हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन



काठमाडौं ।

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार राष्ट्रिय च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेभिडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसँगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए ।

झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेभिडले सफलता पाए । डेभिडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठी समेत प्रयोग गरिएको थियो । डेभिडले १ लाख नगद पुरस्कार जिते ।

७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउँदै ७५ हजार नगद पुरस्कार हात पारे । मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते । महिलामा आकृतिले तनुलाई पाखा लगाउँदै सफलता हात पारिन् । तनुले ७० हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाए । सुजलले ६० हजार नगद पुरस्कार पाए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलोपटक लकडाउन भएएता नेपाल रिङ रेस्लिङ संघको सक्रिएतामा भएको यो नवौं प्रतियोगिता हो । यसअघि, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, वसन्तपुर डबली, बूढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो । नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्