शेयरमा लगानी गर्दा सचेत हौँ



काठमाडौँलगायत नेपालभरि नै नेपाली जनताले शेयरमा आफ्नो पुँजी धेरै नै लगानी गरेका छन् । नेपालमा करिब ५२ लाख जनताले शेयरमा लगानी गरेका छन् । यसरी शेयरमा आफ्नो पुँजी लगानी गर्ने लगानीकर्ताहरु एक दिन हाँस्छन् र एक दिन रुने गर्छन् । शेयर बढेको दिन उनीहरु खुशी भएर हाँस्छन् भने घटेको समयमा रुने गर्छन् । कतिपय शेयर लगानीकर्ताहरु शेयरको मूल्य घटेर डिप्रेसनमा पनि गएका छन् ।

यसरी जनता दिनप्रतिदिन डुबिरहँदा पनि सरकारले वास्ता गरेको छैन । जनता अहिले यही शेयरको खरिद बिक्रीका कारण सडकछाप अवस्थामा पुगेका छन् । त्यसकारण अब सरकारले शेयरमा नियन्त्रण गर्न जरुरी भइसकेको छ । शेयर दलालीहरुले आफू कमाउन र धनी हुनका लागि एक दिन शेयरको मूल्य बढाउने र एक दिन घटाउने गर्दछन् । यसरी उनीहरु आफू कमाउने र सर्वसाधारणलाई डुबाउने काम गरिरहेका छन् ।

पुँजी बजार २० जना शेयर दलालीको हातमा निहित रहेको छ । तर सीधासाधी जनताले बुझ्दै नबुझी शेयरमा आफ्नो पुँजी लगानी गर्दा आज पानीमा गएर डुब्नुजस्तो अवस्थामा पुगेका छन् । शेयर लगानीकर्ताहरुको घरपरिवारभित्र अहिले दिनहुँजस्तो झैझगडा हुने गर्छ । यता शेयरकै कारण कतिपय स्वास्नी र लाग्नेबीच छोडपत्रसमेत भइसकेको छ । शेयरमा लगानी गर्ने लगानीकर्ताहरु कर्जा तिर्न नसकेर भागिरहेका छन् । यसरी आमाबुबाहरु शेयरमा लगानी गरेर डुबेर भाग्दा बालबच्चाहरुको बिजोग हुने जटिल समस्या आइपरेको छ । आमाबुबाहरु भगेपछि बालबच्चाहरुको पालनपोषण, हेरचाह, पढाइलेखाइ आदिमा ठूलो नकारात्मक प्रभाव पर्नेजस्ता समस्या अहिले देख्नमा आइरहेको छ ।

अहिले शेयरको कारणले गर्दा मानिसहरुको जीवनस्तरमा नकारात्मक असर परिरहेको छ । यसले गर्दा ठूला मानिसहरुको त बिजोग भयो–भयो, साना बालबच्चाहरुको पनि बिजोग हुने अवस्था आइसकेको छ । शेयर दलालीहरुले अशिक्षित, सीधासाधी जनतालाई शेयरमा लगानी गर्दा धेरै नाफा हुने र छिटो नै पुँजीपति बन्नेजस्ता प्रलोभन देखाई लगानी गर्न लगाए । आज त्यही शेयरका कारण उनीहरु करोडपति नभई सडकपति पनि हुन नसक्ने अवस्थामा पुगेका छन् । एक कित्ताको १०० रुपियाँमा किनेर शेयर दलालीहरुले १००० देखि ४००० सम्ममा बेचे । यसरी यति धेरै पैसा हालेर शेयर किन्ने मानिसहरु अहिले डुबेर पुँजीपति नभई सडकछाप हुन पुगेका छन् ।

त्यति महँगोमा किनेको शेयर अहिले १०० रुपियाँमा बेच्छु भन्दा पनि बिक्री हुने गर्दैन । अहिले शेयर, घरजग्गा, गाडी आदि धितो राखेर कर्जा दिने बैंक तथा वित्तीय संस्थाहरु पनि डुबिसकेका छन् । यी वस्तुहरुको अहिले केही पनि भाउ छैन, जसले गर्दा यी वस्तुहरु अहिले गुन्द्रुकको भाउमा पनि बिक्री हुन गाह्रो भइसकेको छ ।अहिले बैंक तथा वित्तीय संस्थाहरु घाटामा गयो वा डुब्ने अवस्थामा पुग्यो भनेर बैंक तथा वित्तीय संस्थाहरुले आफैँ बताइरहेका छन् । यसरी यो कुरा जनतासमक्ष पुग्दा जनताले अहिले वित्तीय संस्थाहरुमा आफ्नो पुँजी बचत गर्न पनि छोडिसकेका छन् । त्यस्तै गरी सहकारीहरुले पनि अहिले ५००० हजार रुपियाँ फिर्ता दिन सक्दैन र बैंकले १ लाखको चेक साट्दैन भनेर मानिसहरुको गुनासो सुन्नमा आइसकेको छ ।

यी वित्तीय संस्थाहरुले अब कर्जा दिएर सेवाशुल्क लिने र कर्जा दिएर बढी नाफा कमाउने दिन गइसकेको छ । किनभने अब जनताले यी वित्तीय संस्थाहरु डुब्नेछन् र हामीले हाम्रो पुँजी यी संस्थाहरुमा राख्यौँ भनी हामी पनि डुब्नेछौँ भनेर यी संस्थाहरुमा विश्वास गर्न छोडिसकेका छन् । यसले गर्दा शेयरमा नराम्रो प्रभाव परेको छ ।यता हिजो शेयर दलाली, घरजग्गा दलाली र गाडी दलालीहरुले सीधासाधी जनतालाई फसाए । १०० रुपियाँ कित्ताको शेयर ४००० हजार रुपियाँमा बेचे । सरकारले ठाउँअनुसार निर्धारण गरेको एक आना जग्गाको १ लाख रुपियाँ हो तर जग्गा दलालीहरुले त्यही जग्गा जनतालाई ४० लाखमा घुमाएर बच्ने गरे । सरकारलाई भनीे जग्गाको नामसारी गर्दा १ लाखको मात्र राजस्व दिने गर्छन् । यस्ता दलालीहरुले गर्दा नै आज देशको अर्थतन्त्र धराशयी हुन पुगेको छ । देश अब केही समयपछि श्रीलंकाभन्दा पनि नाजुक हुनेछ ।

बैंक, फाइन्स तथा सहकारीहरुले महँगो ब्याज तथा सेवाशुल्क लिनका लागि घूस खाएर शेयर, घरजग्गा र गाडी धितोमा राखेर कर्जा दिए तर आज यस्तो नराम्रोसँग यी संस्थाहरु डुब्ने अवस्थामा पुगिसकेका छन् । यसरी यस्ता वित्तीय संस्थाहरु त डुबे–डुबे, अहिले कर्जा खाने मानिसहरु पनि डुबेर हाँस्नु कि मर्नु अवस्थामा पुगेका छन् । आज बैंक, फाइनान्स तथा सहकारीहरु डुबे भनेर मानिसहरु आफ्नो पैसा निकाल्न संस्थामा लाइन लागेर बसिरहेका छन् । यसले ती संस्थाको शेयरमा नकारात्मक प्रभाव पारेका छ ।

नेपालमा अहिले यस्तो आर्थिक संकट हुँदा पनि शेयरमा लगानी गर्ने दलालीहरुले शेयरको मूल्य फेरि पनि बढ्छ भनेर जनतालाई फसाइरहेका छन् । अब मानिसहरुसँग पैसा छैन, बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिँदैन भने कसरी शेयरको मूल्य फेरि पनि बढ्छ । अहिले शेयर खरिदबिक्री गर्ने भनेर हिँडेका र गफ गरेर बसेका मानिसहरु यत्तिकै भेटिन्छन् ।

अब घरजग्गा, गाडी र शेयरको मूल्य १० देखि १५ वर्षसम्म बढ्दैन भनी विज्ञहरुले भनेको सुनिन्छ । यी वस्तुहरुको मूल्य अहिलेभन्दा पनि झन् घट्ने अवस्थामा रहेको छ । अबको १ देखि २ वर्षसम्मको अवधिमा धेरै संस्थाहरु डुबेर भाग्नेछन् । अहिले नै कतिपय संस्थाहरु भागिसकेका छन् । यी संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई तलब दिन नसकेर वा कार्यालयको भाडा तिर्न नसकेर धमाधम आफ्नो शाखा बन्द गर्न शुरु गरिसकेका छन् ।
बैंक, फाइन्सबाट धितो राखेर कर्जा लिएका मानिसहरु किस्ता तिर्न नसकेर धितो छोड्दै धमाधम भाग्न शुरु गरिरहेका छन् । हिजो धितोको मूल्य बढेको अवस्थामा धितोको भ्यालसिन गरेर ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गरे तर आज त्यही धितोको भ्यालसिन गर्दा ती वस्तुहरुको मूल्य निकै घटेको छ । यता धितो लिलाम गरेर बिक्री गर्दा बैंक, फाइनान्सहरुले लगानी गरेको सावाँ र ब्याज उठ्दैन ।

त्यस्तै अर्कोतिर लोन लिएका मानिसले किस्ता तिर्न सकेका छैनन् भने यता शेयर, घरजग्गा तथा गाडी पनि खरिदबिक्री हुँदैन । अहिले बैंक, फाइनान्सहरुलाई भाग्नु कि बस्नु भइरहेको छ । बैंक, फाइनान्सहरुले धितो लिलाम गरेर धेरै सर्वसाधारण जनतालाई डुबाएर सुकुम्बासी बनाइदिए । तर अहिले भने यिनीहरु आफैँ भाग्नुपर्ने दिन आइसकेको छ । बूढाबूढीहरुले भन्थे, धैर्य गरेर बस्यो भने तलतिर बगेको खोला पनि फर्किन्छ । तर अहिले बैंक, फाइनान्सहरु कुन दिन भाग्छन् भन्ने केही ठेगान छैन ।अहिले हरेक नागरिकहरुको मनमा बैंक तथा वित्तीय संस्थाहरु डुब्छन् र यिनीहरु अब भाग्छन् भन्ने कुराको छाप बसिसकेको छ । बैंकहरुले अहिले नागरिकलाई १४ देखि १५ प्रतिशतसम्म ब्याज दिन्छु भन्दा पनि जनता आफ्नो पैसा राख्दैनन् ।

त्यस्तै गरी सहकारीहरुले १८ देखि २० प्रतिशत ब्याज दिन्छु भन्दा पनि जनता पैसा राख्न डराउँछन् । जनता यदि हामीले ब्याजको प्रलोभनमा परी आफ्नो पैसा राख्यौँ भने हामीले हाम्रो सावाँ पनि फिर्ता पाउँदैनौँ भनेर डराउँछन् । यस्तो अवस्थामा पनि शेयरको वा घरजग्गाहरुको मूल्य बढ्छ भनेर यी वस्तुहरु किन्नु भनेको आफैँले आफूलाई डुबाउनु हो ।अर्काको कुरामा आएर आफूले जीवनभर दुःखले कमाएको धन यस्तो समयमा यस्ता वस्तुहरुमा लगानी गर्नु भनेको डुब्नु हो । त्यसकारण दलालीहरुको कुरामा आएर शेयर तथा घरजग्गा किन्नबाट आफैँ सचेत रहौँ । नेपालमा अझै पनि आर्थिक संकट र तरलता आउँछ भन्ने कुरा अर्थविद्हरुबाट सुन्नमा आइरहेको छ ।
– कृष्ण थापा ।

प्रतिक्रिया दिनुहोस्