एसियन कप आयोजकलाई म्याद थप



लन्डन, (एजेन्सी)  ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी एसियन कप–२०२३ आयोजनाका लागि आयोजक राष्ट्रका लागि आह्वान गरेको बोलपत्रको म्याद थप गरेको छ ।

एएफसीले मंगलबार एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेशको म्याद थप गरेको जनाएको छ । एएफसीले जुलाई १५ सम्म दाबी पेश गर्न सकिने जनाएको हो । यसअघि जुन ३० सम्मको अन्तिम मिति तोकिएको थियो । चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाख् आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको हो ।

कोभिड–१९ को महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसिएसनले आयोजकबाट नाम फिर्ता लिएको थियो । यसअघि, एसियन कप आयोजनाका लागि दक्षिण कोरिया, भारत, थाइल्यान्ड र इन्डोनेसियाले पनि चासो देखाएको थियो । चीनले एसियन कप आयोजना नगर्ने निर्णय गरेको एक सातापछि नै दक्षिण कोरियाली राष्ट्रपतिले आफ्ना खेलमन्त्रीलाई आयोजनाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

दुई पटकका च्याम्पियन दक्षिण कोरियाले सन १९६० मा एकपटक मात्र एसियन कप आयोजना गर्दा घरेलु भूमिमा उपाधि जितेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्