जनता पेल्दै वित्तीय संस्था तर सरकार मुकदर्शक



असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ ।

धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साउँब्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिनेलगायतका धम्की दिएको ऋणीहरु बताउँछन् । घरको गेटमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरुको भनाइ छ । कतिपयले घरमा गुण्डा पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वित्तीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वित्तीय संस्थाले कडाइ गरेको छ ।

कि कर्जा घटाउनु, कि त हामी लिलाम गरिदिन्छौं भनेर बैंक, फाइनान्सले कर्जा खानेलाई धम्काइरहेको छ । कि त आफ्नो कर्जा चुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरुले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथो बैंक र सहकारीको नाममा राखेर धितो लिएका छन् । हिजो धितो राखेर कर्जा दिने बेलामा वित्तीय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो । तर, कर्जा लिएको वर्षदिन नबित्दै ऋणीहरुलाई वित्तीय संस्थाले प्याकप्याकी बनाएको छ । बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरु यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन, अन्त लैजाऔं कुनै बैंकले कर्जा दिँदैन । नयाँ बैंकमा करोडको धितो ४० लाखमा राखेर कर्जा पास गरे पनि पुरानो बैंकले सार्न दिँदैन ।

पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिँदैन । उता कुरा मिलाएर आए पनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको माललाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पु¥याउने । वित्तीय संस्थाका कारण धेरै ऋणीहरु विस्थापित भइसकेका छन् । कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाँउघर नै छाडेर भाग्ने पनि उत्तिकै छन् । बैंकबाट हरेक जनता पीडित छन् । किनकि उनीहरुले खुलेआम ठगिरहेका छन् तर सरकार मुकदर्शक बनेर हेरिरहेको छ । दिँउसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन् ।

घरमा जहिले पनि झगडा हुनु त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएका घटना हाम्रो समाजमा छन् । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तर, तीन किस्ता नतिर्नेबित्तिकै धितो नै खाइदिँदा करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर लाइसेन्स दिएको हो ? बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो ? बीचमा बसेर पुलको भूमिका निर्वाह गरेजस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम ब्याज दिने तर त्यही पैसा महँगो ब्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घूस लिएर ।

वित्तीय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको संख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसँग बुझेका छन् । तर, कतिपय बैंक र सहकारीले अहिले पनि महँगो ब्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् । किनकि जनता आफैं पनि वित्तीय संस्थाको विरोधमा उत्रिएका छन् । हिजोको दिनमा विज्ञापन गरेर लुटे पनि आजको अवस्था त्यस्तो छैन ।

साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउँदै गएपछि सञ्चारमाध्यमहरु पनि धमाधम कलम चलाउँदै छन् । विज्ञापन आफ्नो ठाउँमा भए पनि जनताप्रति उनीहरु जिम्मेवार भएका छन्, जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सीधासाधा जनता लुटिनबाट बच्छन् ।बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरुको घरबास नै अब सडकमा हुन्छ । यता, वित्तीय संस्थाहरुको पनि भागाभाग हुन धेरै बेर लाग्दैन । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छ, न सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन । दैनिक दर्जनौं सहकारीहरु बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपियाँ पनि दिन सक्दैनन् ।

यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेको छ । बैंकका सीईओ, अध्यक्ष र चेयरम्यान भेट्न हम्मेहम्मे छ । उनीहरु आफ्नो कार्यकक्षमा हुँदैनन् । गार्ड र अन्य कर्मचारी भए पनि जिम्मेवार व्यक्ति भने गायब छन् । आफू कार्यालय नआए पनि बजार प्रतिनिधि खटाएर पैसा उठाउनचाहिँ छोडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन तर अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरुले मुर्गा बनाइरहेका छन् । बैंक र सहकारी यसरी धराशायी हुनुको मुख्य कारण विश्वसनीयता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत ब्याज दिन्छु भने पनि जनताले अनदेखा गरे । ब्याजको लोभमा परेर साहु नै डुब्ने डर जनतामा अझै पनि छ ।

जसले गर्दा बैंकसँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घूस आउँथ्यो र पो मोजमस्ती गरिरहेका थिए । अहिले वित्तीय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेका वित्तीय संस्था पनि छन् । कर्मचारीहरु पनि तलबविहीन बनेका छन् । यस्तो तरलता बढ्दा पनि वित्तीय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइँको पनि नपाऊन् भनेर उनीहरुले गोपनीयता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वित्तीय संस्थाको अहिलेको अवस्थाबारे अनभिज्ञ छ । किनकि उनीहरु अनुगमन गर्न जाँदैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाऊन् ?

जनताले थाहा पाउँछन् भनेर उनीहरु जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जति पनि व्यापार छैन वित्तीय संस्थामा । किरानामा फाट्टफुट्ट भए पनि सेवाग्राही त आउँछन् । बिहान आउने, अफिस खोल्ने, बेलुका बन्द गर्ने, हिँड्ने । कर्मचारीहरु नै कामविहीन बनिसकेका छन् । डिपोजिट राख्न कोही आउँदैन । कर्जा दिन पैसा छैन । वित्तीय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वित्तीय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफैं पनि चनाखो हुने बला भइसकेको छ । भुरादेखि बूढासम्मको खाता खोल्ने भनेर वित्तीय संस्थाले नयाँ–नयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेको छ ।

पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, शेयर र गाडीको खरिदबिक्री स्वाट्टै घट्यो । दलालहरुको पछि लागेर लगानी गर्दा सबै चुर्लुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्नेबित्तिकै वित्तीय संस्था धराशायी बन्यो । बैंक र सहकारीसँगै जनताको उठीबास हुने भो । सरकारले दलालीलाई नियन्त्रण गर्न नसक्दा सबै तहसनहस बन्यो । बैंक र सहकारीलाई अब सरकारले पनि बचाउन सक्दैन । कर्जा खाने व्यक्ति डुब्नेबित्तिकै बैंक, फाइनान्स पनि सिद्धिने निश्चित छ ।
– अस्मिता थापा ।

प्रतिक्रिया दिनुहोस्