१९ दिनको बजेट खर्चले दुनियाँलाई चकित बनायो



बुटवल ।

लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा २६ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा गरेको कुल खर्चको अनुपातलाई मध्यनजर गर्दा असारको १९ दिनमा २६ दशमलव २ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको तथ्याङकले देखाएको छ ।

चालु वर्षको असारको १९ दिन अर्थात् आइतबारसम्म प्रदेश सरकारले ४ अर्ब ८७ करोड २५ लाख ५९ हजार रुपियाँ बजेट खर्च गरेको छ ।बितेको ११ महिनामा १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ रुपियाँ बजेट खर्च गरेको सरकारले आर्थिक वर्षको अन्तिम असारमा मनलाग्दी रूपमा बजेट खर्च गरेको छ ।

यसले पनि सरकारको काम गुणस्तरीय हुनेमा आशंका गर्न मिल्ने देखिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो ।सरकारले आर्थिक वर्षको ९ महिनामा १ तिहाई पनि बजेट खर्च गर्न सकेको थिएन । ९ महिनामा चालु र पूँजीगत खर्च गरी ३२ दशमलव ८८ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड ५८ लाख ३६ हजार ५६६ बजेट खर्च गरेको थियो ।यस्तै जेठ मसान्तसम्म चालु र पुँजीगत खर्च गरी ४५ दशमलव ३३ प्रतिशत अर्थात् १८अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ रुपियाँ बजेट खर्च गरेको थियो । जसमा चालुतर्फ ४५दशमलव ६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ४५ दशमलव १० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार महिनाको १९ दिनमै खर्च बढाएर चालुतर्फ ५९ दशमलव ६६ प्रतिशत र पुँजीगततर्फ ५५ दशमलव २२ प्रतिशत पु-याएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशका मन्त्रालयअन्तर्गत असारको १९ दिनमा भएको खर्चमा पर्यटन, ग्रामीण तथा सहकारी विकास मन्त्रालयले ७७ करोड २५ लाख ५९ हजार बजेट खर्च गरेको छ । ११ महिनामा २ अर्ब ६३ करोड ८३ लाख बजेट गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले ६६ करोड ८१ लाख ३८ हजार बजेट खर्च गरेको छ । जबकि मन्त्रालयले ११ महिनामा ४ अर्ब १८ करोड ३७ लाख बजेट खर्च गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६ करोड ४१ लाख १८ हजार २९९ बजेट खर्च गरेको छ । ११ महिनामा २७ करोड ३३ लाख ७१ हजार खर्च गरेको छ ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ५४ करोड ९० लाख ६९ हजार, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय ४४ करोड ३ लाख ५६ हजार, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले ३६ करोड ४६ लाख ३१ हजार र कृषि, खाद्य प्रविधि तथा भूमि सुधार मन्त्रालयले २८ करोड १७ लाख ३० हजार ९३७ रुपियाँ असारको १९ दिनमा खर्च गरेका छन् ।सोही अवधीमा वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयले २० करोड ३३ लाख १५ हजार, उद्योग वाणिज्य तथा आपूर्ति

मन्त्रालयले ४ करोड ६४ लाख ५ हजार, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ३ करोड ७५ लाख ३७ हजार, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले २ करोड ८२ हजार र आर्थिक मामिला तथा सहकारी मन्त्रालयले १ करोड ३५ लाख ११ हजार बजेट खर्च गरेका छन् ।यता कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने सबैभन्दा कम असारको १९ दिनमा १६ लाख ८३ हजार मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङकबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्