कलाकारको बौद्धिक संरक्षण हुन सकेको छैन : रामचन्द्र काफ्ले



लोकप्रिय गायक रामचन्द्र काफ्ले दुई दशकदेखि संगीत क्षेत्रमा सक्रिय छन्। हिउँचुलीमा, आन्दोलन नगर माया पाउनलाई, फेवातालमा साइँली, धौलागिरि, वार्ता गराइदेउ, पानी पानी, जोमसोम पारी, इमेल इन्टरनेटमा मायाजाल, वन चौरी, ए ठूलीसम्मका बहुचर्चित गीतका गायक काप्mलेले करिब ३५ सय गीतमा स्वर भरेका छन्। लोकगीतका लागि समेत उत्तिकै चर्चित उनले देउडा ,लोक पप, फिल्मीलगायतका विभिन्न विधाका गीत गाउँदै आएका छन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

– रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

भर्खरै मात्र ए ठूली बोलको गीत बजारमा आएको छ। श्रीकृष्ण बम मल्लको शब्द संगीत रहेको गीतमा गायकको रूपमा गाउने मात्र भन्दा पनि रेकर्डिङदेखि भिडियो निर्माणसम्ममा पनि उत्तिकै मेहनत गरिएको छ। नायक पुष्प खड्कालगायत अन्य कलाकारको साथमा आफैंले पनि अभिनय गरेको छु, त्यसबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छु। जुनु (गायिका पत्नी) र मैले छिट्टै चुडी छमछम बोलको गीत ल्याउँदैछौं। विशेषगरी कर्णालीमा लोकप्रिय यो भाकालाई हुड्क्यौली पनि भनिन्छ। हामीले पहिले नै गाएको यो गीतलाई नयाँ पुस्तामाझ पनि चिनाऔं भन्ने हिसाबले फेरि गाएर ल्याउन लागेका हाैँ।

पछिल्ला गीतको भिडियोमा पनि आफँ देखिन थाल्नुभएको छ नि?

पहिलेका गीतका भिडियोमा गायकको रूपमा देखिँदा धेरैले आफैं खेल्दा सुहाउँछ भन्नुहुन्थ्यो। त्यसैले, आफैँले पनि गरौँ न त भनेर खेल्न थालेको हँ । हुन त पहिले पहिले पनि गायकको रूपमा धेरै गीतको भिडियोमा देखिएको थिएँ । अरुका गीतमा पनि अभिनय गर्नलाई अफर आउँथे। त्यो बेला भ्याउँदिनथें, अरुको एलबममा गीत गाउने क्रममा गायकको पनि सिन राख्नुप¥यो भनेर बोलाउनुहुन्थ्यो अनि विभिन्न कपडा लगाइदिएर राम्रो आओस् नआओस् मलाई भिडियोमा राखिदिन्थे। सुटिङमा नजाऊँ भने पनि उहाँहरू रिसाउने, हतारमा काम गर्दा नराम्रो देखिने भएकाले कतिपय गीतमा आफूलाई हेर्दा चित्त दुख्थ्यो। त्यसपछि, त्यसरी भिडियोमा देखिन छोडे । हिजोआज चाहिँ आफ्ना गीतमा गायनको मात्र नभई अभिनयको पक्षमा पनि ध्यान दिएर मेहनतका साथ काम गर्ने गरेको छु।

रियाज कत्तिको गर्नुहुन्छ?

पूर्वीय संगीतअनुसार रियाज निकै आवश्यक छ। तर, संगीतको व्यवसायिक पाटो अर्कै छ। गाउँदाखेरी सुर बेसुर के छ भन्ने त जसलाई पनि थाहा भइहाल्छ। गीत गाउँदा जुन प्रकारको गीत गाउने हो, त्यसका लागि त्यही खालको गीत गुनगुनाउनुपर्छ। गीतअनुुसार रियाज गरिन्छ।

पछिल्लो समय सक्रियता घटेको हो?

म फ्रिल्यान्सर हुँ । फिल्म तथा अरूको एल्बमको गीत पारिश्रमिक लिएर गाउने गर्छु। तर, पछिल्लो समय पारिश्रमिक लिएर एल्बममा गीत गाउने र संगीतकारले गीत गाउन दिने माहोल छैन। पहिलेजस्तो कार्यक्रम पनि भइरहेको छैन। यसैले, अहिले आफैँले केही गीत ल्याइरहेको छु। ल्याउने क्रम जारी छ।

कुन विधाको गीत गाउँदा सहज लाग्छ?

लोक गीत गाउनु भनेको केही होइन, आधुनिक गीत गाउँदाचाहिँ वाहवाही पाइन्छ। रक तथा हिपहप गाउँदा मोर्डन भइन्छ भन्ने खालको त्यति ढोंगी म छैन। सबै खालको गीतमा आफ्नै प्रकारको दम हुन्छ। कुनै पनि गीतको कम्पोजिसन राम्रो छ भने त्यो गीत आफैँ राम्रो हुन्छ। गीत गाउँदा सरल र प्रजेन्टेसन पनि सरल भएमा त्यो गीत मिठो बन्छ। एउटा गायकले मेचीदेखि महाकालीसम्मको गीत सरल तरिकाले गाउन सक्नुपर्छ। हुन त नेपालमा ठाउँ अनुसार गाइने गीतमा ठाउँ अनुसारको फरक लय हुन्छ। यी सब लोक गीत नेपाली हुन्। यो गीत र त्यो गीतभन्दा पनि विदेशीले सुन्दा अन्य देशको जस्तो नलाग्ने टिपिकल नेपाली गीत भन्ने हुुनुपर्छ। तर, हामीले यो विधा त्यो विधा भन्नु गलत प्रवृत्ति हो। गीत संगीत सुहाउँदो, फरक खालको र मौलिकता हुनुपर्छ। भारतमा सुफीलाई पनि लोक गीत मान्छन्। त्योअनुसार हेर्ने हो भने नारायणगोपालले गाएको गीतलाई लोक गीत मान्नुपर्छ। समग्रमा हाम्रो गीतलाई नेपाली गीत भनेर चिनाउनुपर्छ।

सांगीतिक माहोलमा के–कस्तो परिवर्तन पाउनुभएको छ?

पहिले कम्पनी हुन्थे। त्यहाँ बोर्डबाट सेन्सर पास गरेर मात्र गाउन पाइन्थ्यो। सीडी क्यासेटको जमाना भएकाले गीति संग्रह निकाल्ने चलन थियो। अहिले त्यो अवस्था छैन। एउटा मात्र गीत निकाल्ने चलन छ। पहिले म्युजिक कम्पनीको ठूलाठूला अफिस हुन्थे। अहिले गीत–संगीत कम्पनी गोजी र झोलामा छन्। प्रविधिको विकासलाई पनि स्विकार्नुपर्ने रहेछ। त्यसैले, अहिले अटो ट्युनको प्रयोग गरी कुनै पनि व्यक्तिलाई गायकजस्तो बनाइन्छ। पहिले धेरै संघर्ष गरेर सिकेर आइन्थ्यो भने अहिले गायकले पनि गीत गाएका छन्, गैरगायकले पनि गाएका छन्। गायन क्षेत्रमा क्राइटेरिया छैन र कलाकारको बौद्धिक संरक्ष्ँण पनि हुन सकेको छैन। यसले गर्दा संघर्ष र मेहनत गरेर आएका असली गायक–गायिकाबीच खैलाबैला मच्चिएको छ। पहिलेजस्तै कम्पनी नाफामा जाने र असली सर्जकचाहिँ दुःखमै देख्छु।

पहिले कमसेकम क्यासेट बिक्री भएको आधारमा रोयल्टी पाउने गरिन्थ्यो। अहिलको डिजिटल बजारमा त्यो अवस्था पनि निकै कम छ। अहिले मेला महोत्सव पनि निकै कम भएकाले अवस्था निराशाजनक नै देख्छु । हाल गायन रियालिटी शोको नाममा नयाँ कलाकारका लागि यो क्षेत्र नै ठीक होइन कि भन्ने जस्तो अवस्था सिर्जना भएका छन्। शोको उपाधि जित्न भोटका लागि लाखाँ खर्च गर्न लगाइएको छ। उपाधि जित्नेको पनि नाम मात्र छ। कमाउने र उनीहरूले जित्नको लागि गरेको लगानी उठ्ने अवस्था छैन। उत्कृष्ट १० भित्र परेर भोटका लागि लाखौँ खर्च गरेकाका लागि झन् पीडादायी अवस्था छ, केही व्यक्तिको व्यावसायिक उद्देश्यका लागि संगीतलाई यसरी प्रयोग गरिनुहुन्न जस्तो लाग्छ। नैराश्यजनक संगीत क्षेत्रको अवस्थाका कारण अहिले धेरै वर्ष संगीत क्षेत्रमा बिताएका कलाकार पनि विदेसिएका छन्।

अहिलेका पुस्तासँगै प्रतिस्पर्धा गर्दै अघि बढ्नु कतिको चुनौतीपूर्ण छ?

अहिलेको पुस्तासँग त हामीले के नै प्रतिस्पर्धा गर्ने हो र? हाम्रो गुरु शिष्य परम्परामा जहिले पनि नया पुस्तालाई स्वागत गर्ने परम्परा हो। नयाँ पुस्तालाई हामीले रोक्न सक्दैनौँ। समयसँगै नयाँ पुस्ता आउनु पनि पर्छ। उनीहरूसँग पनि कम्पिटिसन त छ। तर, हेल्दी कम्पिटिसन हुनुपर्छ। संगीत क्षेत्रमै २०-२५ वर्ष बिताएका हामीसँग पक्कै पनि संगीत क्षेत्रबारे ज्ञान र अनुभव हुन्छ नै। हामीले उनीहरूलाई बेला–बेला सल्लाह सुझाव दिइरहनुपर्छ। नयाँसँगै हातेमालो गरेर अघि बढ्नुपर्छ।

नयाँ पुस्तालाई सुझाव?

संगीतको शिक्षा लिएर आउनुपर्छ। ढिला भएर केही हुँदैन। जति ढिला आयो आफूमा त्यही अनुसारका निखारता आउँछ। छिट्टै आउनेहरू छिट्टै जान्छन् पनि। लामो समयसम्म टिकिरहन मेहनत गरेर आउनुपर्छ। दुःख कष्ट भन्ने कुरा आइरहन्छन्, धैर्य राखिरहनुपर्छ। एकदिन राम्रो दिन आउँछ।

व्यापार व्यवसायमा पनि हुनुहुन्छ नि?

अहिले मेरो फार्म छ। गाई, बाख्रा र बंगुरपालन गरिरहेको छु, घाँसको खेती गरिरहेको छु। प्लटिङ गरेर खाली रहेका जग्गा लिएर उत्पादन गरिरहेको छु। गायकले यो पनि गर्न नहुने, त्यो पनि गर्न नहुने पसल थाप्न पनि नहुने, के गर्ने त भन्दा फार्म सुरु गर्छु भनेर लागेको हो। मैले सुरु गरेपछि छिमेकीलगायत वरपरका मानिसलाई पनि गायकले त गरिरहेको छ हामीले गर्दा किन हुँदैन भन्ने म्यासेज जाओस भन्ने हिसाबले पनि यो व्यवसाय सुरु गरेको हँ।

ख्याती कमाइसकेका गायक–गायिकाले पनि अन्य व्यवसायमा आबद्ध हुनुपर्ने अवस्था छ है?

सबैको एउटा समय हुन्छ नाम र दाम कमाउने। समय कसैको एक दुई वर्ष होला, कसैको दशौं वर्ष होला। लता मङ्गेसकरले मर्ने बेलासम्म गीत गाउनुभयो। उचाइमा पुगिसकेको मान्छे त्यहाँबाट झर्न चाहँदैन, तर झर्नुपर्ने बाध्यता छ। गीत–संगीतमा रमाइरहेको मान्छे अर्को व्यावसायमा जान चाहँदैन। यदि, गयो भने उसले त्यहाँजिरोबाट सुुरु गर्नुपर्ने हुन्छ। जसले गीत–संगीत नै भनेर हिँड्यो, उसले अर्को काम जानेको हुँदैन। पैसा कमाए पनि उ त्यो कामबाट भित्रदेखि सन्तुष्ट हुन सक्दैन। विदेशतिर हो भने एउटा गीत गाएपछि उसको नातिसम्मलाई पुग्छ। तर, नेपालमा त्यस्तो अवस्था छैन। नाम र कुनै बेला दाम कमाए पनि सधैँ त्यो अवस्था रहिरहँदैन। मेरो कुरा गर्दा दुई वर्ष अघिसम्म कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो। तर, कोभिड सुरु भएपछि सबै बन्द भयो। संगीत क्षेत्र पहिले जस्तो रहेन। दुई वर्षसम्म जेलमा बसेजस्तै भयो। युट्युब, मिडिया, प्रविधि मैले जानिनँ कि, संगीतमा खर्च गर्दा पनि लगानी उठ्न गाहैो खर्च मात्र हुने भएपछि बाँकी रहेको पैसा गीत संगीतभन्दा उत्पादनमा लगाअँैँ भनेर व्यवसायमा लागाएको हो।

दुवैजना गायन क्षेत्रमा हुँदा कतिको सजिलो हुने रहेछ?

वास्तवमा, मैले बिहे गर्छु भन्ने सोचेको थिइन। तर, विवाह भयो त्यो पनि संगीत क्षेत्रकैसँग विवाह भयो। एउटै क्षेत्र भएपछि रमाइलो र सहज हुने रहेछ। गीत–संगीत सम्बन्धी सर–सल्लाह र सिर्जना गर्न पनि सजिलो हुने रहेछ। कोरोनाको समयमा हामीले घरमा बसेर धेरै गीत–संगीत सिर्जना ग-र्यौ। संयोगवस छोराको जन्म भएको केही महिनापछि लकडाउन सुरु भएको थियो र हामी दुवै जनाले सन्तानलाई समय दिन सक्यौँ। लाइफ टोटल्ली चेन्ज भएको थियो। लामो समय परिवारसँग बिताउन पाइयो, ससुराली टाढा (विराटनगर) भएकाले धेरै गएको थिइन। लकडाउनमा पाँच महिना जति बसियो।

अबको योजना के छ?

गीत–संगीत र व्यवसाय पनि छँदै छ। साथै, मेरो मिसेसलाई अभिनयतिर पनि राम्रो गर्ने भएकाले टेलिसिरियल निर्माण गर्ने र आफ्नै युट्युब च्यानलमार्फत प्रसारण गर्ने भन्ने प्लान गरेको छु। हामीले फार्मबाट कमाएको पैसा फेरि कला क्षेत्रमै लगाउने भन्ने सोचले यो निर्णय गरेका हौँ ।

प्रतिक्रिया दिनुहोस्