रूपातालमाथि बन्यो २ सय ६९ मिटर लामो पुल



कास्की ।

कास्कीको दोस्रो ठूलो ताल रूपातालमाथि पोखरा उपमहानगरपालिका–३१ को पचभैया र रूपा गाउँपालिका–६ को भंगरालाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । पुल बनेसँगै रूपा र लेखनाथलाई जोड्ने स्थानीयको वर्षौंदेखिको सपना पूरा भएको छ ।

तालमाथि झोलुङ्गे पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीयलाई आवत–जावतका लागि सहज र पोखरा आउन दुरी छोटो भएको छ । तालमाथिको पुलले पर्यटकको पनि ध्यान आकर्षण गर्ने स्थानीय बताउँछन् । तालभन्दा करिव ६०÷६५ मिटर माथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको मंगलबार गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात् मन्तव्य राख्दै उहाँले पुल विकास र समृद्धिको बाहक बनेर आएको बताउनुभएको थियो । ‘पचभैया, सिमलटुँडालगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने यो एउटा प्रयास हो, यो पोखरा र रूपा जोड्ने कनेक्टिङ रोड हो’, कोइराला भन्नुहुन्छ– ‘यसले आवत–जावतमा सहज त बनाउँछ नै सँगसँगै पर्यटकीय गतिविधि पनि बढाउँछ ।’

प्रदेश सरकार भएकै कारणले पुल बनेको दाबी गर्दै उहाँ भन्नुहुन्छ– ‘यस्ता क्षेत्र संघ सरकारको प्राथमिकतामा पर्दैन, स्थानीयले बनाउन सक्दैनन् । यो प्रदेश सरकार भएकैले सम्भव भएको हो ।’ प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म गरिरहेको भन्दै उहाँले व्यक्तिले गलत ग¥यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने पनि बताउनुभएको थियो ।

पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारी पनि थप्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी दामोदरभक्त थापाले पुल निर्माणसँगै पर्यटक बढ्ने आशा व्यक्त गर्नुभएको थियो । ‘पुलले दुई गाउँ र दुई ठाउँ मात्र जोडेन, बरु पचभैया आएका पर्यटक रूपा जानसक्ने भए’, उहाँको भनाइ छ– ‘पारि जामुनकुना पुगेका पर्यटक वारि माझीकुना, बेगनास, पचभैया आउन सक्ने भए ।’

बेगनास धार्मिक पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी, समाजसेवी वासुदेव लामिछाने, समाजसेवी दीनानाथ ढकाललगायतले पुलले पर्यटनमा सघाउने र यसैले स्थानीयको आय–आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।पुल निर्माण भए पनि त्यहाँ पुग्न कच्ची बाटो हिँड्नुपर्ने बाध्यता छ । तर, बाटो पनि चाँडै बन्ने प्रदेश सांसद कोइरालाले दाब िगर्नुभएको छ । ‘बाटोका लागि प्रदेश सरकारले ७५ लाख विनियोजन गरिसकेको छ भने पुल निर्माणबाट वचत भएको १५ लाख पनि बाटो निर्माणमै खर्चिनका लागि राखिएको छ’, उहाँ भन्नुहुन्छ– ‘बाटो बनाउन बजेटको अभाव छैन । यही आर्थिक वर्षमा बाटो बन्छ ।’

भंगारा पचभैया ट्रेल ब्रिज नामांकरण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपियाँमा बनेको हो । पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर छ । पुलको क्षमता प्रतिमिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले जनाउनुभयो ।पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एम-एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो ।

२०७६ साल जेठ २१ गते एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी निर्माण गर्ने भनिए पनि कोभिडका कारण पुलको लठ्ठा भारतको पञ्जावबाट नआउँदा २०७९ साल असार ३० गतेसम्मका लागि समय थप गरिएको थियो । थपिएको मिति सकिन ६ दिन बाँकी रहँदा गत असार २४ गते पुल निर्माण कम्पनीले पुल निर्माणको काम सकेको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर थापाले बताउनुभयो ।यसअघि तालले छुट्टिएका यी दुई ठाउँ पुल निर्माणपछि भौतिक रूपमा जोडिएका छन् । पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका थिए । टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्