जोकोभिच हारबाट बच्दै सेमिफाइनलमा



लन्डन, (एजेन्सी) । 

नोभाक जोकोभिचलाई हराउन मुश्किल भन्ने प्रमाण मंगलबार राति विम्बल्डनको खेलमा देखियो । जोकोभिच यानिक सिनरसँग २ सेटले पछि थिए । पहिलो दुई सेटमा सिनरले ७–५, ६–२ ले जितेर जोकोभिचको साटो उडाएका थिए । सेन्टर कोर्टमा रहेका दर्शक पनि जोकोभिचलाई हौसला प्रदान गरिरहेका थिए ।

दर्शक उनको पक्षमा भए पनि सिनरले ती दर्शकको बोली नै बन्द गरिदिए । शीर्ष खेलाडी र २० ग्रान्डस्लाम जितेका जोकोभिचमाथि विश्वास भने थियो कि खेलमा फर्कन सक्ने । विगतमा पनि धेरै खेलमा उनी २ सेट गुमाएर जित हासिल गरेका थिए । यसैले पनि पहिलो दुई सेट हारे पनि जोकोभिचले यो खेल जित्नेमा धेरैको विश्वास थियो । नभन्दै उनले पछिको लगातार तीन सेट जितेर विम्बल्डनको सेमिफाइनलमा स्थान सुरक्षित गरे । उनले बाँकी तीन सेट ६–३, ६–२, ६–२ को अंकमा सहजै जितेका थिए ।

जोकोभिचले इटालियन खेलाडी सिनरको प्रशंसा गर्दै बताए–“उनी पहिलो दुई सेटमा राम्रो खेलाडी थिए । मैले विश्राममा ट्वाइलेट जाँदा ऐनामा हेरेर आफूसँगै कुरा गरे ।त्यसो त जोकोभिच पहिलो सेटमा ४–१ ले अघि थिए । उनी ५–१ को अग्रतामा पनि पुगेका थिए । तर, उनले लगातार पाँच गेम गुमाएपछि सेट टाइब्रेकरमा तानियो । उनको ग्राउन्डस्ट्रोक पनि चलेन र ड्रप शट पनि फ्लप सिद्ध भएको थियो । यसले सिनरलाई खेलमा फर्कन दिएको थियो । दोस्रो सेट पनि हारेपछि उनी पाँच वर्षपछि पहिलोपटक क्वार्टरफाइनलमा हार्नेतिर अग्रसर भएका थिए ।

जोकोभिचको यो वर्ष कठिन भएको थियो । उनले अस्टे«लियन ओपन खेल्न पाएका थिएनन् । उनले कोभिड विरुद्धको खोप नलिएको भन्दै अस्टे«लियन ओपनको आयोजक राष्ट्र अस्टे«लियाले उनलाई देशमै प्रवेश निषेध गरेको थियो । दुई सातापछि उनलाई उनकै देश सर्बियामा फिर्ता पठाएको थियो । उनको लागि यो घटना निकै असह्य भएको थियो । फ्रेन्च ओपनमा भने उनले खेल पाए तर उनी राफायल नाडालसँग पराजित भए ।जोकोभिचले भने—“पहिलो दुई सेट र पछिको तीन सेटमा खेल भिन्न बनेको थियो । मैले तेस्रो सेटमा उनको सर्भिस तोडेर शुरुवात गर्न पाएँ । यसले मलाई आत्मविश्वास दिलायो । मैले उनको खेलमा गिरावट आएको देखे पनि । मेरो अनुभवले पनि मलाई सहयोग ग-यो ।

सिनर युवा खेलाडीमध्ये उत्कृष्ट खेलाडी हुन् । उनले विम्बल्डन खेल्न अघि कुनै पनि खेल खेलेका थिएनन् । फ्रेन्च ओपनमा उनी चौथो चरणमा रिटायर्ड भएका थिए । विम्बल्डनमा उनले अर्का उदीयमान खेलाडी कार्लोस अल्काराजलाई हराएका थिए । त्यस्तै, तीन पटकको ग्रान्डस्लाम विजेता स्टान वावरिन्का र जोन इस्नरलाई पनि उनले पराजित गरेका थिए । उनले यसपछि झण्डै जोकोभिच जस्ता उत्कृष्ट खेलाडीलाई पनि हराउन तयार भएका थिए । तर, पहिलो दुई सेट जितेका उनले त्यसपछि एक सेट पनि जित्न सकेनन् र उनको जोकोभिचलाई हराउने सपना सपनामै रह्यो ।

प्रतिक्रिया दिनुहोस्