सडकपेटीका पसल



सडकपेटीमा सञ्चालन हुँदैआएका सरल र न्यून मूल्यमा खानपाइने पसलका कारण उपत्यकामा हैजाको संक्रमण फैलियो भन्ने सरकारको निष्कर्ष विवादास्पद छ । त्यसमा पनि यस्ता पसलहरु बन्द नै गर्ने उसको निर्णय त आलोच्य नै बन्यो । हैजा फैलिन थालेपछि काठमाडौं र ललितपुर महानगरपालिकाले सडकपेटीका भोजन–पसललाई प्रतिबन्ध लगाएको छ । दुई साताअघि बागबजार र सानेपा क्षेत्रमा बाटोमा बेच्न राखेको चटपटे, पानीपुरी र चाटको लगायत खानेकुरा खादा हैजा फैलिएको अनुमान महानगरको छ ।

दैनिक गुजारा चलाउन बाटो, चोक र चौरमा खानेकुरा बेच्ने गरेका सामान्य व्यापारीको रोजीरोटी खोसिने र पेशा नै बन्द गर्ने विकल्प समाजवाद उन्मुख भनिएको मुलुकका लागि सह्य हुनसक्तैन । कलेज पढेर फर्किने विद्यार्थीको पहिलो रोजाइ बाटोमा बेच्न राखिएको पानीपुरी र चटपटे नै हो । विश्वका जुनसुकै शहरका चोक, गल्ली, पार्क लगायत मनोरञ्जन क्षेत्रमा स्ट्रिट फुड राख्ने चलन छ । थोरै रकम आर्जन गर्नेको पहिलो रोजाइ स्ट्रिट फुड नै हुन्छ । नेपालमा स्ट्रिट फुडको चलन चलेको वर्षौ भैसकेको छ । महानगरपालिकाले स्ट्रिट फुडको कारण हैजा फैलिएको हो भन्ने निक्र्योल निकाल्न सकेको छैन । हचुवाको भरमा बाटोको खानेकुरा खादा हैजा फैलिएको अनुमान गर्नु गलत हुन्छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दूषित पानीको कारण हैजा फैलिएको निष्कर्ष निकालिसकेको छ । यदि पानीकै कारण हैजा फैलिएको हो भने महानगरपालिकाले दूषित पानी बेचबिखन गर्न रोक लगाउनुपर्छ । खाद्य पदार्थ, पानी, मासुजन्य पदार्थ लगायत सबै किसिमको खाद्यान्न अनुगमन गर्ने अधिकार स्थानीय तहलाई छ । आफ्नो अधिकार प्रयोग गरेर अनुगमन गर्न नसक्ने महानगरले बाटोमा खानेकुरा बेच्न प्रतिबन्ध लगाएर हास्यास्पद निर्णय गरेको छ । यसको सर्वत्र आलोचना शुरु हुन थालेको छ ।

कसैले भनेको भरमा अनुमानको आधारमा सामान्य जीविकोपार्जन गरिरहेका परिवारको रोजीरोटी खोस्नु गलत हुन्छ । महानगरले आफ्नो क्षेत्रमा रहेको जारको पानी ल्याउने कम्पनीको अनुमगन गर्नुपर्छ । खाद्यान्नको गोदाम अनुमगन गर्नुपर्छ । सबै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति हुन्छ । त्यस उपसमितिलाई सक्रिय बनाउनु र संक्रमणका सबै क्षेत्रमा अनुगमन गर्नु आवश्यक देखिन्छ । पानीबाट हैजा सरेको प्रमाणित भैसकेपछि महानगर संयन्त्रले सबै कम्पनीको पानीको गुणस्तर मापन गर्नुपर्छ । स्ट्रिट फुड बिक्री गर्नेले प्रयोग गरेको पानी पिउन योग्य हो वा होइन अनुगमन गर्नुपर्छ । यदि जारकै पानीबाट हैजा फैलिएको हो भने त्यस्ता जारको कम्पनी बन्द गराउनुपर्छ । त्यसो भए बाटोमा खानेकुरा बेच्न राख्नेले खानयोग्य जारको पानी प्रयोग गर्न बाध्य हुन्छन् ।
इनार, कुवा वा धाराको पानीको गुणस्तर परीक्षण गर्नुपर्छ । पानीमा पियुस र क्लोरिनको अनिवार्य प्रयोग गर्नुपर्छ । होइन भने बाटोमा बेच्न राखेको खानेकुरामा प्रतिबन्ध लगाउँदैमा राजधानीमा हैजा नियन्त्रण गर्न सकिदैन । स्ट्रिट फुड बेच्नेमाथि प्रतिबन्ध लगाउने भन्दा पनि अनुगमन गरी व्यवस्थित गर्नुपर्छ । बन्द वा निषेध समस्याको समाधान होइन । सडकपेटीका पसल व्यवस्थित किसिमले चल्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्