वैदेशिक रोजगारीबाट फर्किएर तरकारी खेतीमा रमाउँदै घिमिरे



म्याग्दी ।

स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशिएका युवाहरु अहिले गाउँ फर्किएर व्यावसायिक कृषि खेतीमा रमाउन थालेका छन् । हिमाली जिल्ला म्याग्दीका युवाहरुले रोजगारको सिलसिलामा खाडी मुलुक पुगेर फर्किएपछि व्यवसायिक रुपमा कृषि पेशा सुरु गरेका हुन् ।

पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका युवाहरु कृषि, पशुपालन, तरकारी, माछापालन, सुन्तलाजात फलफूल र टनेलमा गोलभेँडा खेतीमा संलग्न भएका छन् । विदेशभन्दा आफ्नै देशमा कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सकिने युवाहरुसँग अनुभव छ । कृषि पेशामा लाग्ने युवाहरु कोही विदेशबाट फर्किएका र कोही विदेश जान छाडेकाहरु छन् ।

विदेशबाट फर्किनेमध्येका एक हुनुहुन्छ, बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित आम्बोटका हरिलाल घिमिरे । उहाँ वैदेशिक रोजगारीको सिलसिलामा ईन्डिया र खाडी मुलुक गरी १० वर्ष बसेर गाउँ फर्किएपछि अहिले व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको हो । उहाँले २०५८ सालदेखि ०६८ सालसम्म साउदीअरब र यसअघि ५ वर्ष ईन्डियामा काम गर्नुभएको थियो । साउदीमा तरकारी खेतीको चौकीदार, कम्पनी, एअरपोर्टको ग्यारेज, कुखुरा काट्ने र गाईफर्ममा काम गर्नुभएका घिमिरेले ईन्डिया हुँदा कम्पनीमा सेक्युरिटी गार्ड बन्नुभएको थियो ।

आम्बोटका घिमिरेले गाउँ फर्किएपछि आफ्नै ८ रोपनीको जग्गामा तरकारी खेती सुरु गरेकोमा साढे ३ रोपनीको जग्गामा गोलभेँडा खेती गर्नुभएको छ भने २ रोपनीमा काँक्राको व्यावसायिक खेती गर्नुभएको छ ।

यसैगरी २ रोपनीको जग्गामा हजारिया जातको केरा खेती गर्नुभएका उहाँले साढे १ रोपनीमा खुर्सानी, रामतोरिया (चिप्लेभेँडा), भन्टाको खेती गरेको जानकारी दिनुभयो । मौसमी तथा बेमौसमी तरकारीको खेती गरेकोमा घिमिरेले हिउँदको समयमा बन्दा, काउली, गोबी लगाउनुहुन्छ भने वर्षामा टनेलभित्र गोलभेँडा, काँक्रो, सिमीलगायत तरकारी र फलफुलको खेती गरेको बताउनुभयो ।

कृषक घिमिरेले १८ फिट लम्बाई र १२ फिट चौडाइको दुईवटा टनेलमा गोलभेँडा खेती गर्नुभएको छ । कमला कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सञ्चालन गर्नुभएका उहाँले अहिलेसम्म सरकारी अनुदानको नाममा कृषि ज्ञान केन्द्र म्याग्दीबाट तीनवटा प्लाष्टिकका टनेल मात्रै पाएको बताउनुभयो । उहाँले सरकारी अनुदानप्रति गुनासो गर्दै भन्नुभयो, ‘हामी खास कृषकलाई त कार्यालयमा गएर अनुदान ल्याउने फुर्सद नै छैन । तर यहाँ सामान्य कृषकले मात्रै पटकपटक अनुदान पाएका छन् ।’ सरकारी अनुदान पाउनेले राम्रोसँग कृषि खेती गर्न नसकेको उहाँको भनाइ छ ।

वार्षिक डेढलाख रुपैयाँ लगानी गरेर कृषि खेती गरेकोमा घिमिरेले गोलभेँडाको मात्रै ४ हजार विरुवा लगाउनुभएको छ । उहाँले वर्षमा केरा खेतीबाट एकलाख, बन्दा–काउली बिक्री गरेर ६० हजार, गोलभेँडाबाट तीनलाख, खुर्सानी, चिप्लेभेँडा, भन्टा बिक्रीबाट ५० हजार, सुन्तला बिक्री गरेर २५ हजार र कागती बेचेर एकलाख गरी कुल सातलाख रुपैयाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

व्यावसायिक तरकारी खेतीबाट प्राप्त आम्दानीले घरखर्च चलाउन, केटाकेटीलाई पढाउन, कृषि खेतीमा लगानी गर्न र केही रकम वित्तीय संस्थामा बचत गर्ने गरेको कृषक घिमिरेले बताउनुभयो । उहाँले विदेशमा कमाएको देखिए पनि स्वदेशमा कमाएको बचाउन गाह्रो हुने गरेको अनुभव पनि सुनाउनुभयो । झण्डै एक दशकदेखि कृषि पेशामा संलग्न घिमिरेले स्वदेशमा जति धेरै दुःख गरेर कमाएको भए पनि त्यो नदेखिने गरेको गुनासो गर्नुभयो । स्वदेशमै कृषि पेशा, व्यवसाय गर्ने कृषकहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

विदेशबाट फर्किएका युवाहरुले आफ्नो बाँझो रहेको जग्गा जमिनको उपयोग गरी त्यसमा तरकारी, टनेलभित्र गोलभेँडा तथा खाली जग्गामा फलफुल खेती गरेर हराभरा बनाएका छन् । जिल्लामा सुन्तला, केरा खेती, किबी, तरकारीलगायत फलफुल र कृषि खेतीमा मात्रै ५ सयजना भन्दाबढी युवा कृषकहरु आबद्ध रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्