अदुवाले बजार नपाउँदा किसान चिन्तामा



लमजुङ ।

पूर्वि लमजुङ राइनासका किसानहरु अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका ५ तिनपिप्लेमन स्थानियले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो ।

प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवा मध्ये अदुवा बिक्री हुन नसकेको हो ।

४० रोपनी बढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भएपनि ५ रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन् ।  उत्पादित अदुवा मध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरी राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बिक्री नभएको अदुवा जमिनमा खाडल खनेर राखिएको छ ।

प्रतिकेजी १ सय ५० रुपैयाँ सम्म तिरेर सल्यानदेखि बीउ खरिद गरी अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रुपैयाँ सम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाई छ ।

सामूहिक खेतीका लागि राइनास नगरपालिकाले गत वर्ष मसलाबाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत करिब ८ लाख बराबरको हातेक्याक्टर, औजार उपकरण र अदुवा तथा हलेको बीउ, सहयोग गरेको थियो । नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै सामूहिक खेतीतर्फ उत्साहित बनेका  किसानहरूले आलु खेती समेत गरेका थिए ।

गत वर्ष हलेदोले राम्रो बजार पाएसँगै गत वैशाख जेठमा पुन हलेदो रोपेका छन् । समूहमा अधिकांश महिलाहरू सहभागी छन् । सामूहिक रूपमा सुरु गरिएको कृषि कर्मले समूहमा आबद्ध स्थानीयको आयआर्जनमा सहयोग पुगेको किसानहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्