३ दशमलव ८ प्रतिशतले बढ्यो रेमिट्यान्स



काठमाडौं ।

जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १२ दशमलव ६ प्रतिशतले बढेको रेमिट्यान्समा यस वर्ष भने संकुचन आइरहेको छ । जेठ मसान्तसम्म नेपालमा कुल ९ सय ४ अर्ब १८ करोड रूपियाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २,५९,०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्