रोयललाई यु–२३ बास्केटबल उपाधि



काठमाडौं । 

रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसँगै एक लाख नगद पुरस्कार जित्यो । दोश्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।

रोयलले पहिलो क्वाटरमा २३–१८ को अग्रता लियो । दोस्रो क्वार्टरमा २२–१६ को अग्रता लिएको रोयल तेश्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वार्टर १३–१३ को बराबरीमा टुंगियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मोस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रव्यापी खेलकुदमा विभिन्न ८ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको प्रतियोगिता अन्तिम हो । ७१औं मदन जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्