चुनिखेल पुग्यो जेसुम यात्रा



कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको जेसुम यात्रा यसपटक बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा गरिएको छ। कार्यक्रममा कविले कविता वाचन गर्नुका साथै चित्रकारले चित्र कोरेका थिए।

रैथाने सभ्यता, कला, संस्कृति र सम्पदा प्रतिविम्बित कार्यक्रममा कवि तथा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, कवि तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, कविहरू श्याम श्रेष्ठ ‘संकल्प’, वासुदेव अधिकारी, स्नेह सायमी, बिना थिङ, राजु महत, त्रिवसा निरौला र लक्ष्मी गिरीलगायतले चुनिखेलको संस्कृति, रहनसहन, पराम्परा, स्थानीय मठमन्दिर र धार्मिकस्थलका बारेमा लेखिएको कविता वाचन गरे।

त्यसैगरी, कलाकारहरू एनबी गुरुङ, दीपेन्द्र बनेपाली, डिराम पाल्पाली, विनोदकुमार गुप्ता र डिबी राईले चुनिखेललाई चित्रकलाका माध्यमबाट कला पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले त्यहाँबाट देखिने बादलको दृश्य, आकाश, भिरपाखा, बस्ती, बोटविरुवा, रूख, मन्दिर, मन्दिरका घण्टी र धार्मिकस्थलका चित्र कोरेका थिए।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले ऐतिहासिक स्थान चुनिखेलको इतिहास अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिदए। अभियानका संयोजक तथा उपप्रमुख लामाले देशैभरिको संस्कृति र सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चार वर्षदेखि जेसुम यात्रा गरिँदै आएको बताइन्।

बूढानीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष टिकेशनारायण श्रेष्ठले जेसुम यात्रा अभियानले चुनिखेलको संस्कृति, सम्पदा र इतिहासका बारेमा प्रचार–प्रसार गर्न सहज हुने आश व्यक्त गरे। राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले रासस र जेसुम यात्राबीच सहकार्य गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्