पुराना गरुडपुराणका नयाँ प्रसङ्ग



कोरोनाको महिमामण्डित राजकीय सवारी अभियान पातलिएपछि हिजोआज हाम्रो मुलुकभित्रको समाचारका राजमा ऐतिहासिक महत्व कमाएका महान् हैजाका राजकीय सवारीको प्रसङ्ग चुलिएको छ । राजधानीका शहरहरुमा व्यापक पहुँचका साथ हैजाको राजकीय सवारी चलेकोे खबर छ । महान् हैजाका समाचारले सञ्चारका मुखपृष्ठदेखि पीँधपृष्ठसम्म रंगिएका देख्न-सुन्न पाइएका छन् ।

सबैलाई थाहा छ– फोहोर नै हैजाको अति उत्तम पूर्वाधार हो । त्यो त हाम्रो राजधानी शहरको विशिष्ट पहिचान हो र वर्षौँदेखि चालू रहिआएको राष्ट्रिय गौरवको योजना पनि हो । सरकारी दूरदृष्टिकै फलस्वरुप हैजालगायत विभिन्न महामारीका सर्वतोमुखी पूर्वाधार यहाँ यथेष्ट मात्रामा बनिबनाउ रहिआएको छ । अनुकूल पूर्वाधार पाएर अहिले यहाँ भव्यताका साथ सवारी चलाइआएका हैजाका नेता कार्यकर्ताहरु पनि पर्याप्त आदर–सम्मान पाएबापत हाम्रा राजनेताहरुसँग औधी खुशी भएका हुन सक्छन् ।

राजनेताहरु पनि आफ्ना अभियान सफल भएकोमा त्यत्तिकै खुशी रहेका हुन सक्छन् । यसैले यहाँ निवर्तमान मेयरहरु पनि वर्तमान मेयरसँग फोहोरलाई नै राजनीतिक मैदान बनाएर कुस्ती खेल्न आतुर देखिन्छन् । लाग्छ, राजनीतिमा यत्रतत्र सर्वत्र फोहोर छ, र त व्यापकता पाएका बलिष्ठ कीटाणुहरु सङ्क्रामकताका तहमा पार्टी राजनीतिसमेतमा क्रियाशील छन् र जीवन्त पनि छन् । औषधि निर्माता बहुराष्ट्रिय कम्पनीहरुसँग कारोबारको सौहार्द कायम राख्न र जनातामा बाँडिने भ्रमात्मक राजनीतिका खिचडीहरु पकाउनका लागि पनि सत्तासीन शीर्ष राजनेताहरुका निमित्त महामारीहरु अत्यावश्यक एवम् महत्वपूर्ण चटपटा मसलाहरु नै हुन् । यसैले वर्तमान नेपालका सत्तासीनहरुका आँखामा महामारी जुनसुकै होस् त्यो आपैmंमा महान् अवसर बनेको छ । अभिनन्दनीय बनेको छ । मुुलुकमा भस्मासुरको स्वागतसवारी चलाउन तँछाडमछाड शैलीमा मरिहत्ते गर्दै आएका हाम्रा आजका सत्तासीन तथा प्रतिपक्षी शीर्ष नेताहरुका लागि हैजा महोदयको राजकीय सवारी चलाउनु कुन आपत्तिको कुरा भयो र ? जब कि यसका छुट्टै उपादेयताहरु पनि छन् ।

वर्तमान परिप्रेक्ष्यमा किन पनि हैजा उपादेयी र महान् छ भने, यसै हैजाले त अहिले गठबन्धन सरकारका विभिन्न उद्घोषहरुका स्यालहुइँयाँले ठड्याउन नसकिएका जनताका कान ठाडा पार्न सकेको छ । दुई–चार महिना त यसैले पनि जाला कि नेताहरु जोखनाका मुडमा छन् । जहाँ प्रधानमन्त्री नै जोखनाप्रसूत छन् र बुढेसकालका -यालप्रवाहका बीच -याले नलगाएरै पनि पुनरपि पदासीन बन्न अग्रणी भूमिकामा बुरुकबुरुक देखिएका छन् । मानिसहरु भन्छन्, उहाँसँग शान सम्पन्नताका तमाम कुरा छन् । छैन भने एउटै कुरा छैन । त्यो भनेको लाज हो । उहाँसँग लाज त किञ्चित् पनि छैन । राजनीतिक जीवनमा लाज पनि चाहिन्छ भन्ने कुरा उहाँलाई उहाँको निर्लज्जता–धर्म–धुरीण ऐतिहासिक पार्टीले सिकाएन । ससुरालीले पनि सिकाएन । उताका धर्मगुरुको त निहित उद्देश्य नै यही थियो । सिकाउने कुरै थिएन । जे होस्, मित्र राष्ट्रका महान् जर्नेलहरुको सवारीपछि मुलुकमा महान् हैजाको पनि सवारी भएको छ ।

मुलुकमा हैजाको सवारी भएको छ र त हाम्रोे गौरवमय परम्परा कायम राख्नका लागि सवारीलाई राजकीय बनाउन उद्यत् हाम्रो गणलोकतान्त्रिक सरकार पनि कायमै छ । (गण अर्थात् राजनीतिक दल । लोक अर्थात् तिनै राजनीतिक दलका नेता कार्यकर्ता । तान्त्रिक भन्नाले तिनै राजनीतिक दलका नेता कार्यकार्ताका मनोमानी मुताबिक सञ्चालित गरिने राज्यव्यवस्था ।) हामीले व्यवहारमा मनग्गे बुझेर पनि नबुझेको वर्तमान राजीतिक व्यवस्थाको अर्थ यही हो । लाम लागेर भोट खसाली–खसाली गणलोकतान्त्रिक सरकार बनाइबस्ने उत्पीडनप्रिय जनता हौँ हामी । हाम्रो महानताको गाथा कथा बेग्लै छ । ‘सहू, सहू, सहू बाबु, सहनै नसके पनि ।’

हामीलाई हाम्रो परम्परागत सामन्तवादले दिएको सर्वोत्तम शिक्षा यही थियोे । यसैको पालन गरिआएका छौँ । हामीले हाम्रो दानापानीले हुर्केर हाम्रै तबेलामा बसेर विदेशीका गाडा तान्ने घोडाहरुलाई समेत पनि सलाम गर्दै सहिआएका छौँ । तबेलाबाट लखेटेका छैनौँ । यसैमा हामीलाई गौरव छ । महामारीहरुका राजकीय सवारीको तामझाम हेरेर सडकपेटीमा अडिग उभिनुमा पनि हामीलाई गौरव छ । यसै गौरवको संस्कृतिका प्रतापले हामी आजभन्दा सत्तरी वर्षअगाडि जस्ता थियाै आज पनि सरदर उस्तै छौँ । यसै महत्वपूर्ण उपलब्धिमा हामीलाई शतशः धन्यवाद पनि छ । धन्यवाद !
वि.सं. २०२५/०२६ तिर राष्ट्रिय स्तरका एक सिद्धहस्त कवि भन्नुहुन्थ्योे, ‘श्री ५ महेन्द्रबाट राजनीति पीडितका नाममा सर्लाहीको मूर्तियामा जग्गा बकस

पाएपछि बकस पाउनेहरु सवै जनताका भाषामा भन्नुपर्दा राजनीतिक प्रेत भएका छन् । राजनीति त उत्कृष्ट आदर्श थियो । निष्ठा थियो । सेवा थियो । समर्पण थियो । पीडा थिएन । राजनीतिप्रतिको निष्ठाकै कारण कतिले हाँसी–हाँसी ज्यान नै दिएका थिए । के तिनीहरुले पीडा ठानेर ज्यान बलिदान गरेका थिए त ? विगतमा राजनीतिमा लागेका मान्छेले पीडितका नाममा प्रेतमा रुपान्तरित भएर जग्गा बकस थाप्नु भनेको ती महान् शहीदहरुका त्यागमय आदर्शलाई अपमान गर्नु हो । आफै पतन हुनु हो । बूढापाकाहरु भन्थे, ‘प्रेत भनेको अतृप्त आत्मा हो । त्यसले मरेपछि पनि सेवा–सुविधा खोजिरहन्छ ।’ हो, त्यस्तै हुनु हो ।’

हाम्रो गाउँमा एकजना पण्डित हुनुहुन्थ्यो । उहाँ आफ्ना छोरालाई छोरा नभनेर ‘ढिकुराका पूजारी’ भन्नुहुन्थ्यो । उहाँले आफ्नो शेषपछि ढिकुराको पूजा चलाउन आयस्ताका लागि अलिकति जग्गा छुट्याई राख्नुभएको थियो । त्यसलाई गाउँलेहरुले ढिकुरेगुठी भनेका थिए । श्री ३ जंगबहादुरले आफ्नो श्राद्धका लागि कालमोचन गुठीकोे व्यवस्था गर्नुभएको थियो र तदनुसार उहाँको श्राद्ध चलिरहेको छ भन्ने सर्वविदित नै छ । आफू जिउँदो छँदै आफ्नो र आफ्ना निकटस्थहरुको किरियाको व्यवस्था गर्नु साहू सामन्तहरुको परम्परागत चलन नै हो । ठूला–ठूला राजा महाराजाहरु आफू सत्तामा छँदै आफ्ना लागि चिहान तयार गराउँथे । अहिलेका सत्तासीनहरु किसिम–किसिमका स्मृति प्रतिष्ठानहरु बनाउँछन् । व्यवहार हेर्दा अहिलेका राजनेताहरु पनि प्रकारान्तरले अहिले पनि पहिले जङ्गबहादुरले हिँडेकै बाटो हिँडिरहेका छन् ।

गुठीको चलन काठमाडौं उपत्यकामा पुरानो हो । यहाँ पूजागुठी, जात्रागुठीदेखि लिएर किरिया गुठीहरु पनि चलनचल्तीमा छन् । राजनीतिक व्यवस्थाहरु फेरिए पनि शासन प्रशासनका ठूला प्रेतहरुका लागि तिनीहरुको जीवनकालमै पनि विलास वैभवसहितको किरियाकाष्टा चलाउन नीतिगत निर्णयहरुबाटै विभिन्न नाममा गुठी राख्ने र पिण्ड–पानी तथा सेवा–सुविधा उपलब्ध गराउने चलन सरकारी स्तरमै पनि अद्यावधि कायम रहिआएकोे पाइन्छ । यस प्रथाबाट दुःखी, गरिब जनताको ढाड जतिसुकै सेकिए पनि शासनसत्ताका ठूलाबडाहरु भने निकृष्ट साबित प्रेतयोनिमै पनि सुखानन्दमा रहेका भेटिन्छन् । समयक्रममा सत्ताका यमदूतहरु फेरिँदै आएका छन् र पनि आम जनताका हकमा चाहिँ तिनीहरुको क्रूरता र तिनले दिने नरक यातना यथावत् कायमै छ । यो नेपाली गरुडपुराणको साबिक र चालू हिसाबकिताब हो ।

यसै सिलसिलामा अहिले सर्वोच्चको आदेशविपरीत सरकारले पूर्वविशिष्टहरुलाई पेन्सनका अतिरिक्त आवास, गाडी, इन्धन र सुरक्षाबल सुविधा थप्ने तयारी गरेको समाचार प्रकाशमा आएको छ । पूर्वविशिष्टहरुलाई सेवा–सुविधा दिँदा सुरक्षाकर्मीबाहेक नै प्रतिव्यक्ति एक करोड रुपियाँ सरकारी ढुकुटीबाट खर्च हुने समाचार पनि प्रकाशमा आएको छ ।

यो पनि उल्लिखित जङ्गबहादुर परम्परामा गाँसिएकै नयाँ कडी हो ।यथार्थमा यी सबै पुरानै गुठी व्यवस्थाको नयाँ र परिमार्जित रुपहरु हुन् । सत्तानिवृत्तलाई विलास वैभवको व्यवस्था मिलाइँदा आजका सत्तासीन ठूलाबडाको पनि भोलिको व्यवस्था स्वतः बन्छ । यो पनि विगतमा राजा–महाराजाहरुले आफू सत्तामा जल्दोबल्दो छँदै आफ्ना लागि विभिन्न विलासिताका साधनसहितको सम्भ्रान्त शैलीको चिहान खनाउनुु र सजाउनुजस्तै हो, जङ्गबहादुरले किरिया गुठी राख्नुजस्तै हो । यो टड्कारो यथार्थ हाम्रा पूर्वविशिष्ट प्रबुद्ध व्यक्तित्वहरुले अवश्य पनि बुझ्नुभएको छ । यसै कारण पनि गज्जब पाइयो भनेर उहाँहरुले जनताको रगत–पसिना चुपचाप ग्रहण गर्नुहोला भन्ने निक्र्यौल निकाल्न हामी सर्वसाधारण जनलाई धेरै गाह्रो छ । हैन र ?

प्रतिक्रिया दिनुहोस्