उपचार खर्च माग



काठमाडौं । 

सडक पेटीमा हिँडिरहेका चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेको विषयमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ । २०७९ आषाढ १२ गते आइतबार संघका आजीवन सदस्य डा. कुलबहादुर घिसिङ पैदल हिँडिरहेको अवस्थामा सातदोबाटो ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापाद्वारा कुटपिट गरी घाइते बनाइएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘सुरक्षाकर्मीको आचरण र मूल्य मान्यताविपरीत जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउँदा समेत हातपात गरी स्वास्थ्य सेवाप्रवाहमा समर्पित एक जना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना हो ।’

सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकमाथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ । सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेदजनक रहेको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यसैले यस्ता व्यक्तिलाई यथासक्य कानुनी कारबाही गरी निज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भाबी दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहो¥याउने परिस्थिति सिर्जना गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्