जोगिन्दर पानवालाको गठबन्धन



जोगिन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले हरेक वर्षजस्तै यस वर्ष पनि गाईजात्रा पर्वलाई लक्षित गर्दै गाईजात्रे प्रस्तुति गठबन्धन बजारमा ल्याएका छन्।

उनको यो एल्बममा राजनीतिक गठबन्धनले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यवृद्धि, जनतामा देखिएको राजनीतिक दलप्रतिको नैराश्यता, युक्रेन र रसिया युद्धलगायतका देशको समसामायिक विषयमाथि कडा व्यंग्य प्रहार गरिएको छ। प्रहसन समेतसंगृहित हास्यव्यंग्य प्रस्तुतिमा फिल्म भैरेको गीत सान्ननीको गीतमाथि उनले प्यारोडी गीत बनाएका छन्।

प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई व्यङ्ग्यको विषय बनाएका छन्।

कलाकार रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको गठबन्धनको अडियो भिडियोमा रिजालका साथमा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेम शर्मा (पौडेल), सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्कालगायतले अभिनय गरेका छन्।

दुई दशकभन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित अडियो र भिडियो सामग्री तयार पार्दै आएका रिजालको गठबन्धन २०औं कोसेली हो। ‘पहिले यो पर्वमा थुप्रै व्यंङ्ग्य कोसेली आउँथ्यो, अहिले आउँदैन। परम्पराको निरन्तरताका लागि मैले भने नियमितरूपमा गाईजात्रे कोसेली ल्याइरहेको छु’ रिजाल भन्छन्।

प्रतिक्रिया दिनुहोस्