मुस्ताङ्गको थासाङ गाउँ ओखरखेतीको पकेट क्षेत्र



पर्वत 

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकालाई ओखर खेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्न थालिएको छ ।
नेपालमा बर्षेनी करोडौको ओखर चीन तथा अमेरिका र युरोपबाट आयात भैरहेको बेला थासाङले ओखरखेती प्रवर्द्धन गर्न थालेको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।गाउँपालिकाले कृषिलाई आर्थिक उपार्जनको प्रमुख क्षेत्रको रुपमा बनाउँदै ओखरखेतीको पकेट क्षेत्र बनाउन लागेको हो ।

कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हब’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई प्राथमिकतामा राखेको जनाएको छ । किसानका लागि उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एकपटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएकोे गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम बनाएको छ । किसानलाई मागका आधारमा अनुदानसमेत उपलब्ध गराउने प्रमुख गौचन बताउनुहुन्छ ।

मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा ५ सय देखि १ हजार किलोसम्ममा बिक्री हुने गरेको छ । अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको हो । उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमा समेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमीनमा तारबारदेखि बाँझो जमीनमा खेती लगाउन शुरुआत गरिने अध्यक्ष गौचनले बताउनुभयो । गाउँपालिकाले फलफूल र तरकारीका अतिरिक्त पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवर्द्धनका कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यून गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्रांगारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्रांगारिक मल तथा परम्परागत घरायसी कीटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्