कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन ?

वडा अध्यक्ष भन्छन्:अहँ हुँदैन



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले गरेका वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपरेको छ । विशेष गरी फोहोर व्यवस्थापन गर्ने विषयमा मेयर साहले बोली फेरेर वडा अध्यक्षलाई झुक्याएपछि वडा अध्यक्षले आक्रोश पोखेका थिए । मेयर साहले असार ५ गते सम्पन्न कार्यपालिकाको पहिलो बैठकदेखि लाइभ गर्नुभएको थियो । पहिलो बैठकमै भाँती नपु-याएका कारण मेयर साहले आलोचना खेप्नुप-यो ।

वास्तवमा मेयरले कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन । तर, मेयर र वडा अध्यक्षको चाहना फरक छ, भनाभन भए पनि लाइभ गर्नेपर्छ । मेयरले वाचा पूरा गरे नगरेको सुन्नैपर्छ ।मंगलबार सम्पन्न पाँचौं बैठकमा नेपाली कांग्रेसबाट विजयी वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनलाई गलत आश्वासन दिएको कारण आलोचना खेप्नुप-यो । टेकु ट्रान्सफर स्टेसनमा दैनिक फोहोरका डंगुर थुप्रिएर हटाउन नसकेको भन्दै वडा अध्यक्ष महर्जनले मेयरलाई काठमाडौंलाई फोहोरमुक्त बनाउने मेयरको कुरामा आफूलाई विश्वास नलागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– ‘काठमाडौंको फोहोर उठाउनका लागि मेयरले गाडी उपलब्ध गराउँछु भनेर गरेको प्रतिबद्धता पूरा गर्न सक्नुभएन ।’ लगत्तै मेयरले साहले प्रतिउत्तर दिनुभयो– ‘टेकुमा दुर्गन्ध कम गर्न धेरै काम गरें, कहिल्यै पनि धन्यवाद भन्न सक्नुभएन ।’उहाँको यो जवाफ आउनासाथ वडा अध्यक्ष महर्जनले प्रतिउत्तर दिनुभयो– मैले सोध्दा ५०, सय वटा चाहिए पनि अहिले नै दिन्छु भन्नुभएको थियो त्यस बेला लिजमा दिनका लागि तपाईंको अधिकार छ कि छैन भनेर सोधेको थिएँ । फेरि डिजेलको भाउ बढेर गाडी आएन भन्नुभयो । त्यस बेला मैले त्यहाँ बोलेको कुरा पु-याउन नसकेपछि तपाईंलाई कसरी धन्यवाद दिने ? वडा अध्यक्षले यस्तो जवाफ दिएपछि साहले भन्नुभयो– ‘फोहोर व्यवस्थापन गर्न वडा अध्यक्षहरूले सहयोग गरेनन् ।’

आर्थिक वर्ष २०७९-०८० को बजेट घोषणा गर्नुपूर्व बसेको कार्यपालिकाको बैठकमा पनि सदस्यहरूले महानगरको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए । स्वतन्त्रबाट मेयर निर्वाचित भएका साहलाई प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल र केही कर्मचारीले गलत सुझाव र बैठकको मर्यादको विषयमा राम्ररी ब्रिफिङ नगरेको कारण समस्या परेको देखिएको छ । मेयर साहले लामो समयदेखि वडा अध्यक्षको भूमिकामा रहेका जनप्रतिनिधिलाई कम आँक्दा समस्या परेको वडा अध्यक्षको सोचाइ छ ।‘बरू लाइभ नगरेर कार्यपालिकाको बैठकको निर्णय प्रवक्तामार्फत् पत्रकारलाई जानकारी गराउँदा के फरक पर्छ त ?’ यो विषयमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कानुनमा लाइभ गर वा नगर भन्ने विषयमा केही नबोलेकाले कार्यपालिकाको अधिकारको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘के गर्ने भन्ने विषयमा मेयर, उपमेयर र वडाअध्यक्षकै रायमा भर पर्छ ।’ यसै विषयमा वडा नम्बर २९का अध्यक्ष कुश ढकालले जनताले आफ्नो अधिकारबारे जानकारी लिन लाइभ गर्नेपर्ने बताउनुहुन्छ । नगर्दा हुँदैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘अहँ हुँदैन । अघिल्लो कार्यपालिकाको बेठक गोप्य थियो, उहिले जे भयो भयो अब यसरी नै चल्नुपर्छ । मेयर, उपमेयरले के–के भने, आफूले वाचा गरेको कुराहरू कति पूरा गरे गरेनन् सबै विषयमा जानकारी लिन बैठक लाइभ नै हुनैपर्छ ।’

उहाँले बैठकमा भएको भनाभनलाई सामान्य घटना भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेयरले पनि बुझेर उत्तर दिनुपर्छ कार्यपालिकाका सदस्यले बोल्दा विचार पु¥याउनुपर्छ ।’ उहाँले सबै विषयमा जनतालाई जानकारी दिन लाइभ गर्नपर्ने उहाँको भनाइ थियो । यसअघि कार्यपालिकाको पहिलो बैठकमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले बैठकको गोपनीयतामा ध्यान दिँदै बैठक गोप्य हुनुपर्ने बताउनुभएको थियो ।

त्यसो त तत्कालीन मेयर केशव स्थापितले २०६३ सालमा मेयर हुँदा पहिलो कार्यपालिकाको बैठक हनुमानढोकास्थित कालभैरव परिसरमा राख्नुभएको थियो ।कामपा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकालाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताउँदै लाइभ गर्दा कुनै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘केही विषयमा भनाभन हुन स्वाभाविक हो, छलफल गरेर कार्यान्वयन गर्दा राम्रो हुने भएकाले केही भनाभन भएको जस्तो देखिएको तर झगडा भएको छैन ।’

उहाँका अनुसार कर्मचारीले कुन विषयमा कस्तो उत्तर दिनुपर्छ र पहिला नै विषयको महत्वबारे जानकारी गराएको भए समस्या नहुने उहाँको भनाइ थियो । अधिकांश अध्यक्षले कार्यपालिकाको बैठकको महत्व बढाउन लाइभ गर्नुपर्ने धारणा राखेका थिए । मंगलबारको बैठकमा फुटपाथका व्यापारीलाई लखेटेकोदेखि वडामा कर्मचारी नखटाएको र बाटो अँध्यारो भएको सम्मको कुरा उठेको थियो ।त्यसबेला वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको सुविधा काट्न माग गर्नुभएको थियो । उहाँले तलब भत्ता नलिएर जनतालाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्