असार सकियो, रोपाइँ भएन



बाँके ।

धान उत्पादनमा आत्म निर्भर रहेको बाँकेमा यो वर्ष खडेरी पर्ने सम्भावना बढेर गएको छ । असार सकेर साउन लाग्दा पनि जिल्लामा केवल ४६ प्रतिशतमात्रै रोपाइँ भएको छ । गत वर्ष यति बेलासम्ममा ९५ प्रतिशत रोपाइँ सकिसकेको थियो । बल्लतल्ल रोपिएको धान पनि सुकेको छ भने खेतमा धाँजा फाटेको छ ।

आकाशे पानीको भरमा रोपाइँ गर्ने बाँकेका किसानले यो वर्ष अहिलेसम्म धान रोप्नै पाएका छैनन् । धान रोपेका किसानले पनि मल हाल्न पाएका छैनन् । सिमसिमे पानीमा रोपिएको धानखेतमा धाँजा फाटेको छ ।मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताएका छन् । कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले मात्र धान रोपाइँ गरेका छन् ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले नेपाल समाचारपत्रसँगको कुराकानीमा साउनको ३ गतेसम्म आइपुग्दा मुश्किलले ४६ प्रतिशत रोपाई भएको बताउनुभयो । पानी नपरेकाले यो वर्ष खडेरी लाग्ने सम्भावना बढेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘धेरै किसानले रोप्न पाएका छैनन् । असारमा राखेको बिउ बुढो भइसकेको छ । अब पानी पर्दा रोपाइँ त हुन्छ । उत्पादन घट्छ ।’

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रति कठ्ठा उत्पादन डेढ क्विन्टल हाराहारीमा छ । यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चित भएको छ ।बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परे पनि रोपाइँ नै हुने गरी पानी परेको छैन । बाँकेमा गत वर्ष राम्रो रोपाइँ भएको थियो । कात्तिक पहिलो साता आएको बमौसमी वर्षाले ठूलो क्षति पु¥यायो । जसको क्षतिपूर्ति अहिलेसम्म किसानले पाएका छैनन् । गत वर्ष धान रोपियो, स्याहार्ने बेलामा बाढी आयो । यो वर्ष धान नै रोप्न पाइएको छैन ।
बाँकेको किसानको भविष्यसँग जोडिएको सिक्टा नहर सञ्चालनमा नआउँदासम्म किसानले यही नियति भोगिरहनु पर्नेभएको छ । सिक्टाले अहिले पूर्वी र पश्चिमी नहरबाट थोरैथोरै पानी छोडेको छ । सिक्टामा निर्माण शुरू भएको १७ वर्षमा १८ अर्ब ३५ करोड रुपियाँ खर्च भइसकेको बताइएको छ तर अहिलेसम्म निर्माण पूरा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्