सर्वनाममा सपना अनेक अनेक



नाटककार अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारिएको गीतिनाटक सपना अनेक अनेक लामो समयको अन्तरालपछि सर्वनाम नाटकघरमा मञ्चन भएको छ।

सर्वनामले चार दशकको इतिहासमा पहिलोपटक गीति नाटक मञ्चन गरेको हो। कवि गीता खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित गीति नाटकमा संगीतकार राजु सिंहको संगीत रहेको छ।

गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर विम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोशिस गरिएको निर्देशक अशेष मल्लले जानकारी गराए। ‘विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नाे देशको यादले रात दिन तड्पिरहेका हुन्छन्।

त्यो एउटा प्रतीक हो। चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ। आमा अर्थात् नेपाल आमा। आमाको त्यो विम्ब नै नाटकको सार हो’ उनले भने।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेक मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गरे।गीतिनाटकमा कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शँ–गूको अभिनय रहेको छ। बिहीबारदेखि मञ्चन शुरु भएको नाटक श्रावण २१ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्