विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपतिसँग साक्षात्कार



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यालयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा पनि गर्नुभयो ।

राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुसी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याडमिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा उचो बनाउन प्रेरणा समेत दिनुभयो । कार्यक्रममा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले नेपालमा ब्याडमिन्टन खेलको अवस्था र हालसम्मका उपलब्धी बारे जानकारी गराउनुभएको थियो । उहाँले देशको अभिभावक राष्ट्रपतिसँग विश्व ब्याडमिन्टन दिवस मनाउन पाउनु ऐतिहासिक क्षण भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलको भौतिक पूर्वाधार निर्माण र विद्यालय स्तरमा लैजान आफूले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एकेडेमीकी अध्यक्ष रीता विष्टलगायत पदाधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

नेपालमा वि. सं. २००४ सालदेखि ब्याडमिन्टन खेल्न थालिए पनि संघको विधिवत स्थापना भने २००८ सालमा भएको थियो । हरेक वर्ष जुलाई ५ तारिखलाई विश्व ब्याडमिन्टन दिवसको रूपमा मनाइन्छ । विश्व ब्याडमिन्टन महासंघमा आवद्ध विश्वका एक सय ९८ देशमा मंगलबार ब्याडमिन्टन दिवस मनाइएको ब्याडमिन्टन संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्