हामीले आफैँसँग कसरी विजय हासिल गर्ने !



हामी सबै जीवनमा विजय हासिल गर्न चाहन्छौँ । हामी दुःखमा पनि विजय प्राप्त गर्न चाहन्छौँ अनि सुखमा पनि । जीवनमा जति पनि चुनौतीहरू आउँछन्, ती सबैमा हामी जित होओस् भन्ने चाहन्छौँ ।

तर, यदि हामी आफूले आफैँमा विजय हासिल गरेनौँ भने सबै कुरा निरर्थक हुनेछ ।यदि एकमा शून्य जोड्ने हो भने एक त एक नै रहन्छ । शून्य भनेको त्यो अनन्त चीज हो । त्यसलाई नापजाँच गर्न सकिँदैन । त्यसलाई केही पनि गर्न सकिँदैन । यदि त्यस अनन्त चीजसँग हामी जोडियौँ भने के बन्न सक्छौँ ? म एक हुँ र त्यो अनन्त शून्य हो । यदि मेरो भेट मभित्र रहेको त्यो शून्यसँग, त्यो अनन्तसँग हुन्छ भने म पनि अनन्त बन्छु । तर, यो शरीर होइन । यो त नाशवान् छ र नाशवान् नै रहनेछ ।

तर, जुन भित्रको चीज छ, मभित्र जो अविनाशी बसेका छन् । यदि म उनीसँग जोडिएँ भने म पनि उनैमा समाहित हुन्छु । त्यसपछि, म पनि सबै स्थानमा हुन्छु । यदि म उनैमा लीन भएँ भने त मेरा लागि त्यही नै सबैथोक हो । यदि म लीन हुन सकिन भने त मेरो पूरै ध्यान यही माटोमा, यही शरीरमा जानेछ । यसले त एकदिन माटो नै बन्नुपर्नेछ । अनि, माटोमा गएर मिल्नु छ, चाहे हामी जेसुकै गर्ने कोशिश गरौँ ।

यहाँ के भइरहेको छ भन्ने कुरा मानिसले बुभूmन् ! सबैभन्दा ठूलो कुरा त यो हो । जुन बाहिर भइरहेको छ त्यो सत्य होइन । त्यो बदलिरहनेछ, बदलिरहनेछ तर जुन यहाँ (हृदय) भित्र भइरहेको छ त्यो साँचो हो । त्यो सत्यको अभावमा सारा कुरा अधुरो छ । यदि हामीले यो कुरालाई बुझेनौँ, यो कुरालाई जानेनौँ भने हामी यहाँ आउनुको फाइदा नै के भयो र !

जे हामी गर्छौँ त्यसबाट के कुरा स्पष्ट हुन्छ भने हामी कहिल्यै, कतै पनि गइरहेका छैनौँ तर यो पनि साँचो होइन । एकदिन हामी सबैले जानु छ । यो कुरालाई जान्दाजान्दै पनि हामीले आफ्नो व्यवहारलाई कसरी बदलिरहन्छौँ ! यो जुन वास्तविकता छ, यसलाई हामी आफ्नो जीवनमा स्वीकार गर्दैनौँ । हामीले यो सत्यतालाई स्वीकार नगरेसम्म हाम्रो जीवनमा के हुन्छ र ? हामीले अवश्य पनि जानु नै छ तर कहाँ जान्छौँ त हामी ?महाभारतमा एउटा कथा छ । एकपटक वनमा भ्रमण गर्दै गर्दा पाँच पाण्डवलाई एकदमै धेरै तिर्खा लाग्यो । युधिष्ठिरले भाइहरूसँग भने, ‘तिमीहरूमध्ये कोही गएर पानीको खोजी गर अनि मलाई भन ।’

तब सहदेवले भने, ‘म जान्छु ।’
सहदेव गए तर फर्केर आएनन् । घण्टौँ बित्यो !
त्यसपछि नकुलले भने, ‘म जान्छु ।’

यस्तो गर्दागर्दै सबै भाइहरू गए तर फर्केर आएनन् । युधिष्ठिरलाई चिन्ता भयो । उनी खोज्नका लागि हिँडे । खोज्दा–खोज्दा तलाउको किनारमा पुगे । जसै उनी पानी पिउने उद्देश्यले अघि बढे, उनको आँखा भाइहरूमा प-यो । उनीहरू त किनारामा मरिरहेका छन् । तैपनि, युधिष्ठिरले आफ्नो हात पानीमा डुबाउँदै मात्र के थिए त्यहाँ भएका गन्धर्वले भने, ‘पख ! पानी नपिऊ ! पहिला मेरो प्रश्नको उत्तर देऊ अनि मात्र म पानी पिउने अनुमति दिनेछु ।’
युधिष्ठिरले भने, ‘होइन, मलाई धेरै तिर्खा लागेको छ । पानी दिनुहोस् ।’

गन्धर्वले भने, ‘तिम्रा भाइहरूले पनि मेरो कुरालाई सुनेन् अनि पानी पिउनतिर लागे । अहिले सबै मरिरहेका छन् । तिम्रो पनि यस्तै अवस्था हुनेछ ।’
तब युधिष्ठिर भन्छन्, ‘सोध्नुहोस् ! के सोध्न चाहनुहुन्छ !’त्यसपछि गन्धर्वले थुप्रै प्रश्नहरू सोधे । त्यसमध्ये एउटा प्रश्न थियो– ‘सबैभन्दा अचम्मको चीज के हो ?’युधिष्ठिरले भने, ‘मानिस नै यस्तो अचम्मको प्राणी हो जसलाई यो कुरा थाहा छ– उसले एकदिन मर्नुपर्छ । तर, ऊ आफू कहिल्यै पनि मर्दिन भने जसरी जिउँछ । यसकारण मानिस अचम्मको प्राणी हो !’

यो कुरा मर्नेबारेको होइन । कुरा त बाँच्ने तरिकाका बारेमा हो । मानिस कसरी बाँचिरहेको छ ! कुरा धन कमाउने विषयमा पनि होइन । तर, जुन तरिकाले हामी कमाइरहेका छौँ, कुरा त्यसको हो । हामी त यसरी बटुलिरहेका छौँ कि मानौँ हामी यो धनलाई आफूसँगै लैजानेछौँ । यो सम्भवै नहुने कुरा हो । किनभने, हामी सबैले यहाँबाट एक न एक दिन जानुपर्छ तर हामी आफूसँग केही पनि लिएर जान सक्दैनौँ । यदि कुनै चीजलाई लिएर जान सक्छौँ भने त्यो एउटै कुरा छ ः त्यो हो– ‘शान्ति’ । जसलाई प्राप्त गर्न तपाईँले आफूले आफैँलाई चिन्नु आवश्यक छ । आफूभित्र ती परम् शक्तिलाई, त्यो शान्तिलाई अनुभव गर्नु आवश्यक छ । जसलाई हासिल गरेपछि तपाईँ वास्तवमा विजयी हुनुहुनेछ ।

हामी मानिसमा एउटा बानी छ– बिर्सने । हामी को हौँ ? हाम्रो स्वभाव के हो ? हाम्रो प्रकृति के हो ? हाम्रो चाहना के हो ? हाम्रो आवश्यकता के हो ? हामी यी कुराहरूलाई बिर्सन्छौँ । वस्तुतः कुनचाहिँ यस्तो चीज छ जसलाई भुलेपछि हाम्रो जीवनमा एउटा यस्तो अवस्था उत्पन्न हुन्छ जसले गर्दा हामी यी सबै कुराहरूलाई बिर्सन्छौँ– ‘यो सबैथोक के हो, के भइरहेको छ, मलाई किन यस्तो नराम्रो भइरहेको छ । कसैलाई चाहिँ किन राम्रो भइरहेको छ !’
उल्लिखित धेरै कुरालाई हामी बिर्सन्छौँ ।

वास्तविकता के हो भने, अज्ञानता तपाईँभन्दा टाढा छैन अनि ज्ञान पनि तपाईँभन्दा टाढा छैन । सुख र दुःख दुवै तपाईँभन्दा टाढा छैन । तपाईँ आफ्नो जीवनमा जतासुकै जानुहोस्, जेसुकै काम गर्नुहोस्– सुख र दुःख दुवै कुरा तपाईँको साथैमा हिँडिरहेको हुन्छ ।तपाईँको जीवनमा सबै कुरा छ र छैन पनि । दुवै कुरा हुन्छ । तपाईँ आफ्नो कोठाभित्र पसेपछि चुकुल लाउनुहुन्छ । त्यतिखेर पनि तपाईँ एक्लै हुनुहुन्न । अन्य थुप्रै कुराहरू तपाईँभित्र त्यस कोठामा गएका हुन्छन् । तपाईँ पनि हुनुहुन्छ, जीवन पनि छ अनि मृत्यु पनि हुन्छ । त्यस कोठामा सबै कुरा हुन्छन्– ज्ञान, अज्ञान, अँध्यारो र उज्यालो पनि हुन्छन् । वास्तवमा ती सृष्टिकर्ता पनि त्यस कोठाभित्र साथैमा हुन्छन् । यदि हामीले ढोकालाई बन्द गरेर त्यसमा ताल्चा लगाएपछि बत्ती निभायौँ भने अँध्यारो हुनेछ ।

जब ढोका पहिल्यै बन्द थियो भने अँध्यारो कहाँबाट आयो होला ? कसरी भने त्यो तपाईँको साथमा नै आयो । धर्म पनि तपाईँसँगै छ अनि अधर्म पनि तपाईँसँगै छ । सारा कुरा– तपाईँ जहाँ जानुहुन्छ त्यहाँ सबै हुन्छ । फरक के मात्र हो भने, यदि तपाईँलाई यी सबै साथैमा हुन्छन् भन्ने थाहा भयो भने तपाईँले चाहनुभएको कुरालाई अपनाउन सक्नुहुन्छ । प्रेम पनि तपाईँसँगै आएको छ अनि घृणा पनि । यदि तपाईँ जिउन सिक्न चाहनुहुन्छ भने प्रेमलाई आत्मसात् गर्न सिक्नुहोस्, घृणालाई होइन । ज्ञानलाई स्वीकार गर्न सिक्नुहोस्, अज्ञानतालाई होइन । यदि जीवनमा प्रकाश होस् भन्ने चाहनुहुन्छ भने आफ्नो जीवनमा प्रकाश ल्याउन सिक्नुहोस् । अँध्यारो आफैँ हटेर जानेछ ।

यदि तपाईँ आफ्नो जीवनलाई थोरै भए पनि बदल्न चाहनुहुन्छ भने केवल तीन सेकेन्ड सोच्नुहोस् । काम गर्नुभन्दा पहिला सोच्नुहोस् । केवल तीन सकेन्ड– तपाईँ के गर्न लागिरहनुभएको छ । त्यसपछि जे गर्न चाहनुहुन्छ गर्नुहोस् । किनभने, क्रोध पनि तपाईँसँगै हुन्छ अनि क्षमा पनि । तीन सेकेन्डमा तपाईँ रोज्न सक्नुहुन्छ– क्रोध चाहिन्छ कि क्षमा । क्षमाले प्रेमलाई ल्याउँछ । प्रेमले उज्यालो ल्याउनेछ । उज्यालोले आनन्द ल्याउनेछ– तीन सेकेन्डमा । वास्तवमा तपाईँ पहिला गर्नुहुन्छ अनि पछि सोच्नुहुन्छ । यसै कारण तपाईँको जीवनमा दुःख हुन्छ ।

हामी जे–जे गर्छौँ, यसमा दुईवटा नै सम्भाव्यता रहन्छ– राम्रो पनि हुन सक्ला र खराब पनि हुन सक्ला । यदि हामीले सोच–विचार गरेर काम ग¥यौँ, यो बुझेर काम ग¥यौँ– हाम्रो प्रकृति नै हो बिर्सने अनि मैले के कोशिश गर्नुपर्छ भने म नबिर्सूँ, त्यस चीजलाई नबिर्सूँ जुन मेरा लागि आवश्यक छ । यदि यो कुरा याद रह्यो भने तपाईँको जिन्दगीमा आफैँ नै परिवर्तन आउँछ । यदि हामी यो संसारमा कुनै परिवर्तनको कामना गर्छौँ भने त्यो परिवर्तन पनि संसारबाट शुरु हुने होइन । त्यो तपाईँबाटै प्रारम्भ हुन्छ ।

तपाईँ जे जति कार्य गर्दै हुनुहुन्छ, आनन्द पाउने अपेक्षाले नै गर्दै हुनुहुन्छ । तपाईँ दुःख सहन गर्न सक्नुहुन्न । मानिसको नाताले तपाईँको प्रकृति कस्तो छ भने, तपाईँ दुःख सहन सक्नुहुन्न । तथापि, अपार सुखलाई भने तपाईँ सहन सक्नुहुन्छ । मानिसका लागि सुखको कुनै सीमा हुँदैन । सानो दुःखका कारण पनि मानिस दुःखी हुन्छ । हरेक चीजमा सुख र दुःख दुवै हुन्छ तर यसमध्येबाट तपाईँले नै छान्नुपर्छ । तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ– सुख चाहनुहुन्छ या दुःखको चाहना राख्नुहुन्छ ! जुन दिन दुःखी हुन चाहनुहुन्छ, दुःख पनि उपलब्ध हुन्छ । जुन दिन सुखको अपेक्षा गर्नुहुन्छ, त्यो सुख पनि उपलब्ध हुन्छ । यदि तपाईँले यस कुरालाई बुझ्नुभयो भने तपाईँले आफ्नो जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सक्नुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्