काभ्रेका चार उद्योगविरुद्ध अदालतमा मुद्दा दायर



काभ्रे ।

खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलान्चोकले जिल्ला अदालत काभ्रेपलान्चोकमा दर्ता भई उत्पादन गरिरहेका चार वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । अनुज्ञा पत्र नलिईकन उत्पादन गर्ने तथा दूषित सामाग्री उत्पादन गरी लेबल नराखी उत्पादन गर्ने उद्योगहरू विरुद्ध अघिल्लो आर्थिक वर्ष भित्र विभिन्न मितिमा मुद्दा दायर गरेको हो ।

मुद्दा दर्ता गरिएका उद्योगहरूमा बनेपा ८ मा रहेको ई भर फ्रेस बेकरी एन्ड फुड प्रोडक्टस, जेएम दाना उद्योग, बनेपा ८, तिमल्सिना प्याकेजीङ्ग एन्ड फुड प्रोडक्सट र चण्डेश्वरी स्पेशल ताजा गुदपाक रहेका छन् । ई भर फ्रेसले लेबल नराखी सामान विक्री गरेको अभियोगमा २०७९ वैशाख १२ गते मुद्दा दर्ता गरिएको छ भने दाना उद्योगले गाई भैँसीको दाना दूषित उत्पादन गरेको अभियोगमा २०७९ वैशाख २ गते मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै तिमल्सिना प्याकेजिङ्गले अनुज्ञा पत्र विना चिया उत्पादन गरी विक्री गरेको अभियोगमा २०७८ कार्तिक १७ गते मुद्दा दर्ता गरिएको छ भने गुदपाक भण्डारले पनि अनुज्ञा पत्र नलिई विक्री वितरण गरेको अभियोगमा २०७९ जेठ २६ गते मुद्दा दर्ता गरिएको छ । देशभरका १ सय १५ वटा उद्योगलाई विभिन्न जिल्ला अदालतमा प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने उक्त उद्योग विरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले गत आर्थिक वर्ष २०७८-७९ मा देशभरका ४ हजार १ सय २७ वटा उद्योगबाट उत्पादित नमुना परीक्षण गर्दा २ सय २४ वटा नमुना खान नमिल्ने पाइएको जानकारी दिएको छ । यीमध्ये १ सय १५ वटा उद्योगलाई भने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा नै दायर गरिएको हो । उद्योगहरूले खान अयोग्य तथा न्यून गुणस्तरका र अखाद्य वस्तु मिसावट गरेर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्