असिना र रोगका कारण काक्रोेको बीउ उत्पादन आधा



पर्वत।

सुन फलाउने खेतको उपमा पाएको पर्वतको पाङराङमा काक्रोको बीउ उत्पादन यस बर्ष आधा घटेको छ । फलेबास नगरपालिका वडा नं ११ पाङराङमा रोग र असिनाको प्रकोपका कारण बीउ उत्पादन ४० प्रतिशत भन्दा बढीले कमि आएको हो । अघिल्ला बर्षहरुमा एउटै गाउँको काक्रोको बीउबाट डेढ करोड भन्दा बढी रकम भित्रिने गरेको थियो ।

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा कुल सात टन काँक्राको बीउ तयार भएकोमा यस वर्ष घटेर चार टन एक क्विन्टल मात्र उत्पादन भएको छ। प्रति किलो तीन हजार रुपैयाँको दरमा गत वर्ष दुई करोड १० लाखको बीउ उत्पादन भएकोमा यो वर्ष एक करोड २३ लाखको मात्रै उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४१.४२ प्रतिशतले कमी आएको उहाँको भनाई छ ।

नारायणस्थान बीउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ५० क्विन्टल बीउ उत्पादन गरेकोमा यस वर्ष चार क्विन्टल मात्रै उत्पादन गर्न सकेको छ। समूहमा आबद्ध ७२ जना कृषकहरुाई असिनाको क्षतिले चिन्तित बनाएको छ। अघिल्लो वर्ष डेढ करोडको बीउ उत्पादन गरेका उनीहरु यस वर्ष १२ लाख मात्र आम्दानी भएको कृषक माया पाठकले बताउनुभयो । कृषक पाठकले दुई बर्ष अघि १ सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गर्दा ४ लाख रुपैया सम्म कमाई भएको थियो । ‘चैतमा परेको असिनाले लगाएको सबै काक्रो सखाप बनाईदियो।’ कृषक पाठकले भन्नुभयो ‘यस बर्ष त हरियो र बीउ काक्रो बिक्रीबाट दुई रुपैया आम्दानी गर्न पनि सकिएन।’ काक्रोको बीउको मुल्य प्रतिकिलो २ हजार भन्दा बढी पर्छ ।

काक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने यहाँ उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाब पनि छैन । नेपालमा ७ टन भक्तपुर लोकल जातको काक्रोको बीउको माग छ । मुलुकभरको माग मध्ये एउटै गाउँले ५ टन उत्पादन गर्दै आएको थियो । ‘नेपालभर माग हुने बीउँको दुई तिहाई भन्दा बढी हिस्सा एउटा गाउँले नै पुरा गर्दै आएका थियौ’ कृषक बाबुराम भुसालले भन्नुभयो ‘यस बर्ष असिनाका कारण उत्पादन आधा पनि भएन ।’

कृषकहरुले काक्रोको बीउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा ७ लाख ५० हजार रुपैया सम्म एउटा घरमा भित्रने गरेको थियो । माघ महिनामा काक्रो रोपे देखि जेठमा बीउ निकाल्ने ५ महिनामा एउटै परिवारले ७ लाख सम्म भित्र्याउन सकेका थिए ।

पाङराङमा मात्रै होइन जलजला गाउँपालिका–७ धाइरिङमा पनि असिना र रोगले काक्रोको बीउ उत्पादनमा कमी आएकोछ । सल्यानका एकनारायण पौडेलले पनि विगतका वर्षहरुमा तीन क्विन्टलसम्म काँक्राको बीउ उत्पादन गर्ने गरेकोमा यस वर्ष एक क्विन्टल भन्दा कम भएको बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्