पानीमा समेत राजनीतिक हाबी



नेपालको आधाभन्दा बढी जनसंख्या शहरमा बसोबास गर्छन् । मानिसहरु विभिन्न सेवासुविधाको खोजीमा काठमाडौंमा आउँछन् । काठमाडौं हरेक कुरामा सुविधा सम्पन्न रहे तापनि यहाँ पानीको समस्या धेरै रहेको छ ।

पानी मानिसको त्यो आवश्यकता हो जुनविना बाँच्ने कल्पना पनि गर्न सकिँदैन । मानिसलाई जन्मिएदेखि मृत्युसम्म नै पानीको आवश्यकता पर्छ । मानिस नै होस् या जीवजन्तुहरु पानीविना आफ्नो जीवनयापन गर्न सक्दैनन् । मानिसलाई खानेदेखि हरेक कुरामा पानीको आवश्यकता पर्छ । पानी मानिस र जीवजन्तुहरुको त्यो आवश्यकता हो जुनविना बाँच्न र केही काम गर्ने सकिँदैन । तर पछिल्लो समयमा त नेपालमा पानीमाथि नै राजनिति र व्यापार भइरहेको छ ।

केही समयअघि वा ४० वर्षअघि उपत्यकाभित्रका खोलाहरुमा बग्ने पानी राम्रो र स्वच्छ थियो । त्यो पानी खानदेखि लिएर हरेक काम गर्नका लागि उचित थियो । त्यस्तै गरी उपत्यकाबाहिर रहेका खोला, नदीनाला, कुवा, कोशी, ताल, पोखरी आदिमा बग्ने पानी पनि एकदम स्वच्छ र राम्रो थियो । पानीका स्रोतहरुमा फोहोरमैला पनि मिसाएको हुँदैन थियो र पानी स्वास्थ्ययोग्य हुने गर्दथ्यो । त्यस बेला मानिसहरु पानीलाई गंगाजलको नाम दिने गर्थे ।
काठमाडौं नै होस् या कुनै जिल्लाको सदरमुकाममा ५ दशकअघिसम्म जनसंख्या निकै कम मात्र हुन्थ्यो ।

त्यस समयमा धेरै खेतीयोग्य जमिन, खुल्ला वातावरण, स्वच्छ हावापानी इत्यादि रहेको थियो । साथै जमिनभित्रबाट मूल फुटेर पानी धेरै नै बाहिर निस्कने पनि गर्दथ्यो । ढुंगेधारा, कुवा, तालपोखरी, आहालहरु पनि धेरै नै रहेकाले त्यस समयमा मानिसलाई पानीको समस्या थिएन ।मानिसहरु त्यस समयमा आफैँ ढुंगेधारा, मन्दिर, पाटीपौवा, चौतारहरु निर्माण गर्ने गर्थे र उनीहरु धर्म हुन्छ भनेर वरपीपलहरु रोेप्ने पनि गर्थे । मानिसहरु त्यस समयमा आफूलाई दुःख भए पनि अरुलाई वा आफ्नो भावी पुस्तालाई सुःख दिन चाहन्थे । मानिसहरु त्यस समयमा निकै सहयोगी भावनाका हुने गर्थे । अरुलाई दुःख र सुखमा हाँसी–हाँसी साथ दिने भावनाका हुने गर्थे । तर अहिले प्रविधिसँगै मानिसहरुको व्यवहारमा पनि परिवर्तन आइसकेको छ । अहिले मानिसहरु दुःखमा आत्तिने र सुखमा मात्तिने खालका छन् ।

त्यस समय र अहिलेका मानिसहरुबीच निकै भिन्नता पाइन्छ । पहिले मानिसहरु सहयोगी भावनाका थिए भने अहिलेका मानिसहरु कसैले पानी माग्दा पनि नदिने व्यवहारका छन् । पहिलाका मानिसहरुको मनमा मानवता थियो, जसले गर्दा उनीहरु सहयोगी भावनाका थिए तर अहिलेका मानिसहरुमा मानवता एक रुपियाँको पनि छैन । अहिलेका मानिसहरु कोही पाँच दिनदेखि भोकै छ भने पनि उसलाई केही दिने गर्दैनन् । मानिसहरु अहिले अरुलाई देखाउनका लागि ठूल्ठूला भोजहरु लगाउँछन् र खानेकुराहरु भाँडाका भाँडा फाल्ने गर्छन् तर दुःखी, गरिबलाई केही पनि दिँदैनन् । मानिसहरुले जमिनभित्रबाट मूल फुटेर पानी बाहिर आउने ठाउँमा सबै घर र बाटो बनाए । ढुंगेधारादेखि पाटीपौवासम्म सबै मासेर घर निर्माण गरे । त्यस्तै गरी खोला, नदीनाला, तालपोखरी, कोशी आदिमा बग्ने पानीमा पनि ढल तथा फोहोर मिलाएर प्रदूषित बनाए । घर र बाटोका कारण अकाशबाट परेको पानी जमिनमा जान पाएन ।

यसरी आकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा जमिन पनि सुख्खा हुँदै गइरहेको छ । इनार, ढुंगेधारा आदिमा आउने पानी पनि सबै सुकिसकेको छ । यसरी मूलबाट नै पानी आउन छोडेपछि पानीको हाकार प्रत्येक दिन बढिरहेको छ । यही मौका छोपेर पानी व्यापारीहरुले विभिन्न नामको कम्पनी स्थापना गरेका छन् । यस्ता कम्पनीहरुले जमिनभित्रको पानी बोरिङ गरेर वा खोलाहरुको पानी भरेर महँगो मूल्यमा बेचिरहेका छन् । यस्ता कम्पनीहरुले मानिसको स्वास्थ्यमा हानि पु¥याउने पानीलाई खानयोग्य छ भनेर बोतल तथा जारहरुमा भरेर बजारमा बेचिरहेका छन् ।
पानीमा सरकारले मूल्य निर्धारण गरेको छैन ।

पानी कम्पनी र ट्याङ्कर व्यवसायीहरुले आफूखुशी भाउ राखेर महँगोमा पानी बेची जनता ठगिरहेका छन् । साथै यस्ता व्यवसायहरुले सरकारलाई राजस्व पनि तिर्दैनन् । कुच्चिएको वा फोहोर जारमा यस्ता व्यापारीहरुले जनतालाई पानी बिक्री गरिरहेका छन् । पानी व्यापारीहरुले आफू कमाउन वा धनी हुन जनताको शरीरमाथि खेलबाड गरिरहेका छन् । यसरी जार तथा बोतलको पानी किनेर खाँदा कतिपयलाई झाडापखाला तथा अन्य रोगहरु देखा परिरहेको छ । सरकारले त्यस्ता पानी व्यवसायीहरुलाई अनुगमन गरी कारबाही गर्दैन । पानी व्यापारीहरुले राजनीतिक दललाई चन्दा दिएर, सदस्य लिएर जनताको स्वास्थ्यमाथि असर पु¥याइरहेका छन् ।

अब सरकारले आफ्नो आँखा खोल्न आवश्यक भइसकेको छ । बजारमा जार र मिनी वाटरको नाममा बेचिने पानी खानयोग्य रहेको छैन । मिनी वाटर तथा जारभित्र रहेको पानीमा कति फोहोर छ भनेर बाहिरबाट नै थाहा पाउन सकिन्छ । यसरी यस्तो फोहोर पानी पनि महँगो मूल्यमा किनेर खानुपर्ने बाध्यता जनतालाई छ । खुल्ला ठाउँ तथा ढुंगेधाराहरु नरहेकाले पानीको स्रोत कतै छैन, जसले गर्दा बाटोमा हिँड्दा तिर्खा लागेमा पानी खान पाइँदैन । भएका सबै पानीका स्रोतहरुमा मानिसहरुले नै फोहोर तथा ढल मिसाएका छन् । बाटोमा हिँड्दा तिर्खा लागेमा पैसा हुनेले त मिनी वाटर किनेर खान्छन् तर पैसा नहुनेले पानी पनि खान पाउँदैनन् ।

पानीका सबै स्रोतहरु मासिएको वा सुकेको कारणले गर्दा चराचुरुगी, गाईवस्तु तथा अन्य जनावरहरुले जति नै तिर्खा लागे पनि पानी खान पाउँदैनन् । उपत्यकाभित्र ६३४ वटा ढुंगेधाराहरु थिए तर ती सबै मासेर घर तथा बाटो निर्माण गरिएको छ । वडाका प्रतिनिधिहरुले पहिलाका ढुंगेधारा, पाटीपौवा, चौतारा, कुवा, पोखरी आदिको खोजी गरी पहिलाकै स्वरुपमा ल्याउने कुनै विचार गर्दैनन् । आफ्ना वडामा कतिवटा यस्ता सार्वजनिक सम्पत्तिहरु थिए भनी खोजी गरेर यिनीहरुको विकास गर्नुपर्ने देखिन्छ ।अहिले पानी नभएर मानिसहरुलाई जीवनयापन गर्न निकै कठिन भइरहेको छ । अकाशबाट परेको पानी जमिनभित्र जान नपाउँदा बाटोदेखि घरसम्म डुबानमा परेको छ । गाउँदेखि शहरसम्म जताततै घर नै घर बनेका छन् । पछिल्लो समय मानिसहरु घर बनाउने अनि भाडामा लगाउने काममा बढी संलग्न रहेका छन् । त्यसै गरी घरधनीहरु घर भाडामा त लगाउने तर भाडामा बस्नेलाई न पानी दिने, न कुनै सेवासुविधा नै दिने गर्दछन् ।

अहिले काठमाडौंदेखि लिएर हरेक क्षेत्रका मानिसहरु पानी नपाएर पीडित भएका छन् । घरधनीहरुले कोठा भाडामा लगाएपछि पानी त दिनुपर्ने हो नि । घरधनीलाई घरभाडाभन्दा पनि बढी त पानी किन्दा नै बढी पैसा तिर्नुपर्ने बाध्यता अहिले हरेक ठाउँका डेरावालको पहिले समस्याका रुपमा देखिन्छ ।
यसरी घरधनीहरु डेरामा बस्नेलाई पानीचाहिँ नदिने तर पैसाचाहिँ महिना–महिनामा लिने गर्दछन् । खानेपानी मन्त्रालय तथा खानेपानी विभाग पानी व्यापारीसँग कमिसन खाएर अहिले पनि मेलम्चीको पानी काठमाडौंमा ल्याउँदैन । मेलम्चीको पानी काठमाडौं आउँदा व्यापारीलाई घाटा हुन्छ भनेर खानेपानी मन्त्रीलाई व्यापारीले घूस दिएको सुनिन्छ ।

त्यसैले गर्दा अहिले पनि मेलम्चीको पानी काठमाडौंमा आउन सकेको छैन । यता जनता भने गुणस्तरहीन तथा प्रदूषित पानी पिउन बाध्य रहेका छन् । उता व्यापारी कमाउनमा नै व्यस्त रहेका छन् । के यिनीहरुले पानीजस्तो संवेदनशील चिजमा पनि राजनीति गर्न मिल्छ ? अबदेखि पैसा हुनेले मात्र पानी खान पाउँछन् र पैसा नहुनेले पानी नै नखाई मर्नुपर्ने दिन आइसकेको छ । पानी अहिले सेवा होइन व्यापारको रुपमा प्रयोग भइरहेको छ । सरकारले पानी त जनतालाई निःशुल्क दिन सक्दैन भने देशमा कसरी विकास गर्छ ?

हामी जनता पनि राजनीतिक दलहरुको झुटो भाषण र पानी व्यापारीको ठगीधन्दाको बारे विरोध गर्न सक्दैनौँ । अब जनतामा कहिले चेतना आउने हो र कहिलेसम्म सहेर बस्ने हो ? अझै पनि पानी व्यापारीहरुको यस्तो लुट र ठगको विरोधमा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने दिन आएको छैन । के सरकारभन्दा ठूला पानी व्यवसायीहरु हुन् ?

– रुसा अधिकारी ।

प्रतिक्रिया दिनुहोस्