साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन आग्रह



काठमाडौं । 

निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउन मसान्तभित्र उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पेस गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभामा प्रयोग गर्ने भए आफूहरूले भनेजस्तो मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो ।

आयोगले संविधान तथा संघीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । सोही आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग र व्यवस्थापन गर्ने सम्बन्धमा अध्ययन गर्न सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । समितिले तयार पारेको प्रतिवदेनउपर आवश्यक निर्णय गर्नका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो ।

प्रतिवेदनमा स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएको पनि उल्लेख गरिएको छ । ‘आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत् नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ – आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो ।

प्रतिवेदनमा विद्युतीय मतदान मेसिनको स्पेसिफिकेसन, मेसिनको गुणस्तर चेकजाँच, विश्वसनीयता परीक्षण गर्ने तथा मेसिनउपर सार्वजनिक रूपमा उठान हुन सक्ने जिज्ञासाहरूको समाधान, भविष्यमा बृहत्तर रूपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरूको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन व्यवस्थापनमा गर्ने जस्ता विषयहरू समावेश भएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा मेसिनको प्रयोग गरेको थियो । साथै ०७१ सालको संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलालीलगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा पनि मेसिनको सफलतापूर्वक प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्