एनिमेसनमा पाँच करोड किन ? मेयरलाई सोध्नुस् !



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले ‘मेयर बालेन्द्र साहलाई सोध्नुस्’ भन्ने जवाफ दिएका छन् ।

मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन गर्नुभएको अधिकारीहरूको भनाइ छ । एउटै शीर्षकमा यतिधैरै बजेट व्यवस्था गरेकोमा महानगरका कर्मचारी अचम्मित भएका छन् ।अधिकांश उच्च तहका कर्मचारीलाई यो बजेट केका लागि हो भन्ने जानकारी भएको पनि पाइएन । असार २४ गते पारित भएको बजेटमा यो शीर्षक मेयर साहले सुटुक्क घुसाउनुभएको उनीहरूको भनाइ छ ।

मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको यातायात प्रविधि उपक्षेत्रमा यो विषय समावेश गरिएको छ । बजेट तथा कार्यक्रमका १२७१ नम्बरको बुँदामा उक्त विषय समावेश गरिएको छ । बजेट छलफल हुँदा यो विषय समावेश भएको थिएन, अकस्मात बजेटमा उल्लेख भएर आयो–कामपका उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

कामपा सूचना प्रविधि विभागका निर्देशक नमराज ढकालले एनिमेसन शीर्षकमा बजेट व्यवस्था भएको छ, भन्ने जानकारीमा आएको छ, नियमअनुसार नै खर्च हुनेगरी बजेटको व्यवस्था भएको हो भन्नुभयो । कामपा सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले सबै विभागको छोटो थ्रिडी डकुमेन्ट्री तयार गरी प्रसारण गर्न बजेट व्यवस्था भएको हुनसक्ने दाबी गर्नुभयो, भन्नुभयो– ‘कामपाले सो शीर्षकको बजेट सबै विभागअन्तर्गतको छोटो थ्रिडी भिडियो निर्माण गर्नको लागि हुनसक्ने मेरो अनुमान छ ।’

चुनावी प्रचारको क्रममा मेयर साहले निर्वाचन प्रचार गर्न सामाजिक सञ्जालको भरपुर प्रयोग गर्नुुभएको थियो । सूचना प्रविधिमा पोख्त युवालाई काम दिन सो बजेट व्यवस्थापन गरेको हुनसक्ने कर्मचारीको अनुमान छ । यस विषयमा मेयर साहको स्वकीय सचिव भूपदेव शाहसँग सम्पर्क गर्दा बुझेर जानकारी दिन्छु भन्नुभएको थियो । तर, आइतबार र सोमबार दिनभर फोन गर्दा पनि उठाउनुभएन ।

मेयर साहले एकलौटी बजेट व्यवस्था गरेका केही शीर्षकको बारेमा अधिकांशलाई जानकारी नै हुँदैन । मेयर साहले एनिमेसन भिडियो शीर्षकमा के गर्न यतिधेरै बजेट व्यवस्थापन गर्न खोज्नुभयो भन्ने विषयमा अधिकांश आश्चर्य चकित छन् । उनीहरूले भन्ने गरेका छन्, यो शीर्षकमा किन यतिधेरै बजेट किन आवश्यक प-यो ? मेयरले कार्यपालिकालाई प्रष्ट पार्नुपर्छ ।

मेयर साहले सूचना प्रविधि विभागअन्तर्गत डाटा सेन्टर पूर्वाधार खरिद गर्न २ करोड, कार्यपालिका नगरसभालगायतका महत्वपूर्ण बैठक तथा कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न ३० लाख, २ सय थान बायोमेट्रिक डिभाइस खरिद गर्न १२ करोड, रेडियो तथा सूचना सञ्चार भवन निर्माण गर्न (बहुवर्षीय) २० करोड रुपियाँ छुट्याइएको छ ।

कामपाले सूचना तथा प्रविधि विभागअन्तर्गत ५८ वटा शीर्षकमा बजेट विनियोजन गर्ने जनाएको छ । सो शीर्षकमा डाटा सेन्टर, सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्न, अन्तरिक्ष र भूउपग्रहबारे अध्ययन गर्न १ करोड, गीत संगीत रोयल्टी तथा स्रष्टा सम्मान गर्न १० लाख रुपियाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्