नेपालले क्यानाडामा अभ्यास खेल जित्यो



काठमाडौं । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानाडा भ्रमणअन्तर्गत पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । नेपाली टोलीले घरेलु टोली ओन्टोरियो क्रिकेट क्लबलाई ६९ रनले हराएर राम्रो शुरुवात गरेको हो । नेपालको जितमा विकेटकिपर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका थिए ।

जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट हुन पुग्यो । टोलीका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए भने जश शाह २० रनमा आउट भए । अन्यले खासै उल्लेखनीय रन बटुल्न सकेनन् । पहिलो विकेटका लागि उनीहरूले १३.३ ओभरमा ४३ रनको साझेदारी गरेका थिए ।

त्यसपछि, मिहिर पटेल ४, नरेश बुढाएर ४८ बलमा २ चौका र १ छक्कासहित २९ र निकोलस मनोहर २५ रनमा आउट भए । नरेश नेपालका पूर्वराष्ट्रिय खेलाडी हुन् । उनले यसपटक नेपालका लागि राम्रो खेले । उनी पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।नेपालको बलिङमा पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट हासिल गरे । आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट प्राप्त गरेका थिए ।

त्यसअघि, किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालका लागि विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । एक समय ११६–५ को स्थीतिमा पुगेको नेपाललाई विनोदको अर्धशतकले प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याएको थियो ।नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले १०.१ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । कुशल शिल पटेलको बलमा मिहिर पटेलबाट २९ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए ।

देव खनाल ४४ बलमा २ चौकासहित २७ रनमा क्याच भए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ५० रनको साझेदारी गरेका थिए । उपकप्तान रोहित पौडेल दर्शिल पटेलको बलमा २ रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९÷१९ रनमा आउट भए । बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन जोडे । ओन्टारियोको तर्फबाट शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
नेपालले क्यानाडासँग दुई एकदिवसिय खेलपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच विश्व क्रिकेट लिग त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सीधैं खेल्न र ओडीआई मान्यतालाई निरन्तरता दिन बाँकी सबै खेल खेल्नुपर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।
नेपाललाई सीधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
नेपालको खेल तालिका
असार २० – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसीय खेल
असार २१ – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसीय खेल
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २७ – नामिबियाविरुद्ध नेपाल
असार २९ – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ – नेपालविरुद्ध नामिबिया
साउन १ – नेपालविरुद्ध स्कटल्यान्ड

प्रतिक्रिया दिनुहोस्