पर्यटन प्रवर्द्धनमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ



काठमाडौँ।

पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले हिउँमा खेलिने साहसिक खेलहरुको प्रवद्र्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए ।
मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण खस्केकाले यसको उत्थानका लागि प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन् । नेपाल स्की संघले बुधबार मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनी नेपाल स्की संघका अध्यक्ष समेत हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढ्न सकेको खण्डमा कोभिड १९को कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न मद्दत पुग्ने बताएका छन् ।

२०५६ सालदेखि नेपालमा स्की खेलको शुरुआत भएको हो । हिउमा खेलिने भएकाले यस खेलको विकास र विस्तारका लागि मन्त्री श्रेष्ठको योगदान रहेको छ । उनकै पलहमा नेपालमा तीन पटक राष्ट्रिय स्की च्याम्पियनसिप आयोजना भैसकेको छ भने नेपालले वेन्टर ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै आएका छ ।

नेपाल स्की संघका उपाध्यक्ष राजा शाक्य, महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव बसन्त राज केसीलगायतले मन्त्री श्रेष्ठलाई बधाई दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले स्की खेलको विकासका लागि संघसँग छलफल गरेर अगाडि बढ्ने बताएको महासचिव श्रेष्ठले बताए ।

गत सोमबार पदबहाली गरेसँगै उनी सक्रिय भएका छन् । उनले मंगलबारदेखि नै आफ्नो मन्त्रालय मातहतमा रहेको विभाग, निकायहरुसँग छलफल गर्न थालेका छन् । उनले भनेका छन्, ‘हामीसँग धेरै समय छैन तर धेरै काम गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्