पुष्प व्यवसायले अझै लय लिन सकेन



काठमाडाैं ।

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन ।

महामारी पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।

पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरूप हुन सकेको छैन । कोरोना महामारीका समयमा भन्दा केही गतिविधि बढे पनि विगतको झैँ लय लिन नसकेको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ ।

व्यवसायीमा कारोनाको त्रास कायमै रहेकाले लगानी गर्ने वातावरण नबन्दा उत्पादनमा पनि कमी आएको छ । अर्कोतिर अहिले भएको आर्थिक मन्दीका कारण यस व्यवसायले अझै आम्दानीतर्फ फड्को मार्न नसकेको अध्यक्ष तामाङ बताउनुहुन्छ ।

आर्थिक कारोबार कम भएकै कारण चालु आर्थिक वर्षमा तीन अर्बको कारोबारको लक्ष्य लिएको यस व्यवसायमा दुई अर्ब मात्र कारोबार हुने अवस्था छ ।हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्