स्वास्थ्य नै हाम्रो सबभन्दा ठूलो धन



शिशिल चित्रकार

स्वास्थ्य छ त सबै पाउन सकिन्छ तर स्वास्थ्य छैन भने अथवा बिरामी भएमा धन खर्च त हुने नै भयो, कमाउने लगायत अन्य कार्य गर्न पनि अक्षम अर्थात् नसक्ने भइन्छ । त्यसैले कमाउनभन्दा गुमाउन नदिने अर्थमा पनि स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकोमा शायद दुई मत नहोला ।

समाजमा विभिन्न थरीका व्यक्तिहरु भएभैmँ नानाथरीका रोगहरु पनि व्याप्त छ । कतिपय नागरिक रोगको कारणले दुःख र पीडामा अल्झिनुपरिरहेको आजको यथार्थ हो । यस्तो अवस्थामा विभिन्न प्रकारका रोगका निदानका तरिकाहरु पनि हुन्छन् भन्ने सर्वविदित नै छ । जे जस्तो भए पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम उपाय हो ।

यसमा पनि विभिन्न तौरतरिकाहरुमा आफ्नो तर्क–वितर्क हुन सक्छ । हाल प्रचलित एलोपेथी, होमियोपेथी, आयुर्वेद आदि फरक उपचार पद्धतिको सवालमा आ–आफ्ना मत–मतान्तर हुन सक्छन् । औषधि उपचार, आहार, विहार आदिमा फरक–फरक अवधारणा भए पनि केही आधारभूत मान्यतामा त खासै फरक नहुनुपर्ने लाग्छ । निद्रा, कब्जियत, आराम, चिन्ता, दैनिक जीवनचर्या र विचारको आधार नै रोगको कारण हुन् भन्नेमा त सबैको एकमत नै होला ।

यसबारे चर्चा गर्नुअघि एउटा कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु । ललितपुर जिल्लाको कोन्योसोम गाउँपालिका, दलचोकीमा अवस्थित निरोग आनन्दधाममा ‘दिशा बदले दषा सप्रिन्छ’ कार्यक्रम सञ्चालन भएको थियो । गत असार २६ गतेदेखि साउन २ गतेसम्म सञ्चालन भएको सो कार्यक्रममा म पनि संलग्न भएको थिएँ । सात रातसम्म आवासीय रुपमा त्यहीँ बसेको आधारमा केही लेख्न जमर्को गरेको हुँ ।
सातदोबाटोस्थित निरोगधाम प्रकृतिप्रेमी समूहले प्राकृतिक चिकित्सा विधि अनुरुप रोगको कारणमा अनुचित आहार, विहार र विचारको भूमिका अनि सोको निराकरणका लागि उचित आहार, विहार र विचारलाई केन्द्रित गरेर व्यक्तिलाई निरोगी एवं स्वस्थ बनाई सोको माध्यमबाट समाजसमेत स्वस्थ बनाउने लक्ष्य लिएको छ ।

तीव्र रोग, जीर्ण दीर्घरोग, घातक रोग गरी रोगलाई तीन प्रकारमा विभाजन गरिएको छ । सो अनुरुप तीव्र रोगमा (१) पखाला, (२) बान्ता, (३) रुघा, (४) ज्वरो र (५) घाउ–खटिरा पर्दछन् । यसलाई शुरुकै अवस्थामा निर्मूल नपारिएमा अन्य जीर्ण दीर्घरोग लाग्ने चर्चा गरेको पाउन सकिन्छ । सुगर, ब्लड प्रेसर, थाइराइड, मुटको रोग, बाथ आदि रोग तीव्र रोगको गलत उपचार पद्धतिबाट नै हुुने भएकोले व्यक्तिको सचेतता र उचित आहार, विहार र विचार नै रोग निदानको मूल आधार देखिन्छ ।

यस्तै कब्जियतको अवस्था भनेको दैनिक रुपमा दिसा राम्ररी खलास नहने अवस्था हो । कब्जियत अनि बढी मोटोपन (शारीरिक उचाइ र तौलको आधारमा हर्दा) हुनु आफैँमा रोगको लक्षण हो । यी कुराको साधारण व्याख्यादेखि खानाको मात्रा (घटी वा बढी) गर्नुपर्ने लगायतको सल्लाह–सुझाव यस निरोगधाममा दिइन्छ । गुणात्मक हिसाबले तीन भाग बराबर खाने सिद्धान्तबमोजिम एकभाग अन्न, एकभाग साग–तरकारी, एकभाग फलफूल–सलाद मिलाई खानुपर्ने व्यावहारिकता पनि यहाँ दर्शाइन्छ ।

यस्तै चपाई–चपाई खाना खाँदा हुने फाइदा, अन्यथा खानाको पोषक तत्व शरीरमा नजाने कुरादेखि सलादको फाइदाका बारेमा यहाँ जानकारी दिइन्छ । काँचो सलाद खाँदा दाँतलाई समेत फाइदा हुनेजस्ता उत्प्रेरक शिक्षा यहाँ दिइन्छ । यस निरोगधामको कार्यक्रममा खानाको अन्तराल कम्तीमा चार घन्टा हुनुपर्ने, खानाको एक घन्टा अघि–पछिमात्र पानी पिउन हुने चर्चासमेत गरिन्छ । यहाँ वर्जित खानाले निम्त्याउने विभिन्न रोगका बारेमा बताइन्छ । मुख्यतया माछा, मासु, अण्डा, दुुग्धपदार्थ, मैदाबाट बनेको खाना, नुुनिलो, चिल्लो, अमिलो र रोगबमोजिम गेडागुडी पनि खान नहुनेमा विशेष जोड दिएको पाइन्छ ।

सागपात बढी खानुपर्ने र त्यसैमा शरीरलाई चाहिने नुन, चिल्लोपनसमेत पाउने कुरामा विशेष चर्चा गरेको देखिन्छ ।यस्तै विहारअन्तर्गत दैनिक जीवनचर्यामा बिहान सबैरै उठ्नुपर्ने कुरालाई जोड दिइन्छ । व्यायामको आवश्यकताबारे चर्चा चर्चा गरिन्छ । बस्दा टाउको, ढाड र कम्मर सीधा एवं खुकलो गरी बस्नुपर्ने, इस्त्री लगाउँदा, गह्रुङ्गो सामान उठाउँदा हुनुपर्ने शारीरिक अवस्थाका बारेमा समेत जानकारी दिइन्छ । दैनिक योग, व्यायामको अभ्यासदेखि विभिन्न २४ वटा विन्दुहरुमा रेकी उपचारको माध्यमबाट दुखाइको उपचार आदि सिकाएको उक्त कार्यक्रमबाट सहभागीहरु निरोगी हुन मद्दत पुुग्ने अपेक्षा गर्न सकिन्छ ।

व्यक्तिहरुको सचेतना भनेको तीव्र रोगको सही निदान र अझ उक्त अवस्था आउन नदिन उचित आहार, विहार र विचारको तालमेलमा आवश्यक सचेतना अपनाउनु भन्ने नै उक्त शिविरको मूल शिक्षा हो । हुन पनि व्यक्तिको सक्षमता, दक्षताको मापदण्ड यही सजगतामा निर्भर भएकोमा शंका छैन । व्यक्तिको यही सक्षमता नै व्यक्ति स्वयको स्वस्थता मात्र नभई समाजमा समेत उचित योगदानमार्पmत समाज विकासको सही मार्ग पनि हुुने स्वतः सिद्ध छ । अतः कुनै पनि क्षेत्रको आ–आफ्नो जे–जस्तो लक्ष्य भए पनि व्यक्तिको स्वास्थ्य नै सर्वोत्तम र केन्द्रविन्दु मानी कार्य–आधार, नीति–कार्यक्रम बनाउन अति आवश्यक देखिन्छ । यसैबाट स्वच्छ समाजको आधार र वाञ्छित प्रतिफलको आशा गर्न सकिन्छ ।

(शिविरमा बसेको अनुभवको आधारमा तयार गरिएको लेख)

प्रतिक्रिया दिनुहोस्