नेवाः पहिचानका आयाम विषयक गोष्ठी शुक्रबार हुने



काठमाडौं । वल्ड नेवाः अर्गनाईजेशन, नेपा च्याप्टरको आयोजनामा नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी भोलि शुक्रबार राजधानीमा शुरु हुने भएको छ।

नेपाल भाषा र संस्कृतिसहित समसामयिक विषयमा जनमत बनाउने, विचार विमर्श शुरुआत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले विहीबार आयोजित पत्रकार भेटघाटमा बताए ।

सो गोष्ठीको पहिलो दिन डा.मिलन शाक्यले नेवाः पहिचानका विविध आयाम विषयमा प्रस्तुत गर्नेछन् । नेवाः शिक्षा र सञ्चार विषयको पहिलो सत्रमा प्रा.डा.चुन्दा बज्राचार्यले नेपालको शिक्षाप्रणालीमा नेपालभाषा, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपाल भाषाको पत्रकारिताले समात्नुपर्ने बाटो, र लिपि अध्येयता शरद कसाःले नेपाल लिपिको बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । पहिलो सत्रको अध्यक्षता प्राडा ओमकारेश्वर श्रेष्ठले गर्नेछन् ।

दोस्रो सत्रमा किरण के रञ्जितले विश्वमा नेवाः, प्रेमराज शिल्पकारले पहिचानको लागि भएको आन्दोलन र श्याम मानन्धरले नेपाल संवत् र शंखधर साख्वाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।दोस्रो सत्रको अध्यक्षतामा डा। विजयप्रकाश सैंजुले गर्नेछन् ।

शनिबार हुने तेस्रोसत्रमा जितेन्द्र बज्राचार्यले नेवाः संस्कृति गणेश, शोभा श्रेष्ठले हाकु पटासी र वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले नेवाः पहिचानको अतिक्रमण विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस सत्रको अध्यक्षता इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठले गर्नेछन् । चोथों सत्रमा राजनलाल जोशीको अध्यक्षतामा नेवाः अमूर्त संस्कृति अन्तर्गत पत्रकार रत्न मनले येँया पून्हि, विराजकाजी राजोपाध्यायले अण्डा सगुन र त्रिरत्न मानन्धरले दाफा बारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सोही दिन लोककवि राजभाई जकःमीले संकलन गरेको नेवाः पुर्खा विषयक सचित्र पुस्तकको लोकापर्ण गर्ने पनि पत्रकार भेटघाटमा बताइयो ।

गोष्ठीमा उठान भएको विषय र त्यस उप्रको टिप्पणी, बहस र प्रश्नोत्तरको आधारमा घोषणापत्र जारी गर्ने पनि नेपाल च्याप्टरका उपाध्यक्ष रमेशमान मुनिकारले बताए ।

प्रतिक्रिया दिनुहोस्