लमजुङका ८ स्थानीय तहको बजेट : ४ अर्ब १ करोड ५९ लाख



लमजुङ । लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन् ।

जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैया बजेट ल्याएको छ । आसार ८ गते नै निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम र बजेट पारित गरेको नगरप्रमुख कृष्ण प्रसाद कोईरालाले बताए ।

नगरपालिकाले चालुतर्फ ६५ दशमलव ६ प्रतिशत अर्थात ५२ करोड ३२ लाख ८८ हजार रुपैया र पुँजीगत तर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात ३४ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को लागि ७५ करोड ५३ लाख तीन हजार रुपैया बजेट ल्याएको छ ।

आन्तरिक श्रोत तथा स्थानिय राजश्वबाट आठ करोड ५६ लाख ८१ हजार,  संघीय र प्रदेश राजश्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानिकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख अनुमान गरिएको छ ।

मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बरावरको बजेट ल्याएको नगरपालिकाले आगामि वर्षका लागि ५ करोड बढी बजेट ल्याएको हो ।

राइनास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५९ करोड ३९ लाख रुपैया प्रस्तावित बजेट पेश गरेको छ । गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका ५४ करोड ३९ लाख ४५ हजार नौसय ४२ रुपैया बरावरको बजेट ल्याएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । जिल्लाको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५७ लाख ४६ हजार रुपैया बजेट प्रस्ताव गरेको सूचना अधिकारी धर्म गुरुङले बताए ।

यस्तै क्व्होलासोँथर गाउँपालिकाले ३५ करोड १८ हजार रुपैया बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत वजेटमध्ये चालु तर्फ २५ करोड ८४ लाख १० हजार र पुँजीगत तर्फ ९ करोड १६ लाख ८ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुर्य गुरुङले वताए । जिल्लाको दुधपोखरी गाउँपालिकाले ३६ करोड ५१ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्