय विद्यालयको रुपमा संचालन गर्न तयारीहरु गरिरहेको थियो । सोही अनुसार अहिले हामीले आज बस दियौं । ५ लाख बजेट पनि छुट्याएका छौं । अन्य आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापनको काम पनि भईरहेको छ । यसै बर्षबाट आवासीय विद्यालय चल्छ,’ उनले भने ।

त्यस्तै गाउँपालिकाको वडा नं. ३ को बरुण, नक्कली, भालुमारा लगाएत विभिन्न विकट तथा टाडा टाडा गाउँबाट विद्यार्थीहरु हिँडेर पढ्न आउनुपर्ने बाध्यता हटाउनका लागि स्कुल बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । ‘वडा नं. ३,४ र ५ का विकट र धेरै ठाउँका विद्यार्थीहरु धेरै हिडेर आउनुपर्ने बाध्यता छ ।

अहिले विद्यार्थीहरु स्कुल आउन विहान ७ बजे नै हिड्नुपर्छ । बेलुका फर्किदा ७ बजेतिर घर पुग्छन् । त्यस कारण यस्ता समस्यामा रहेका विद्यार्थीहरुको सुविधाको लागि यो बस प्रदान गरिएको हो’ उनले भने । गाउँपालिकाको बस दिएसँगै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा उर्जा थप गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्